
बनबासीका मानिसहरूले आज पाउने भए पर्जा-पट्टा ....बनबासीको दिर्घकालिन समस्या समाधान भएको छ – बिनय तामाङ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 30 मई। कालेबुङमा सम्पन्न भएको प्रशासनिक वैठकलाई ऐतिहासिक घट्ना बताउँदै उक्त कार्यको निम्ति जीटीए अध्यक्ष बिनय तामाङले मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गरेका छन्। राज्यका शिर्षस्थ अधिकारीवर्गलाई लिएर कालेबुङमा प्रशासनिक वैठक हुनु ठूलो उपलब्धी रहेको बताउँदै उनले यसले एउटा राम्रो सुरुआत भएको दाबी गरे। यसक्रममा जीटीएको पदभार ग्रहण गरेपछि जीटीएले अहिलेसम्म गरेका कार्यहरूबारे 196 पृष्टको दस्तावेज सरकारलाई सुम्पिएको जानकारी दिएका छन्। यसक्रममा तामाङले बनबासीहरूका निम्ति दिर्घकालिन समस्या समाधानको पक्षमा महत्वपूर्ण कार्य भएको दाबी गर्दै भोलि 271 जना बनबासीहरूलाई पर्जा पट्टा वितरण गरिने जानकारी दिएका छन्।
‘धेरै दिनदेखि बनबासीहरूले आफ्नो जमीनको अधिकार लागु हुनपर्छ भन्ने माग गरिरहेका थिए। त्यो उनीहरूको सपना पनि हो। यसबारे हामीलाई हिमालयन फरेस्ट भिलेज अर्गनाइजेसनले ज्ञापन पनि सुम्पिएको थियो। जसको आधारमा जीटीएले यसबारे सरकारलाई बुझाउने कार्य गरेका थियौँ। त्यसैको फलस्वरूप भोलि राष्ट्रिय राजमार्ग 10 अन्तर्गत हनुमान मन्दिर नजिक 271 जना बनबासीहरूलाई पर्जापट्टा वितरण गर्नेछौँ’ जीटीए अध्यक्ष बिनय तामाङले भने। उनले उक्त पट्टा वितरण केवल सुरुआत मात्र रहेको बताउँदै पछिबाट दार्जीलिङमा 73 परिवारलाई वितरण गर्ने पनि जानकारी दिएका छन्।
‘हामी 168 जना बनबस्तीमा बस्ने मानिसहरूलाई बधाई दिँदछौँ। यो तपाईँहरूले यतिका वर्षसम्म गरेको संघर्षको फल हो। अहिले नपाएकाहरूले पनि झट्टै पट्टा पाउनेछन्। यस कार्यको निम्ति पनि मुख्यमन्त्री ममता ब्यानर्जीलाई हामी धन्यवाद दिँदछौँ’ बिनय तामाङले भने। उनले उक्त पर्जा पट्टा पश्चिम बङ्गाल सरकारको पक्षबाट मन्त्री अरूप विश्वास, जीटीएको पक्षबाट आफु स्वयम् अनि उपाध्यक्ष अनित थापा लगायत जिल्लापाल साथै अन्य अधिकारीवर्गको उपस्थितिमा वितरण गरिने पनि जानकारी दिएका छन्।
पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा बिनय तामाङले अहिलेघरी डीआई फण्ड क्षेत्रका मानिसहरूले भोग परिरहेका समस्याबारे पनि सरकार समक्ष आफुले मुद्दा उठाएको भन्दै उक्त समस्या प्रति पनि आफुहरू गम्भीर बनेर कार्य गरिरहेको जानकारी दिएका छन्। ‘डीआई फण्डको समस्या प्रति हामी गम्भीर छौँ। यस समस्याको समाधान गर्न हामी अग्रसर छौँ’ बिनय तामाङले भने। अर्कोतर्फ जीटीए अध्यक्ष बिनय तामाङले दार्जीलिङ, कालेबुङ अनि खर्साङ क्षेत्रका मानिसहरूलाई पिउने पानीको समस्या समाधानको निम्ति विश्व बैंकले 10 करोड दिएको अनि उक्त पैसा फिर्ता गर्न नपर्ने स्पष्ट पारेका छन्।
अहिलेघरी पहाडमा जीटीए चुनाव हुने चर्चा पनि दिन दिनै चलिरहेको छ। यसबारे तामाङलाई सोधेको प्रश्नमा आफुहरू पनि चुनाव होस् भन्ने चाहना राखेको बताउँदै यसको अन्तिम तय भने राज्य सरकार अनि जीटीए बसेर गर्ने स्पष्ट पारेका छन्।
‘राज्य सरकारले हामीलाई बोर्ड अफ् एडमिनिस्ट्रेसन बनाएर राखेका छन् जसको मियाद पुरा भएको छैन। मियाद पुरा भएपछि चुनावमा कतिबेला जानुपर्छ भन्ने राज्य अनि हामीमाझको कुरा हो’ तामाङले अझ भने -‘हामी पनि चाहन्छौँ चुनाव भएको राम्रो हो। एउटा गणतान्त्रिक पद्धतिमा हामी चुनिएर आउन सकोस्। तर अहिले दार्जीलिङ पहाडमा शान्ति भएपनि अर्थात् आगो निभे पनि खरानी भित्र भुङ्ग्रो अझै छ। त्यसैले जबसम्म भुङ्ग्रो निभ्दैन तबसम्म चुनाव सम्भव हुँदैन।’ यद्यपी उनले जीटीएको चुनाव निश्चित रूपले हुने तर कहिले हुनेछ भन्ने निश्चित भन्न नसक्ने बताए।
‘म पनि चुनाव होस् अनि चुनावकै माध्यमबाट नै त्यस ठाउँमा बसोस् भन्ने हामी चाहन्छौँ। यो जनताको पनि चाहना हो। चाहे म बसौँ, हाम्रो पार्टी बसोस् अथवा अन्य कोहि बसोस् तर चुनावकै माध्यमबाट बसोस् भन्ने चाहन्छौँ। तर अहिलेघरी सबै परिस्थिति साम्य भएको छैन। सबै परिस्थिति साम्य भएपछि चुनाव हुनेछ। सायद 2019 मा चुनाव तपाईँहरूका निम्ति एउटा गिफ्ट नै हुनेछ’ बिनय तामाङले चुनावबारे सोधेको प्रश्नको जवाब दिँदै भने।
0 Response to "बनबासीका मानिसहरूले आज पाउने भए पर्जा-पट्टा ....बनबासीको दिर्घकालिन समस्या समाधान भएको छ – बिनय तामाङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.