-->
गोर्खाल्याण्ड आन्दोलनलाई साथ दिँदै जाप पार्टीको झण्डा त्यागेर सडकमा ओर्लिने  .....जनता गोलि लागेर मृत्यु हुँदा समेत सांसद नहुनु जनताको अपमान हो – डा. छेत्री

गोर्खाल्याण्ड आन्दोलनलाई साथ दिँदै जाप पार्टीको झण्डा त्यागेर सडकमा ओर्लिने .....जनता गोलि लागेर मृत्यु हुँदा समेत सांसद नहुनु जनताको अपमान हो – डा. छेत्री

डी.के.वाइबा,कालिमन्युज,कालेबुङ,  18 जुन 2017।  ‘गोर्खाल्याण्डको आन्दोलन अब जनताको आन्दोलन भयो। हजारौँ जनता गोर्खाल्याण्डको माग गर्दै सडकमा ओर्लिएपछि यो आन्दोलन अब कुनै पनि राजनैतिक दल र नेताको नभएर जनताको आन्दोलन हो भन्ने स्पष्ट बनेको छ। जनताको यस आन्दोलनलाई साथ दिँदै अनि गोर्खाल्याण्डको मागलाई लक्ष्यसम्म पुर्‍याउँनका निम्ति जन आन्दोलन पार्टी अब पार्टीको झण्डा कार्यालयमा थन्काएर जनतानै भएर भोलिदेखि सडकमा ओर्लिनेछ’- उक्त घोषणा आज जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले गरेका हुन्। उनले जाप पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वर्तमान पहाडको स्थितिमा जुन प्रकारले जनता गोर्खाल्याण्डको माग गर्दै सडकमा ओर्लिएका छन् त्यसलाई टुङ्गोमा पुर्‍याएर संवैधानिक माग हासिल गर्ने कार्य गर्नुपर्ने आह्वान पनि गरेका छन्।
‘छुट्टै राज्य गोर्खाल्याण्डको माग संवैधानिक हो अनि यसलाई दबाउँनका निम्ति सरकारले हरसम्भव कोसिस गरिरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले जसरी गोर्खाल्याण्डको आन्दोलनमा उत्तरपूर्वी जङ्गी सङ्गठनको हात हुनको साथै बाहिर देशको समेत हात छ भन्ने वयान दिइन् त्यसले गोर्खाल्याण्ड आन्दोलन माग्नेहरूलाई राष्ट्रविरोधी बनाउन खोजेको प्रष्ट बनेको छ। यतिबेला आन्दोलनकारीहरूले संयम बनाएर राख्नुपर्छ’ डा. छेत्रीले भने। उनले मुख्यमन्त्री मनता ब्यानर्जीले गोर्खाल्याण्ड आन्दोलनलाई राष्ट्रविरोधी बनाउन खोजेको आरोप लगाउँदै उक्त वयानको खण्डन पनि गरेका छन्। ‘हामीले आफ्नो लक्ष्यलाई हासिल गर्नका निम्ति लामो आन्दोलन लड्नपर्छ। जनताले लामो लडाईँमा आफ्नो उर्जालाई बचाएर राख्न आवश्यक छ’ उनले अझ भने।
डा. छेत्रीले वर्तमान पहाडको वातावरण तनावपूर्ण बनेको अवस्थामा आफ्ना समष्टिमा सांसद नहुनुमा दुख पनि प्रकट गरेका छन्। ‘यतिखेर पहाडका जनताले दुख पाएका छन्। पहाडका जनतालाई गोलि लागेर मृत्यु भएको छ। जनता पुलिसको गोलि लागेर मृत्यु हुँदा समेत जनप्रतिनिधी सांसद आफ्ना समष्टि उपस्थित नभएर दिल्लीमा मौन बस्नु सम्पूर्ण जनताको अपमान हो’ डा. छेत्रीले भने। यसबारे जापले सांसद एस.एस आहलुवालीयालाई झट्टै पहाडको समस्या समाधान गर्नका निम्ति आउनुपर्ने माग गर्दै पत्र लेखेको पनि सार्वजनिक गरेका छन्।

डा. छेत्रीले केहिदिन अघि मात्रै छुट्टै राज्य गोर्खाल्याण्डबारे भाजपाले स्पष्ट अडान राख्नुपर्ने माग गर्दै राष्ट्रिय अध्यक्ष अमित शाहलाई पत्राचार गरेपछि शनिबार अमित शाहले गोर्खाल्याण्डबारे हामीले अडान स्पष्ट नगरेको पत्रकारहरूलाई बताएको दाबी पनि गरेका छन्। ‘भाजपाले गोर्खाल्याण्ड बारे कुनै अडान लिएको छैन’ भनेर अमित शाहले भनेपछि अब भाजपाबाट जनताले के अपेक्षा राख्नु? डा. छेत्रीले प्रश्न गरे। ‘भाजपाले सिम्पेथेटिक एक्जामिन गर्छु भनेको हो। अब हामिलाई सिम्पेथी चाहिन्दैन। संवैधानिक अधिकार गोर्खाल्याण्ड गठन गरेर भाजपाले गोर्खाहरूलाई न्याय दिनुपर्छ’ डा. छेत्रीले माग गरे। यसक्रममा उनले छुट्टै राज्य गठनको मागमा गृहमन्त्री राजनाथ सिंह अनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पत्राचार गर्ने बताएका छन्। ‘हामी चाँडै प्रधानमन्त्री अनि गृहमन्त्रीलाई गोर्खाल्याण्ड गठनको मागमा पत्राचार गर्नेछौँ। यसका साथै एउटा प्रतिनिधी टोलि गएर उनीहरूलाई समय मागी भेट गरेर गोर्खाल्याण्ड गठनको मागमा कुराकानी गर्नेछौँ’ डा. छेत्रीले अझ भने। 

0 Response to "गोर्खाल्याण्ड आन्दोलनलाई साथ दिँदै जाप पार्टीको झण्डा त्यागेर सडकमा ओर्लिने .....जनता गोलि लागेर मृत्यु हुँदा समेत सांसद नहुनु जनताको अपमान हो – डा. छेत्री "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.