-->
किराँती खम्बु राईले पालन गर्‍यो 5074 औँ यलेदोङ पर्व

किराँती खम्बु राईले पालन गर्‍यो 5074 औँ यलेदोङ पर्व

 डी के वाइबा, कालिमन्युज, कालेबुङ 16 जनवरी 2014। किराँती खम्बु राई सांस्कृतिक संस्थान कालेबुङको आयोजनामा आज यहाँको मेला ग्राउण्डमा किराँतहरुको 5074 औँ नयाँ वर्ष यलेदोङ पर्व पालन गरियो। संगठनका केन्द्रिय अध्यक्ष अरुण प्रकाश राईको बिशेष उपस्थितिमा आयोजित कार्यक्रमलाई अरुण तामकुले राईले अध्यक्षता गरेका थिए। 
यस अवसरमा दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक, सिलगडी आदि स्थानहरुबाट् हजारौँ संख्यामा किराँती खम्बु राईहरु भेला भएका थिए। किराँती राईहरुलाई भारत सरकारले जनजातिको मान्यता दिनुपर्ने माग संगै पालन गरिएको उक्त यलेदोङ पर्वमा किराँत माङ्पा (पुरोहित)हरुले धार्मिक विधि अनुसार पुजा अर्चना गरेका थिए। 
यस क्रममा किराँती माङपाहरुले पुजा अर्चना गरेपछि यहाँको मेला ग्राउण्डबाट किराँती खम्बुहरुलाई सरकारले जनजातिको मान्यता दिनुपर्ने माग गर्दै शहरमा जुलुस निकालेको थियो। बिभिन्न प्लाकार्डहरु बोकेर निकालिएको उक्त र्‍यालिको अगुवाई पनि किराँती माङपाहरुले नै गरेका थिए भने यस अवसरमा किराँती खम्बुहरुलाई जनजातिको मान्यता दिनुपर्ने माग गर्दै जोडदार नाराबाजी पनि लगाईयो। उक्त जुलुसले यहाँको त्रिकोण पार्क, मेन रोड, डम्बर चौक, दशमाईल फाटक भएर शहर परिक्रमा गरेपछि पुन: मेला ग्राउण्डमा आएर समापन भएको थियो। 
यस अवसरमा मेला ग्राउण्डमा आयोजित कार्यक्रममा वक्ताहरुले किराँती खम्बुहरु जनजाति रहेको बताउँदै सरकारले न्याय दिनुपर्ने माग गरे। किराँती खम्बुहरुको आफ्नो भाषा साहित्य र संस्कृति रहेको सरकारले बुझ्नपर्ने बताउँदै कार्यक्रममा किराँती सांस्कृतिक सिल्ली नृत्य बिभिन्न स्थानबाट आएका किराँती मानिसहरुले गरेका थिए। यसक्रममा किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्रिय समिति अध्यक्ष अरुण प्रकाश राईले सम्बोधन गर्दै 5074 वर्ष देखि किराँतहरुले आफ्नो भाषा साहित्य संस्कृतिलाई बँचाएर राखेको बताउँदै किराँतीहरु जनजाति रहेको दाबी गरे। 
यता कार्यक्रममा किराँती खम्बुहरुलाई जनजातिको मान्यता दिनुपर्ने माग गर्दै ‘खम्बु राई राईट्स मुभमेन्ट’ले जनजातिको आन्दोलनलाई अघि बडाउँदै आगामी 18 जनवरीको दिनदेखी कालेबुङको त्रिकोण पार्कमा रिले अन्शन सुरु गर्ने घोषणा गर्‍यो। अर्कोतिर किराँती खम्बु राईहरुलाई सरकारले जनजातिको मान्यता दिनुपर्ने माग गर्दै कालेबुङ महकुमाका अतिरिक्त् अधिकारी प्रितम लिम्बुलाई एक ज्ञापन पत्र चडाएको छ। उक्त ज्ञापन पत्रमा भारत सरकारले किराँती खम्बुहरुलाई भारतीय संविधान अनुरुप जनजातिको मान्यता यथाशिघ्र दिनुपर्ने माग गरिएको छ।

0 Response to "किराँती खम्बु राईले पालन गर्‍यो 5074 औँ यलेदोङ पर्व"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.