
जनताले ज्यान दिँदा नेताले कुर्सी नै छोड्दैनन् – डा. हर्कबहादुर छेत्री
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 27 जुलाई। ‘छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति जनता जहिले पनि सय प्रतिशत तयार भए तर नेता भने तयार भएनन्। जनताले आफ्नो ज्यान दिन समेत तयार भए तर नेता भने कुर्सी छोड्न तयार भएनन्’ उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्। उनले कालेबुङको थाना डाँडा स्थित त्रिकोण पार्कमा शहिद दिवस समारोहलाई सम्बोधन गर्दै शहीदको साँचो श्रद्धाञ्जली छुट्टै राज्य गठनले मात्र हुने पनि बताए।
‘शहिदको साँचो श्रद्धाञ्जली छुट्टै राज्य गठनले मात्र हुनेछ, हामी भन्छौँ छुट्टै राज्य गोर्खाल्याण्ड निश्चय नै गठन हुनेछ। आजसम्म छुट्टै राज्य गठन नहुनु जनताको कमजोडीले होइन तर, बोल्न सक्ने ठाउँमा सही नेता नपठाएको कारणले हो। हामीले बोल्ने ठाउँमा कहिल्यै राम्रो तर्क राख्ने नेता पठाउन सकेनौँ। यसकारण अब जनताले सही ठाउँमा आफ्नो कुरा ठिकसँगले राख्ने नेता पठाउनुपर्छ’ डा. हर्कबहादुर छेत्रीले भने। उनले गोर्खाल्याण्डको नाउँमा भोट जितेर जाने नेताहरूले पनि धोका दिने कार्य मात्र गरेको भन्दै भारतीय जनता पार्टी प्रति कटाक्ष गर्दै भने ‘हामीलाई सबैभन्दा ठूलो धोका दिएको छ भने त्यो भारतीय जनता पार्टीले दिएको छ।’
डा. छेत्रीले आफ्नो सम्बोधनको क्रममा सन् 1986 को 27 जुलाई दिन कालेबुङमा घटेको घट्नाको सम्झना गर्दै त्यसबेला पनि जनताले गोर्खाल्याण्डको निम्ति आफैलाई समर्पित गरे पनि नेताले भने आन्दोलनलाई सही दिशा निर्देस नदिएको बताए। उनले 27 जुलाईका दिन कालेबुङमा 14 जना सीआरपीको गोलि लागेर शहिद बनेको स्मरण गर्दै उक्त घट्ना हुनुको पछि कतै सुनियोजित षडयन्त्र त थिएन? भन्ने शंका पनि गरे।
उनले छुट्टै राज्य गोर्खाल्याण्ड सय प्रतिशत हुने दाबी गर्दै भने – ‘गोर्खाल्याण्ड हुन्छै हुन्छ तर, औकात भएको मान्छेले माग्नुपर्छ। सानो सानो लोभमा चिप्लिने मान्छेले गोर्खाल्याण्ड मागेर हुँदैन।’ उनले विगतमा 27 जुलाईका दिनको घट्नाले अहिलेकाहरूले ठूलो पाठ पाउन सकेको भन्दै ‘नेताहरूको अपरिपक्वताको कारणले आन्दोलन बिग्रेको’ भन्दै यो अपरिपक्वताको क्रम सन् 1986 अनि सन् 2007 मा दोहोरिएको बताए। उनले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आफुहरूले छुट्टै राज्य गोर्खाल्याण्ड दिने ठाउँ दिल्ली हो भन्ने थाह पाएर नै दिल्लीमुखी कार्यक्रम गरेको भन्दै राज्य दिने क्षमता नभएको राज्यसरकारसँग झगडा गरेर जनताको शक्ति सक्ने कार्य मात्र हुने पनि बताए।
पश्चिम बङ्गाल सरकार सरकारले विधानसभामा राज्यको नाउँ परिवर्तन गरेर ‘बाङ्ग्ला’ राख्ने प्रस्ताव पारित गरेकोलाई स्वागत गर्दै भने –‘बङ्ग प्रदेश बनाऊ कि बाङ्ग्ला बनाऊ हामी स्वागत गर्छौँ। तर, बङ्गालकी मुख्यमन्त्रीलाई हामी भन्छौँ - जसरी तिमीलाई तिम्रो बङ्गला संस्कार, संस्कृति र भाषा साहित्य प्यारो छ त्यसरी नै हामीलाई हाम्रो गोर्खा भाषा, साहित्य र संस्कृति प्यारो छ। यसैकारण हामीलाई हाम्रो अधिकार देऊ। हाम्रो भाषा, साहित्य, संस्कार र संस्कृतिको जगेरा तिमीले गरेर हुँदैन’ डा. हर्कबहादुर छेत्रीले स्पष्ट भने। उनले गणतान्त्रिक अधिकारको उपभोग गर्नका निम्ति जनताले बोल्न पाउनुपर्ने भन्दै आज गणतान्त्रिक अधिकारको कुरा गर्दा कानुन लागाउने कार्य दुर्भाग्यजनक रहेको पनि बताए। ‘यदि गणतान्त्रिक अधिकारको कुरा गर्न पाइन्दैन भने हामीले हाम्रो ओँठ सिलाएर हिँड्नुपर्ने हुन्छ’ डा. छेत्रीले भने। यसक्रममा डा छेत्रीले राज्य सरकारले गणतान्त्रिक अधिकारको कुरा गरेर केन्द्रलाई औँली उठाउनुभन्दा अघि आफ्ना राज्यवासीलाई पनि गणतान्त्रिक अधिकारको उपभोग गर्ने अधिकार दिएर उदाहरण देखाएको हुनपर्ने पनि सुझाव दिए।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा डा. छेत्रीले छुट्टै राज्यको पक्षमा जापले दिल्लीमा विभिन्न राजनैतिक दलका सांसदहरूलाई भेटेर कुराकानी गरेको बताउँदै उनीहरूले जनताको प्रतिनिधी बनेर आऊ भनेको भन्दै आजसम्म जनप्रतिनिधी भने गलत मान्छेलाई पठाएको कारण पनि गोर्खाल्याण्ड गठन हुन नसकेको दाबी गरे। ‘बोल्न नसक्ने मान्छेहरूको कमीले हामी अहिलेसम्म हारेकाछौँ। पहाडनै एकपट्टी किन नलागोस् तर बोल्ने ठाउँमा भिजेको मुसा जस्तो मान्छे पठाएको कारण हामी हारेका छौँ’ डा. हर्कबहादुर छेत्रीले भने।
‘यदि गोर्खाल्याण्डको मागलाई बाटोमा कतै नचिप्ली कसैले राख्न सक्छ भने त्यो जन आन्दोलन पार्टीले मात्र राख्न सक्छ’ डा. हर्कबहादुर छेत्रीले अझ भने –‘हामीलाई पनि बाटोमा घ्यू लगाउने कार्य भएको हो। तर हामीले यो चिप्लो जनताको निम्ति हानिकारक हो भन्ने बुझेर नै कहीँ कतै सम्झौता नगरेका हौँ। हामीले केवल गोर्खाल्याण्डको मुद्दा लिएका छौँ अनि यसको निम्ति हामी काम गरिरहेका छौँ।’
उनले आफ्नो सम्बोधनको क्रममा भाजपाले पनि पहाडका जनतालाई धोका दिएको आरोप लगाउँदै आगामी 2019 मा पुन: 11 जात गोष्टीलाई जनजातिको मान्यता दिने मुद्दा बोकेर भोट माग्न आउन सक्ने सम्भावना रहेको बताउँदै जनतालाई होशियारी गराए।
आगमी दिनमा जन आन्दोलन पार्टीले आउने सम्पूर्ण चुनावहरूमा भाग लिने घोषणा समेत गरे। मानिसहरूले जापको के कार्यक्रम छ भनेर सोध्ने गरेको भन्दै जाप गोर्खाल्याण्डको निम्ति जहाँ बोल्नुपर्छ त्यहाँ बोल्ने अनि जहाँ कागतपत्र चलाउनुपर्छ त्यहाँ चलाउने भन्दै अब आउने चुनावहरूमा जापले भाग लिने स्पष्ट घोषणा डा. छेत्रीले गरेका छन्।
0 Response to "जनताले ज्यान दिँदा नेताले कुर्सी नै छोड्दैनन् – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.