-->
कालेबुङ नगरपालिकामा बिनय गुटले अविश्वास प्रस्ताव ल्याउने  नगरपालिकामा हाम्रो बोर्ड बनिनेछ – अनित थापा

कालेबुङ नगरपालिकामा बिनय गुटले अविश्वास प्रस्ताव ल्याउने नगरपालिकामा हाम्रो बोर्ड बनिनेछ – अनित थापा

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 2 दिसम्बर। कालेबुङ नगरपालिकाको सत्ता कब्जा गर्न आतुर बनेको गोजमुमो बिनय-अनित गुटले आगामी 4 दिसम्बरका दिन अविश्वास प्रस्तावको औपचारिक पत्र नगराध्यक्ष सुभ प्रधानलाई दिने भएको छ। बिनय गुटका नगरपार्षद रवी प्रधानले आज डेलोमा एक पत्रकार सम्मेलन आयोजना उक्त घोषणा गरेका हुन्। ‘हामीसँग 14 जना निर्वाचित नगरपार्षदहरूको समर्थन रहेको छ। नगराध्यक्षको विरुद्ध अविश्वास प्रस्ताव ल्याउन आगामी सोम्बार 14 जना नगरपार्षदहरूद्वारा हस्ताक्षरित पत्र पेश गर्नेछौँ’ नगरपार्षद रवी प्रधानले भने। उनले कालेबुङ नगरपालिकाको 6 महिनाको कार्यकालमा नगर अध्यक्ष शुभ प्रधानले नगरविकासको कुनै पनि कार्य गर्न नसकेको आरोप लगाउँदै आफुहरूलाई जनताले नगर विकासको निम्ति चुनेर पठाएको कारण जनताको हितमा काम गर्नलाई नगराध्यक्ष विरुद्ध अविश्वास प्रस्ताव ल्याउन बाध्य भएको स्पष्ट पारेका छन्।

‘कालेबुङ नगरपालिकामा विकासको निम्ति कोलकोतामा मन्त्रीहरूसँग भेटेर वैठक गर्दा हामीले मन्त्रीमण्डलबाट सकारात्मक आश्वासन पाएका छौँ। त्यसैको आधारमा हामीले बिनय तामाङ अनि अनित थापाको साथमा कालेबुङ नगरपालिकाको सर्वाङ्गिन विकास गर्न अघि आएका छौँ। जसको निम्ति हामीले वर्तमान नगराध्यक्ष शुभ प्रधान विरुद्ध अविश्वास प्रस्ताव ल्याएर नयाँ बोर्ड गठन गर्ने भएका हौँ’ रवी प्रधानले भने। ‘हामीले 14 जना निर्वाचित नगर पार्षदहरूको समर्थन पाइसकेका छौँ। यसकारण नयाँ बोर्ड बनिसकेको हामी दाबी गर्छौँ’ प्रधानले अझ भने।

‘कालेबुङ नगरपालिकाको सम्पूर्ण निर्वाचित नगरपार्षदहरूलाई लिएर अघिबाटै वैठक गर्दा सबैले समर्थन गरेका थिए। त्यहीँ समर्थनको आधारमा मैले जनसभाबाट घोषणा समेत गरेको थिएँ। तर मलाई उनीहरूले धोका दिए। त्यसैकारण मैले आफ्नो नयाँ लाइन कोरेर नयाँ वोर्ड बनाउने पहल गरेको हुँ’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अनित थापाले भने। ‘कालेबुङ नगरपालिकाको अध्यक्षले हाम्रो पक्षमा कार्य गर्न चाहेनन्। हाम्रो सोंचलाई उनीहरूले विश्वास गरेनन्। प्रस्ताव दिएका थियौँ तर उनीहरूले स्वीकार गरेनन्’ थापाले अझ भने। यसक्रममा उनले कालेबुङ नगरपालिकाको वर्तमान बोर्डलाई पल्टाउन नचाहे पनि आखिरमा परिवर्तन गर्न बाध्य भएको दाबी गरेका छन्। 

‘यो बोर्ड पल्टाउनुमा मैले ठुलो भुमिका निभाएको छु। यदि भविष्यमा यो बोर्ड पल्टेर यसले सही काम गर्न सकेन भने यसमा म फेल भएको प्रमाणित हुनेछु। यसकारण यो बोर्ड पल्टिएपछि यसले निस्पक्षरूपे कार्य गर्नेछ’ थापाले अझ भने। उनले नगरपालिकामा नयाँ बोर्ड निर्माण भएपछि पूर्णरूपले विकासका कार्यहरू गर्ने दाबी गर्दै कसैलाई पक्षपात नगर्ने प्रतिबद्धता समेत गरेका छन्। ‘हामी यो बोर्ड निश्चित पल्टाउनेछौँ। मोठ 14 जना नगरपार्षदहरू हाम्रा पक्षमा आएका छन्। यसकारण अब कालेबुङ नगरपालिका हाम्रो बोर्ड निश्चित बनिनेछ’ थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै अझ भने।

अर्कोतर्फ यता आज कालेबुङ नगरपालिका अध्यक्ष शुभ प्रधान अनि अन्य 5 जना नगरपार्षदहरूले गोजमुमो पार्टीको सम्पूर्ण पद अनि साधारण सदस्यताबाट नै राजीनामा दिएका छन्। उनीहरूले पार्टीबाट राजीनामा दिएपछि अब निर्दलिय नगरपार्षद भएर बस्ने भएका छन् भने बिनय गुटका नगरपार्षदहरूले अविश्वास प्रस्ताव ल्याए आफु नगराध्यक्षको पदको गोप्य मतदानमा भाग लिने स्पष्ट पारेका छन्। ‘मेरो विरुद्ध अविश्वास प्रस्ताव ल्याए म निश्चित चुनाव लड्नेछु। उक्त अविश्वास प्रस्ताव पछि हुने नगराध्यक्षको चुनावमा जित हाम्रै हुनेछ’ शुभ प्रधानले भने।  

Related Posts

0 Response to "कालेबुङ नगरपालिकामा बिनय गुटले अविश्वास प्रस्ताव ल्याउने नगरपालिकामा हाम्रो बोर्ड बनिनेछ – अनित थापा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.