
विधायकसँगै शिर्षस्थ नेतृत्वले दिए गोजमुमो पार्टीबाट राजीनामा .... बिमल-बिनय कुनै गुटको पक्षमा बस्दैनौँ – डा. आर.बी भुजेल

‘अहिलेघरी गोजमुमो पार्टीभित्र गुटबन्दी र दलबन्दीको समस्या देखा पर्यो। यो स्थिति भित्र गोर्खाल्याण्डको आन्दोलन दिग्भ्रमित भएर भङ्गालिएको देखेका छौँ। जब कि गोर्खाल्याण्डको आन्दोलन अहिले राष्ट्रिय स्तरको आन्दोलन भइरहेको छ भने यता ग्राउण्ड जिरोमा भने दिशाहिनताको जन्म सिर्जना भएको छ। यो दिशाहिनताको मौन समर्थक भएर हेर्न पर्ने स्थितिमा गोजमुमो कालेबुङ च्याप्टर खुशी छैन। यो अन्यौलताभित्र गोजमुमोका सबै साथीहरूले के गर्नुपर्ने भन्ने प्रश्न गरिरहेका छन्। हामीले यस अन्योलतामा हामीभन्दा माथिका नेतृत्वको निर्देशन पर्खने पर्ने स्थिति छ। हामीले जनतालाई सही मार्ग दर्शन गर्न सकिरहेका छैनौँ। यसकारण गोजमुमोको एउटा अङ्ग भएको कारण हाम्रा समर्थकहरूलाई सही बाटो देखाउँन नसकेको स्थितिमा जनतामाझ रहेको अन्योलता सिर्जना हुनुमा हाम्रो पनि जिम्मेवार रहेको ठान्दै गोर्खाल्याण्डको राष्ट्रव्यापि आन्दोलन अझ शसक्त बनेर जाओस् भनि हामी गोजमुमो कालेबुङ अध्यायका सम्पूर्ण पदअधिकारीवर्ग पार्टीको सम्पूर्ण पद अनि साधारण सदस्यबाट सामुहिक राजीनामा दिँदछौँ’ पत्रकार सम्मेलन गर्दै डा. आर. बी भुजेलले राजीनामाको घोषणा गरे।
यसक्रममा उनले 105 दिनको बन्दमा कालेबुङका जनताले जसरी सहयोग गरेका थिए उनीहरूलाई आफुहरूले पदत्याग गरेपछि मौन बस्छ भन्ने नसोंचिदिने आग्रह गर्दै भविष्यमा जब पनि आवश्यक पर्छ त्यसबेला आफुहरू एकबद्ध भएर अघि निस्कने प्रतिबद्धता पनि डा. भुजेलले जाहेर गरेका छन्। यसक्रममा उनले अबोप्रान्त आफुहरू बिमल गुरुङ गुट र बिनय पन्थि गुटमा विभाजन भएर नबस्ने भन्दै ‘हामी कसैको समर्थनमा बस्दैनौँ’ समेत भनेका छन्।
यता पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गोजमुमो केन्द्रिय समितिका उपाध्यक्ष कल्याण देवानले यसपल्टको गोर्खाल्याण्डको आन्दोलनमा नेतृत्ववर्गको सोंचमा आन्दोलनको रूपरेखा तयार बनिनसकेको कारणले कुनै उपलब्धि पाउन नसकेको बताउँदै पार्टीभित्रका नेताहरूको विभाजन घातक भएको बताए। ‘आन्दोलन चलिरहेको समयमा एकातिर पार्टीभित्रकै साथीहरू पुन: जीटीएको सत्ताप्रति हाबी हुन थाले भने अर्कोतर्फ आन्दोलन अगणतान्त्रिक बन्दै गयो। हामी कालेबुङका गोजमुमो साथीहरूले अगणतान्त्रिक आन्दोलनलाई कहिल्यै स्थान दिएनौँ अनि दिँदैनौ पनि। यस्तो अवस्थामा पार्टीका अध्यक्षमाथि गम्भीर आरोपहरू लाग्नथाले भने गम्भीर आरोप कुनै समय अध्यक्षकै नजिक भएका साथीहरूले लगाउन थालेका थिए। अध्यक्षका नजिकका व्यक्तिहरूले गम्भीर आरोप लगाएपछि उनी क्लिन छ भन्न सक्दैनौँ। यस्ता घट्नाहरू सम्पूर्ण जनता अनि नेतृत्ववर्ग समेत अन्योलमा परेका छन्’ कल्याण देवानले भने। यस्तो अवस्थामा आफुहरू अन्योलतामा बस्नको साटो अथवा जीटीएको चौकिमा फर्कनको साटो सम्पूर्ण रूपले पार्टीको पद अनि साधारण सदस्यताबाट राजीनामा दिने निर्णय लिएको देवानले स्पष्ट पारेका छन्।
अर्कोतर्फ पार्टीबाट राजीनाम दिने निर्णय सामुहिक रहेको कुरालाई बिधायक श्रीमती सरिता राईले पनि बताएकी छन्। ‘गोजमुमो पार्टीको टिकटमा चुनाव जिते पनि अब उसो म गोजमुमो पार्टीको विधायक रहनेछुइन। पार्टीबाट राजीनामा दिएपछि स्वतन्त्र विधायक हुनेछु। यदि भविष्यमा विधायकको टिकट दिने पार्टी अध्यक्ष विमल गुरुङले विधायक पदबाट राजीनामा दिने आदेश दिए त्यसबेला मेरा सम्पूर्ण साथीहरूसँग बसेर निर्णय लिनेछु’ एक प्रश्नको उत्तर दिँदै विधायक राईले भनिन्।
स्मरण रहोस्, गोर्खा जनमुक्ति मोर्चा बिमल गुरुङ गुट अनि बिनय तामङ गुटमा विभाजन भएपछि कालेबुङ जिल्ला समितिले बिनय गुटलाई आजसम्म समर्थन गरेको थिएन। बिनय तामङ गुटले कालेबुङ जिल्ला समितिबाट समर्थन नपाएपछि केहि सप्ताह अघि उक्त जिल्ला कमिटि बिघटन गरेर कार्यकारी कमिटि समेत गठन गरेको छ। जुन कार्यकारी समितिमा पुराना अनुहारहरू कोहि छैनन्। यस्तो अवस्थामा कालेबुङ जिल्ला कमिटि (बिमल गुट) का शिर्षस्थ नेतृत्ववर्गले आज सामुहिक राजीनामा दिएका हुन्।
0 Response to "विधायकसँगै शिर्षस्थ नेतृत्वले दिए गोजमुमो पार्टीबाट राजीनामा .... बिमल-बिनय कुनै गुटको पक्षमा बस्दैनौँ – डा. आर.बी भुजेल"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.