-->
11 जना नगरपार्षद लिएर कोलकोता हिँडे अनित थापा .....अविश्वास प्रस्ताव आएर भोट भए निश्चित जित्नेछु – शुभ प्रधान

11 जना नगरपार्षद लिएर कोलकोता हिँडे अनित थापा .....अविश्वास प्रस्ताव आएर भोट भए निश्चित जित्नेछु – शुभ प्रधान

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 25 नोभेम्बर। गोर्खा जनमुक्ति मोर्चा बिमल गुरुङ गुट अनि बिनय तामाङ गुटमा बिभाजन भएपछि अहिलेघरी दुई गुटबिच कालेबुङ नगरपालिकाको सत्ता कब्जा गर्ने होडबाजी सुरु भएको छ। जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनको सत्ता सम्हालेपछि दार्जीलिङ अनि खर्साङ नगरपालिकाको बोर्डले गोजमुमो बिनय गुटलाई समर्थन गरेपनि कालेबुङ नगरपालिकाले भने बिनय गुटको समर्थन गरेको थिएन। जसको कारण कालेबुङ नगरपालिकाको सत्ता कब्जा गर्न बिनय गुट सक्रिय रहेको छ।
कालेबुङ नगरपालिकाको सत्ता कब्जा गर्न आतुर रहेका गोजमुमो बिनय तामाङ गुटका महासचिव अनित थापाले आज 11 जना निर्वाचित नगरपार्षदहरू लिएर कोलकोता प्रस्थान गरेका छन्। जसमध्ये 9 जना गोजमुमो पार्टीबाट चुनाव जितेका अनि 2 जना तृणमूल कङ्ग्रेसको टिकटमा चुनाव जितेर पछि पुन: गोजमुमो पार्टीमा सामेल भएका नगरपार्षदहरू रहेका छन्। 
केहि दिन अघिमात्रै कालेबुङ आएका अनित थापाले शनिबार 14 जना नगरपार्षदहरूलाई लिएर वैठक गरेपछि कालेबुङ नगरपालिकामा बोर्ड बनाउँन पर्याप्त समर्थन रहेको दाबी गरेका थिए। थापासँग वैठक गर्ने 14 जना नगरपार्षदहरूध्ये 10 जना गोजमुमो पार्टीका, 2 जना जन आन्दोलन पार्टीका नगरपार्षद रहेका थिए भने 2 जना तृणमूल कङ्ग्रेसबाट चुनाव जितेर गोजमुमोमा सामेल भएका नगरपार्षदहरू रहेका थिए।
स्रोतले दिएको जानकारी अनुसार 11 जना नगरपार्षदहरूलाई लिएर कोलकोता प्रस्थान भएका थापाले नगरपार्षदहरूलाई नगरबिकास मन्त्री फिरहाद हाकिमसँग भेट गराउने थाह लागेको छ। कोलकोता प्रस्थान भएका नगरपार्षदहरूले कालेबुङ नगरपालिकाको बिकासका निम्ति तयार पारेका दस्तावेजहरू समेत बोकेर गएको स्रोतले दाबी गरेका छन्। उनीहरूले मन्त्रीलाई उक्त कालेबुङ नगर बिकासको निम्ति तयार पारेका दस्तावेज प्रस्तुत गरेर सिङ्गै बिकासका प्याकेज पारित गरेर फर्कन सक्ने सम्भावना रहेको स्रोतको दाबी रहेको छ।
यता 11 जना निर्वाचित नगरपार्षदहरू लिएर अनित थापा कोलकोता प्रस्थान गरेपछि वर्तमान नगरपालिका अध्यक्ष शुभ प्रधानसँग प्रतिक्रिया लिन चाहँदा उनले कालेबुङ नगर बिकासका निम्ति यदि कसैले पनि सहुलियत लिएर आए स्वीकार्य रहेको बताएका छन्। यसक्रममा उनले कालेबुङ नगरपालिकामा यदि कसैले अविश्वास प्रस्ताव ग्रहण गरेर नयाँ बोर्ड गठनको पहल गरे आफु पूर्णरूले चुनावी मैदानमा ओर्लिएर बाजी मार्न सक्षम हुने दाबी गरेका छन्। उनले कालेबुङ नगरपालिकाको 11 जना नगरपार्षदहरू कोलकोता प्रस्थान भएको बताउँदै जसमध्ये निर्वाचित बोर्डका 9 जना अनि 2 जना तृणमूलको टिकटमा भोट जितेका नगरपार्षदहरू रहेको स्पष्ट पारेका छन्।
‘जाप अनि तृणमूल कङ्ग्रेसका नगरपार्षदहरूले अविश्वास प्रस्तावपछि हुने भोटमा कसलाई समर्थन गर्ने हुन् त्यो पछिबाट नै आ-आफ्ना पार्टीले तय गर्नेछ। त्यसकारण 9 जना एउटै पार्टीका साथीहरूले निर्वाचनमा भाग लिए उनीहरूको बहुमत पुग्नेछैन। भोट अफ् नो कन्फिडेन्सको प्रस्तावना आएपछि अध्यक्षको हातमा 15 दिनको समय हुन्छ। राजनीतिमा 15 दिन धेरै समय हो। मैले त्यसै प्रतिस्पर्धा गर्छु भनेको होइन। राजनीतिको राम्रै अनुभव लिएर बसेको छु। त्यसैकारण म आफ्नो पक्षमा बहुमत हासिल गर्न सक्छु भन्ने कुरामा निश्चित छु’ नगरपालिका अध्यक्ष शुभ प्रधानले प्रतिक्रिया व्यक्त गर्दै भने। 
उनले सङ्ख्यात्मक हिसाबले बडी समर्थन आफ्नो पक्षमा रहेकै कारण आफु पूर्णरूपले विश्वस्त रहेको पनि बताएका छन्। यसक्रममा उनले कोलकोता प्रस्थान गर्ने नगरपार्षदहरूसँग औपचारिक भेटघाटन नभएको बताउँदै उनीहरूको कोलकोता भ्रमणमा कालेबुङ नगरवासीका निम्ति ठूलो उपलब्धि ल्याए उनीहरूलाई बधाई दिनुपर्ने अझ बताएका छन्। 
कोलकोता प्रस्थान गर्ने नगरपार्षदहरूले कतिपय नगर बिकासका निम्ति तयार पारिएका दस्तावेजहरू समेत लिएर गएको सन्दर्भमा प्रश्न गर्दा उनले वर्तमान बोर्ड अनि अघिल्लो बोर्डले तयार पारेका डीपीआरहरू लिएर गएको हुनसक्ने बताउँदै यदि उक्त कार्यहरू पारित गरेर ल्याएर कालेबुङ नगरवासीकै उपलब्धि हुने बताएका छन्।

Related Posts

0 Response to "11 जना नगरपार्षद लिएर कोलकोता हिँडे अनित थापा .....अविश्वास प्रस्ताव आएर भोट भए निश्चित जित्नेछु – शुभ प्रधान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.