कालेबुङ पुलिसद्वारा धेरै आग्नेयशास्त्र, विस्फोटक उद्धार, दुई पक्राऊ... अशान्ति फैलाउनेहरूको उद्देश्य पुरा हुन दिएनौँ – पुलिस अधिक्षक
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 13 अक्टोबर।: कालेबुङ पुलिसले पेदोङ अन्तर्गत लोवर साक्योङ बस्तिबाट धेरै मात्रमा विस्फोटक पदार्थ सहित हतियार उद्धार गरेको छ। घट्ना स्थलबाट पुलिसले विवेक राई अनि राखी छेत्रीलाई पनि पक्राऊ गरेको छ। उक्त हतियार अनि विस्फोटक पदार्थ बुद्ध राई अनि सुमन छेत्रीको घरबाट उद्धार गरेको कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्।
‘कालेबुङ पुलिस दलले आज पेदोङ स्थित लोवर साक्योङ बस्तिमा एउटा सूचनाको आधारमा छापामारी अभियान चलाएको थियो। छापामारी अभियानको क्रममा पुलिसले बिस्फोटक पदार्थ सँगै हतियार उद्धार गरेको छ’ जिल्ला पुलिस अधिक्षक यादवले भने। उक्त छापामारी अभियानमा पुलिसले 3 वटा 12 बोर गन, एउटा देशि पिस्तोल, 4 सय ग्रामको जिलेटिन 22 पाकेट, 125 ग्रामको जिलेटिन 22 पाकेट सँगै एउटा खदुवा, 60 भन्दा अधिक ईलेक्ट्रिकल डेटोनेटर सँगै धनुकाँड र् अन्य विस्फोटक सामग्रीहरू उद्धार गरेको अधिक्षक यादवले जानकारी दिएका छन्। उक्त सम्पूर्ण हतियार अनि विस्फोटक सामग्री बुद्ध राई अनि सुमन छेत्रीको घरबाट उद्धार गरेको जानकारी दिँदै घट्ना स्थलबाट बुद्ध राई अनि सुमन छेत्रीसँग पूर्व सभासद दावा लेप्चा भाग्न सफल भएको बताएका छन्।
‘उनीहरूको के उद्देश्य थियो थाह छैन, तर यतिधेरै हतियार अनि विस्फोटक पदार्थ उद्धार गरेर कालेबुङ पुलिसले अशान्ति गर्न खोज्नेहरूको उद्देश्यलाई पुरा हुन दिएन’ जिल्ला पुलिस अधिक्षकले भने।
‘हामीले केहि सन्दिग्ध मानिसहरूलाई ट्र्याक गरिरहेका थियौँ। स्रोतको जानकारी अनुसार पूर्व सभासद दावा लेप्चाको चालक फुप् नामग्येल भोटियासँग सम्बन्ध् रहेको सुमन छेत्रीको घरमा धेरै मात्रमा विस्फोटक पदार्थ थुपारेको जानकारी पाएका थियौँ। त्यहीँ जानकारीको आधारमा पुलिसले आज उनको घरमा छापामारी अभियान चलाएको थियो। जहाँबाट एकाधिक हतियारसँगै धेरै मात्रमा विस्फोटक पदार्थ उद्धार गरिएको छ’ पुलिस अधिक्षक अजित सिंह यादवले भने।
उनले उक्त घर पूर्णरूपले एउटा कारखानाको रूपमा प्रयोग गरिन्दै आएको जानकारी दिँदै त्यहाँ नै मानिसहरूले एकाधिक विस्फोटक सामग्रीहरू निर्माण गर्ने गरेको पनि जानकारी दिएका छन्। ‘यी सम्पूर्ण विस्फोटक सामग्रीहरू उनीहरूले पुलिसको विरुद्धमा चाँढै प्रयोग गर्ने भएको हामीले खुफिया विभागबाट जानकारी पाएका थियौँ। जुन विस्फोटक अघिबाटै उनीहरूले कालेबुङ थाना लगायत अन्य स्थानमा प्रयोग गरेर् विस्फोट गरिसकेका छन्। उनीहरूले जनतामा आतङ्क फैलाउनका निम्ति नै यस्ता विस्फोटक सामग्रीहरू प्रयोग गर्न लागेका थिए। यस्ता प्रकारका आतङ्की क्रियाकलापहरू अहिले जसले गर्दैछन् उनीहरू विरुद्ध पुलिसले छापामारी अभियान बारम्बार चलाइरहेको छ’ पुलिस अधिक्षक यादवले भने।
उनले उक्त घट्ना सम्बन्धमा पक्रा परेकाहरू विरुद्ध युएपीए धारा अनुसार कालेबुङ थानामा मुद्दा दर्ता गरेको जानकारी दिँदै कानुनी कार्वाही गरिने बताएका छन्। यसका साथै पुलिसले अझ दुईजना व्यक्तिलाई सोधपुछको निम्ति ल्याइएको अनि सोधपुछ पछि आवश्यक पदक्षेप ग्रहण गर्ने स्पष्ट पारेका छन्।
0 Response to "कालेबुङ पुलिसद्वारा धेरै आग्नेयशास्त्र, विस्फोटक उद्धार, दुई पक्राऊ... अशान्ति फैलाउनेहरूको उद्देश्य पुरा हुन दिएनौँ – पुलिस अधिक्षक"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.