दार्जिलिङमा फेरि तनाव, 1 प्रहरीको मृत्यु, 5 घायल
भीम चापागाईं, नागरिक न्युज: भारतको पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण दार्जिलिङ पुनः तनावग्रस्त बनेको छ। आन्दोलनकारीले आह्वान गरेको आमहड्ताल खुलेको दुई सातापछि शुक्रबार यहाँ झडप हुँदा १ सुरक्षाकर्मीको मृत्यु भएको छ।
भूमिगत भनिएका गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ दार्जिलिङ आउने खबर पाएपछि प्रहरीले ‘सम्भावित’ स्थानमा छापा मारेको थियो । त्यहीक्रममा शुक्रबार बिहान दार्जिलिङको वर्नसवेग चिया बगानमा गुरुङका कार्यकर्तासँग प्रहरीको मुठभेड भएको हो । बिहान ५ देखि ७ बजेसम्म भएको झडपमा दुवैतर्फबाट गोली प्रहार भएको थियो । क्रस फाइरिङमा प्रहरीका एसआई अमिताभ मल्लिकको मृत्यु भएको दार्जिलिङ प्रहरीले जनाएको छ। घाँटीमा गोली लागेका मल्लिकको घटनास्थलमै मृत्यु भएको थियो। ५ प्रहरी र प्रहरीका सवारी चालक कुमार तामाङसमेत गोलीले घाइते भएका छन् । उनीहरूको दार्जिलिङकै सरकारी अस्पतालमा उपचार भइरहेको छ।
गोली लागेर मोर्चाका १ कार्यकर्ताको समेत मृत्यु भएको खबर आएपनि कतैबाट पुष्टि भने भएको छैन । झडपमा गोली लागी मोर्चाका कार्यकर्ता घाइते भएपनि क्षतिको विवरण नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडपपछि प्रहरीले दिनभर नै यो क्षेत्रमा छापामा मारेको थियो । अध्यक्ष गुरुङ वर्नसवेग चिया बगानको फेदीमा लुकेर बसेको आशंका गर्दै छापा मार्दा मोर्चाले चलाएको हतियार शिविर फेला पारेको प्रहरीले दाबी गरेको छ।
भारतीय प्रहरीका एडिजी ल एन्ड अर्डर अनुज शर्माले कोलकातामा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी मोर्चाको शिविरमा हतियार फेला परेको दाबी गरे। उनले त्यहाँ एके–४७ छ थान, एउटा रिभल्वर, ५ सय थान गोली र बम बनाउने सामग्री फेला परेको दाबी गरेका छन्। ‘मोर्चा समर्थकले चलाएको गोलीकै कारण प्रहरी अधिकारी मल्लिकको मृत्यु भएको अनुसन्धानमा खुलेको छ,’ उनले पत्रकार सम्मेलनमा भने ।
दार्जिलिङको समस्या समाधानको लागि भन्दै केन्द्र सरकारले केही दिनअघि एक समन्वय समिति गठन गरी दार्जिलिङ पठाउने जनाएपछि अध्यक्ष गुरुङले आफू अब भूमिगत नबसी दार्जिलिङमै रहने घोषणा गरेका थिए। आफूलाई दार्जिलिङका जनताले खोजेकाले ३० अक्टोबरमा आफू दार्जिलिङ आउने उनले बिहीबार स्थानीय सञ्चारमाध्यमार्फत बताएका थिए । उनले भनेका थिए– मर्नुपरे जनताकै बीचमा मर्छु तर म दार्जिलिङ आउँदा हजारौं गोर्खाल्यान्डप्रेमी त्यहाँ उत्रिने छन्।
उनको भनाइ सार्वजनिक भएको भोलिपल्टै शुक्रबार प्रहरीले सम्भावित स्थानमा छापा मारेको हो । गुरुङमाथि विभिन्न घटनाको कारण देखाउँदै अदालतमा मुद्दा लगाइएकाले प्रहरीले उनको खोजी गरिरहेको छ । केन्द्र सरकारले गोर्खाल्यान्ड आन्दोलनकारीसँग १६ अक्टोबरमा वार्ताको तयारी गरेको छ। तर, गुरुङ नेतृत्वको मोर्चालाई वार्तामा नबोलाई सहसचिव विनय तामाङ समूहलाई मात्र बोलाउने सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०११ मा गठन भएको गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए)प्रमुखसमेत रहेका गुरुङले आन्दोलन जारी रहेका बेला जिटिएबाट राजीनामा दिएका थिए । गुरुङसहित सबैजसो सदस्यले राजीनामा दिएपछि राज्य सरकारले सहसचिव तामाङलाई नै अन्तरिम जिटिएको प्रमुख नियुक्त गरेको छ। मोर्चाभित्र आन्दोलनक्रममै फाटो आएपछि सहसचिव तामाङ र मोर्चाका अर्का नेता अनित थापालगायतको एक टोलीले गुरुङसँगको सल्लाहबिनै पश्चिमबंगाल सरकारसँग वार्ता गरेको थियो । वार्तामा उनी सहभागी भएपछि असन्तुष्ट गुरुङ र तामाङका बेग्लाबेग्लै समूह बनेका छन् । यसअघि सिलिगुडीको उत्तरकन्यामा राज्य सरकारसँग भएको वार्तामा तामाङकै समूह सहभागी भएको थियो । त्यही वार्तामा १६ अक्टोबरमा अर्को वार्ताको मिति तय गरिएको थियो।
१५ जुन यता १ सय ४ दिन लगातार आमहड्ताल भइ १६ दिनअघि मात्रै दार्जिलिङ, मिरिक, कालेबुङ र खर्साङ खुलेको थियो। लामो आमहड्ताल खुलेपछि सामान्य बन्दैगरेको जनजीवन पुनः अशान्त बनेको छ।
0 Response to "दार्जिलिङमा फेरि तनाव, 1 प्रहरीको मृत्यु, 5 घायल"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.