स-साना घट्ना बाहेक पहाड बन्द शान्तिपूर्वक पालन
29 Sept 2016
Comment
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २८ सितम्बर 2016। गोर्खा जनमुक्ति मोर्चाले डाकेको 12 घण्टाव्यापी पहाड बन्द कालेबुङमा पूर्णरूपले सफल भएको छ। बन्द अवधी स-साना घट्नाबाहेक अन्य ठूलो झडपको घट्ना कहीँ कतै नभएको कारण बन्द शान्तिमय पालन गरिएको थियो। बन्दलाई लिएर राजनैतिक घमासान हुने सम्भावना रहे पनि पुलिस प्रशासनको कठोर सुरक्षा व्यवस्थामा बन्द समर्थक र बन्द विरोधी माझ कुनै झडप हुन पाएन।
बन्दलाई सफल पार्नका निम्ति आज बिहानैदेखि गोर्खा जनमुक्ति मोर्चा पार्टीका समर्थकहरू सडकमा ओर्लिएका थिए भने बन्दलाई विफल पार्न तृणमूल कङ्ग्रेस पनि सडकमा ओर्लिएको थियो। बन्दलाई केन्द्र गरेर गोजमुमो अनि तृणमूल कङ्ग्रेस माझ हुने झमेलाको सम्भावनालाई ध्यानमा राखेर शहरका सम्पूर्ण दोकानदारहरूले भने आ-आफ्ना दोकान पूर्णरूपले बन्द राखेका थिए। पछिबाट बन्द खोल्नका निम्ति पर्यटन मन्त्री गौतम देव सँगै तृणमूल समर्थकहरूले शहरमा जुलुस निकाले पनि व्यापारीवर्गले दोकान भने खोलेनन्।
तृणमूल कङ्ग्रेस समर्थकहरूले मन्त्री गौतमदेवको उपस्थितिमा ‘पाएको होइन खाएको पैसाको हिसाब देऊ’, बन्द होइन जिटिएको पैसाको जवाब देऊ’ भन्ने नारा लगाउँदै बन्दको विरोधमा जुलुस निकाले पनि मानिसहरू कसैले दोकानहरू भने खोलेनन्। यतिसम्म कि कतिपय तृणमूल कङ्ग्रेस पार्टीका कार्यकर्ताहरूको दोकान समेत आधा दिनसम्म बन्द रहेको थियो। तथापी पछिबाट पुन: तृणमूल समर्थकहरू दोस्रोचोटी जुलुस निकाल्दा भने केहि तृणमूल कार्यकर्ताहरूको दोकान भने खोलिएको थियो।
उच्चा न्यायालयको बन्द निषेध आदेश हुँँदा हुँँदै पनि गोजमुमो पार्टीले डाकेको उक्त 12 घण्टाव्यापी बन्दको समर्थनमा धेरै मात्रमा कार्यकर्ताहरू सडकमा ओर्लिएपछि बिहानै देखि वातावरण तनावपूर्ण बनेको थियो। यसक्रममा मोर्चा समर्थकहरूले छुट्टै राज्य गोर्खाल्याण्ड जिन्दावाद र विमल गुरूङ जिन्दावादको जोडदार नाराबाजी लगाएका थिए। बन्द समर्थकहरूले यस अवधी कालेबुङको मुटु मानिने डम्बर चौकमा नै आफ्नो आधिपत्य जमाएर सडकनै ढाकेर बसेका थिए। पछिबाट दार्जिलिङ पुलिस अधिक्षक अमित पी. जावल्गी पुलिस बल सहित डम्बर चौकमा आइपुगेपछि त्यहाँबाट बन्द समर्थकहरूलाई छताछुल्ल पार्ने कार्य भएको थियो। यसैक्रममा बन्दलाई समर्थन गर्दै सडकमा बसेका सभासद आर.बी भुजेल लगायत अन्य कार्यकर्ताहरूलाई पक्राऊ गरेर कालेबुङ थानामा पुर्याएको थियो। पक्राऊ परेकाहरूलाई पुलिसले आज दिनभरी नै कालेबुङ थानामा नै बन्द गरेर राखेको थियो भने यसबारे पुलिस अधिक्षक अमित पी. जावल्गीले बन्द समर्थकहरूलाई प्रिभेन्टिभ एरेस्ट मात्र गरेको जानकारी गराएका थिए।
बन्द समर्थकहरूले यहाँको डम्बर चौकमा जोडदार् गोर्खाल्याण्ड जिन्दावाद र विमल गुरूङ जिन्दावाद भन्दै नाराबाजी लगाएर बसेपछि उनीहरूलाई पुलिसले लखेट्न निक्कै कष्ट गर्न परेको थियो। पछिबाट समर्थकहरूलाई एकाएक पक्राऊ गर्दै पुलिस वाहनमा हाल्न थालेपछि भने मात्र उनीहरू बाटोबाट पछि हटेका थिए। बन्दलाई सफल पार्न सडकमा ओर्लिएका मोर्चा समर्थकहरूलाई पुलिसले यहाँको जनमुक्ति पार्कभित्र विस्तारै पस्न लगाएपछि उनीहरूलाई त्यहाँबाट बाहिर निस्कने मौका समेत दिएको थिएन। पार्टी कार्यालय अनि जनमुक्ति पार्कमा मोर्चा समर्थकहरू पसेपछि त्यहाँबाट बाहिर निस्कने दुईतिरको बाटोमा ब्यारिकेट लगाएर सीआरपी अनि पुलिस बल तैनाथ गरेको थियो। जसको कारण बन्दको समर्थनमा मोर्चा समर्थकहरूले कुनै उग्र कार्य गर्ने मौका पाएनन्।
अर्कोतर्फ बन्द समर्थकहरूलाई पुलिसले नजरबन्द गरेर जनमुक्ति पार्कभित्र राखेपछि यता शहरमा तृणमूल कङ्ग्रेसलाई भने बन्दको विरोधमा जुलुस निकाल्न छुट प्राप्त भएको थियो। उनीहरूले पुलिस प्रशासनकै कठोर सुरक्षा व्यवस्थाभित्र विहान अनि अपरान्ह दुईचोटि जुलुस निकाले पनि त्यस जुलुसले बन्दलाई खोलाउन भने सकेन। पछिबाट तृणमूल समर्थकहरूले कतिपय दोकानदारहरूलाई जब्बरजस्ती दोकाउन खोलाउने कार्य गरेपनि उक्त दोकानहरू पाँच मिनटको निम्ति पनि खोलिएनन।
बन्दको कारण अघिबाटै तनावपूर्ण बनेको कालेबुङ शहरमा आज बिहानैदेखि बन्द समर्थक अनि बन्द विरोधीहरूमाझ झडप हुने व्यापक सम्भावना रहेको थियो। यद्यपी प्रशासनको सक्रियता त्यस्तो कुनै अप्रिय घट्ना भने घट्न पाएन। यता बन्दको अवधी कालेबुङ शहरदेखि 21 किलोमिटर टाडोमा अवस्थित पेदोङमा भने दुईवटा वाहन तोडफोड गरिएको घट्ना प्रकाशमा आएको छ। यसको साथै यहाँको 17 माइलमा पनि एउटा सवारी तोडफोड गरिएको जानकारी प्राप्त भएको छ भने उक्त सबै वाहन तृणमूल कङ्ग्रेस समर्थकहरूका रहेको सुत्रले जानकारी दिएको छ। उक्त वाहन तोडफोडको घट्नामा यता जिल्ला पुलिस अधिक्षक अमित पी. जावल्गीले दुई व्यक्तिलाई पक्राऊ गरेको जानकारी दिएका छन्।
यसैक्रममा बन्दलाई सफल पार्न राष्ट्रिय राजमार्ग 10 अन्तर्गत किर्नेमा पनि एउटा वाहन तोडफोड गरेको पुष्टि जिल्ला पुलिस अधिक्षक अमित पी. जावल्गीले गरेका छन्। उक्त राष्ट्रिय राजमार्गको वाहन तोडफोडको आरोपमा पनि पुलिसले दुईजना व्यक्तिलाई पक्राऊ गरेको पुलिस अधिक्षक जावल्गीले जानकारी दिएका छन्।
अर्कोतर्फ यता बन्दको सन्दर्भमा कालेबुङ महकुमा अधिकारी निर्मलय घरामीले बन्दको समय सम्पूर्ण सरकारी कार्यालयहरू खुल्ला रहेको अनि कर्मचारीवर्गको लगभग 97 प्रतिशत उपस्थिति रहेको जानकारी गराए। उनले कतिपय जिटिए अधिनस्थ रहेका कार्यलयहरू मात्र बन्द रहेको बताउँदै यसबारे निश्चित हिसाब प्राप्त नभएको अझ बताए। अर्कोतर्फ बन्दको समय आज यहाँको महकुमा अधिकारीको कार्यलय, खण्ड विकास कार्यलय्, खाद्य सर्वराह विभाग, ट्रेजरी आदि पूर्ण रूपले खुल्ला रहेको थियो भने कार्यलयमा काम लिएर जनताको उपस्थिति भने शुन्य प्राय रहेको देखियो। आज कालेबुङको अधिकांश सरकारी अनि गैर सरकारी बैंकहरू भने पूर्ण रूपले बन्द रहेको थियो भने सबै बैंकका एटीएमहरू पनि बन्द रहेको थियो। यहाँको बीएसएनएल कार्यलय अनि डाक घर पनि बन्दको कारण बन्द रहेको देखियो।

0 Response to "स-साना घट्ना बाहेक पहाड बन्द शान्तिपूर्वक पालन "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.