कालेबुङ जिल्लाको प्रक्रिया अघि बढाउने निर्देश- जापमा खुशीको लहर
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 31 मई। पश्चिम बङ्गालमा नयाँ सरकार गठन हुनेबित्तिकै मुख्यमन्त्री ममता ब्यानर्जीले पूर्वघोषित जिल्ला निर्माणको प्रक्रियालाई अघि बढाउने निर्देश दिएकी छन्। दोस्रोपल्ट सरकार गठन गरिसकेपछि मुख्यमन्त्री ममता ब्यानर्जीले सम्बन्धित विभागका अधिकारीहरूलाई नयाँ जिल्ला निर्माणको प्रक्रिया अघि बढाउने निर्देश दिएकी हुन्।
गत 18 दिसम्बर 2015का दिन तत्कालिन तृणमूल सरकारको मन्त्रीमण्डलले राज्यमा थप पाँचवटा जिल्ला निर्माण गर्ने निर्णयलाई स्वीकृति दिएको थियो। राज्य मन्त्रीमण्डलले बसिरहाट, सुन्दरबन, बर्दवान, इन्ड्रस्टियल झारग्राम र कालेबुङलाई नयाँ जिल्लाको रूपमा गठन गर्ने प्रस्तावलाई पारित गरेको थियो। फलस्वरूप राज्यमा दोस्रोपल्ट तृणमूलको सरकार आउनेबित्तिकै कालेबुङको जिल्लाको प्रक्रिया पनि अघि बढ्ने सम्भावना बढेपछि यता जनआन्दोलन पार्टीभित्र खुशीको लहर छाएको हो।
‘जापले हारेर पनि जितेको छ। नयाँ सरकार गठन हुनेबित्तिकै मुख्यमन्त्री ममता ब्यानर्जीले जिल्लाको प्रक्रिया अघि बढाउन सम्बन्धित विभागका अधिकारीहरूलाई निर्देश दिएकी छन्। यो जाप अनि सम्पूर्ण कालेबुङबासीको निम्ति ठूलो उपलब्धी हो’-जाप केन्द्रिय महासचिव नयन प्रधानले भने।
![]() |
जापको पत्रकार सम्मेलन |
अर्कोतिर पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा जाप युवा प्रकोष्ठले पनि मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गरेको छ।
‘कालेबुङबासी अनि जापले देखेको कालेबुङ जिल्लाको सपना चाँडै पूर्ण हुन गइरहेको छ। नयाँ सरकार गठन हुनेबित्तिकै जिल्लाको प्रक्रियालाई अघि बढाउने राज्य सरकारको पहललाई हामी स्वागत गर्छौँ’-युवा प्रकोष्ठका सचिव अमिर बस्नेतले भने। उनले डा. छेत्रीको नेतृत्वमा कालेबुङ जिल्ला माग समिति हुँदै जापले गरेको पहलको कारण नै कालेबुङ जिल्ला गठन हुन गइरहेको दावी गरे।
‘जाप आफ्नो मुद्दाहरूमा कटिबद्ध छ। अब आश्वासन मात्र देखाएर राजनीति गर्ने समय छैन। जनआन्दोलन पार्टीले आफ्नो उपलब्धी देखाएर जनतासमक्ष जानेछ’-बस्नेतले भने। कालेबुङ जिल्ला गठन भएको खण्डमा शहरदेखि ग्रामीण स्तरका मानिसहरूसम्मले प्रशासनिक सुविधाको उपभोग गर्नसक्ने भएकाले कालेबुङ जिल्लाको गठन महत्वपूर्ण उपलब्धी हुने बस्नेतले बताए।
स्मरण गराइन्छ, कालेबुङ जिल्लाको मूल मुद्दा बोकेर डा. हर्कबहादुर छेत्री मोर्चाबाट बाहिरिएका थिए। त्यसपछि उनले कालेबुङ जिल्ला निर्माण समिति गठन गरेर जिल्लाको मागमा कार्यक्रमहरू शुरू गरेका थिए। 18 दिसम्बर 2015 का दिन राज्यको मन्त्रीमण्डलले राज्यको अन्य जिल्लाहरूसितै कालेबुङ जिल्लाको मुद्दालाई स्वीकृति दिएको थियो। यसपछि जनआन्दोलन पार्टी गठन गरेर जिल्लाकै मुद्दामा डा. छेत्रीले चुनाउ लडेका थिए। यद्यपि चुनाउमा केवल 11 हजार भोटको व्यवधानले हारको सामना गर्नपरे पनि राज्यमा नवगठित तृणमूल सरकार आउनेबित्तिकै जिल्लाको प्रक्रियालाई अघि बढाउने तय गरेपछि जापले यसलाई पार्टीको ठूलो उपलब्धीको रूपमा लिएको छ।
0 Response to "कालेबुङ जिल्लाको प्रक्रिया अघि बढाउने निर्देश- जापमा खुशीको लहर"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.