-->
जन आन्दोलन पार्टीले गर्‍यो शक्ति प्रदर्शन .....  यो चुनाव होइन कालेबुङको स्वाभीमानको चुनौति हो – डा. हर्कबहादुर छेत्री

जन आन्दोलन पार्टीले गर्‍यो शक्ति प्रदर्शन ..... यो चुनाव होइन कालेबुङको स्वाभीमानको चुनौति हो – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 26 मार्च 2016 । ‘आज हामी ऐतिहासिक मोडमा उभिएका छौँ। यो ऐतिहासिक मोडमा चुनाव होइन चुनौति लिएर उभिएका छौँ। यो चुनौति कालेबुङको स्वाभिमानको चुनौति हो। यो चुनौति कालेबुङको आत्मसम्मानको चुनौति हो। यो हामी माथि लागेको लाञ्छनालाई पुछने दिन हो। हामी कालेबुङ जिल्ला बनाएर नै छाड्नेछौँ’- उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले थाना डाँडामा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्दै भनेका हुन्।

व्यापक समर्थकहरूको भीडमा उभिएका डा. हर्कबहादुर छेत्री आज हर्षित मुद्रामा थिए। नामाङ्कन पत्र भर्न अघि सम्पन्न भएको सभाबाट जन आन्दोलन पार्टीले पहिलो चुनावी शक्तिप्रदर्शन गरेको थियो। यस अवसरमा जन आन्दोलन पार्टीका समर्थकहरू व्यापकरूपले भेला भएका थिए। जाप अध्यक्ष छेत्रीले आज नामाङ्कन पत्र भर्ने अघिबाटै तय भएको थियो। यसक्रममा विभिन्न स्थानबाट जाप समर्थकहरू पार्टी कार्यलयमा भेला भएका थिए। पार्टी कार्यलयमा भेला भएका समर्थकहरूको साथमा डा. छेत्री जिन्दावाद र कालेबुङ जिल्ला जिन्दावादको नाराबाजी गर्दै कार्यकर्ताहरूको व्यापक उपस्थितिमा सर्वप्रथम यहाँको थाना डाँडामा जापको शक्ति प्रदर्शन सँगै पहिलो चुनावी सभा सम्पन्न भएको थियो। यस अवसरमा डा. छेत्रीले आगामी विधानसभा चुनावमा आफूले विजय हासिल गर्ने प्रतिबद्धता जाहेर गर्दै जनताले कालेबुङ जिल्लाको मुद्दालाई हेरेर सही निर्णय लिने आह्वान गरेका छन्।
‘तपाईँहरूलाई मैले जिल्लाको निम्ति लड्नपर्छ भनेको थिए। गोजमुमो पार्टी त्यागेर कालेबुङ जिल्लाको मुद्दा तीन महिना भित्रमा क्याबिनेट कमिटिमा पारित गर्न सकेका छौँ। अरू साथीहरूले काम नगर्नका लागि हाम्रो 107 वर्ष पुरानो अलग राज्य माग भनेर नारा मात्रै लगाएको छ। आजसम्म पनि दिल्लीको संसदमा एउटा बील समेत पेश गर्न सकेको छैन। यसबाट स्पष्ट हुन्छ कसले कति काम गर्न सक्छ भन्ने कुरा। जनताले सही कुरा बुझ्ने अब सही समय आएको छ’ – डा. छेत्रीले गोजमुमो पार्टीको नाउँ नलिइ आलोचना गर्दै भने।
यसक्रममा उनले कालेबुङ जिल्लाको मुद्दालाई हेरेर जनता सचेत बन्नुपर्ने आह्वान गरे।

यता सोहि जनसभाको अवसरमा जन आन्दोलन पार्टीले चुनावी घोषणा पत्र पनि सर्बजनिक गरेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, महासचिव नयन प्रधान अनि सर्वोच्च नीति निर्धारण समितिका सदस्यहरू क्रमैले अधिवक्ता अनमोल प्रसाद अनि अमर लामाको बाहुलीबाट उक्त चुनावी घोषणा पत्र सार्वजनिक गरिएको हो। जनसभाको क्रममा जाप सर्वोच्च नीति निर्धारण समितिका सदस्यद्वय अनमोल प्रसाद, अमर लामा महासचिव नयन प्रधानले यसपल्टको चुनावमा व्यक्ति होइन मुद्दालाई हेरेर जनताले सही निर्णय लिन आवश्यक रहेको बताए।
जनसभाको समाप्ति पछि जाप कार्यकर्ताहरूको व्यापक भीडको साथ डा. छेत्रीको नेतृत्वमा कालेबुङ शहरमा चुनावी र्‍याली निकालिएको थियो। थाना डाँडाबाट सुरू भएको उक्त र्‍यालीले मेन रोड, डम्बर चौक हुँदै दस माइल फाटक भएर आर.सी मिन्त्री रोड, डी.एस गुरूङ रोड हुँदै कालेबुङ महकुमा अधिकारीको कार्यलयमा पुगेको थियो। यस अवसरमा कार्यकर्ताहरूले जोडदार हर्कबहादुर जिन्दावादको नाराबाजी लगाएका थिए। शहर परिक्रमा गरिसकेपछि डा. छेत्रीले कालेबुङ महकुमा अधिकारीको कार्यालयमा आगामी विधानसभा चुनावका निम्ति आफ्नो नामाङ्कन पत्र दर्ता गरेका छन। जन आन्दोलन पार्टी चुनाव आयोगद्वारा आजसम्म पञ्जीकरण नभएको कारण उनले आफ्नो नामङ्कन पत्र निर्दल प्रार्थीको रूपमा दर्ता गरेका छन्। यसबारे उनीसँग जान चाहँदा भने – ‘चुनाव आयोगले जापको पञ्जीकरण दिएको छैन। यसकारण निर्दल प्रार्थीको रूपमा नामाङ्कन पत्र दर्ता गरेको हुँ।’
नामाङ्कन पत्र दर्ता गर्ने क्रममा डा. छेत्रीको साथना महासचिव नयन प्रधान, अनमोल प्रसाद, अमर लामा, प्रतिभा कुमाई आदिको पनि विशेष उपस्थितिमा नामाङ्कन पत्र चुनाव अधिकारीलाई बुझाएका थिए। विधानसभा चुनावको निम्ति नामाङ्कन पत्र बुझाएपछि हर्षित मुद्रामा देखिएका डा. छेत्रीले पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिँदै आफूले विगत दिन बुझाएको नामाङ्कन पत्रको सम्झना पनि नरहेको अनि आज प्रथम पल्ट नामाङ्कन पत्र दर्ता गरिरहेको जस्तो अनुभव गरेको बताएका छन्। 
यसक्रममा उनले आफ्नो जित निश्चिचित हुनेकुरामा आफू आशावादी रहेको पनि बताएका छन्। विगतका दिनहरूमा विधायकहरूले जे जति गर्न सके त्यसको आफूसँग तुलना गरे आफूले सबैभन्दा धेर काम गरेको दाबी गर्दै जनताले आफुले ल्याएका उपलब्धिहरूलाई जनताले हेरेर सही निर्णय लिन आवश्यक रहेको उनले बताए। ‘यो हार भयो भने मेरो हार होइन कालेबुङको हार हुनेछ। यसकारण आफ्नो भविष्यका पिँढीहरूलाई ध्यानमा राख्दै नेताको योग्यता जनताले बुझ्न आवश्यक छ। हामी गुमाउन चाहन्छौँ कि ल्याउन चहान्छौँ त्यो जनताले निर्णय गर्नुपर्छ’ – डा छेत्रीले भने। उनले विधानसभामा जनताले यदि अन्य प्रार्थीहरूलाई चुनेर पठाए त्यहाँ आफूले जतिको कार्य गर्न नसक्ने पनि दाबी गरेका छन्।

0 Response to "जन आन्दोलन पार्टीले गर्‍यो शक्ति प्रदर्शन ..... यो चुनाव होइन कालेबुङको स्वाभीमानको चुनौति हो – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.