27 जनवरीमा दार्जीलिङको राजनैतिक अनुहार स्पष्ट हुनेछः डा. छेत्री
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 20 जनवरी। ‘27 जनवरीको उपस्थिति यस्तो होस् जुन उपस्थितिले दार्जीलिङ पहाडको नयाँ राजनैतिक अनुहार स्पष्ट हुनेछ। त्यसदिनको उपस्थितिको आभास दार्जीलिङ पहाडमा मात्र होइन तराई-डुवर्स र कोलकाता अनि दिल्लीले पनि पावोस्।’ पाब्रिङटार क्षेत्र अन्तर्गत बरबोट बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै विधायक डा. हर्कबहादुर छेत्रीले ग्रामीण सुदुरवर्ती क्षेत्रहरूमा पनि देखिरहेको राजनैतिक परिवर्तनको आभाष 27 जनवरीका दिन भारी सङ्ख्यामा उपस्थित भएर दर्शाउनुपर्ने आह्वान गरेका छन्।
जिल्ला माग समितिको आयोजनामा सम्पन्न जनसभालाई सम्बोधन गर्ने क्रममा छेत्रीले 27 जनवरीका दिनदेखि जिल्ला माग समितिको अन्त भएर पहाडमा नयाँ सोच लिएर नयाँ राजनैतिक दल गठन हुने भन्दै अझ भने, यो राजनैतिक परिवर्तन विगत 4 दशकदेखि क्षेत्रका जनताले भोगेको शोषण र गलत प्रशासन विरूद्ध व्यक्त भएको आक्रोश हो। यो आवाजहिनहरूले विस्तारै बोल्नथालेको लक्षण हो। यसभित्र बहुमतको आकांक्षा लुकेको छ। यसभित्र वर्षौँदेखि अन्धकारमा बसेकाहरूको आशा मात्र होइन एउटा निर्दिष्ट दिशा पनि छ। छेत्रीले 27 जनवरीको जनसभामा उपस्थिति दिन नसक्नु भनेको कवि गोपालप्रसाद रिमालले भनेझैँ ‘एक युगमा आउने एकदिन’-लाई गुमाइपठाउनु सरह रहेको बताए।
याङ्माखुम, सुरूक, समथार, खानी, सिञ्जी आदि क्षेत्रका सैयौँ मानिसहरूलाई सम्बोधन गर्ने क्रममा गोजमुमोले जनआकांक्षा पूर्ण गर्न नसक्ने छेत्रीले दावी गरे। अलग राज्यप्रति मोर्चा इमान्दार नरहेको भन्दै छेत्रीले भने, यदि गोजमुमो गोर्खाल्याण्डप्रति इमान्दार छ भने जीटीए त्यागेर देखावस्। म पार्टी खोल्दिन, उनीहरूकै पछि कुद्नेछु। मोर्चालाई चौकीमा पाउने सुख-सुविधाको आदत् भइरहेको छ त्यसैले उनीहरूले चौकी छोडेर आन्दोलन गर्न सक्दैनन्।
छेत्रीले नवगठित कालेबुङ जिल्ला गोजमुमोको हातमा जान दिनुनहुने सङ्केत गर्दै भने, हामीले पाएको राम्रो चिज गलत हातमा गए बाँदरको हातमा नरिवल सरह हुनसक्छ। गोरामुमोले दागोपाप ल्यायो अनि गोजमुमोले जीटीए ल्यायो। यी व्यवस्थाहरू परिवर्तन भइरहन्छ तर हामीले ल्याएको कालेबुङ जिल्ला गोर्खाल्याण्ड नै गठन भएपनि सँधै अस्तिवामा रहिरहन्छ। सरकार हाम्रो दुश्मन छैन. दुष्मन हाम्रो सोच हो। हामीले ठिकसँगले चलाउन सक्नुपर्छ।
पश्चिम बङ्गाल राज्यको बार्षिक बजेट 49 हजार करोड रुपियाँको तयार हुँदा जीटीएले केवल 178 करोड रूपियाँको मात्र माग गरेकोमा व्यङ्ग कस्दै छेत्रीले भने, जीटीएको बजेट कन्ट्र्याक्टरले बनाउँछ, सभासद् र विशेषज्ञहरूले होइन। आजसम्म हामीसित दुर्दर्शी नेताहरू नभएका कारण नै हामीले दुःख पाएका हौँ। नत्र बङ्गालको बजेटमा कम्तिमा पनि 35 सय करोड पहाडको निम्ति माग गर्न सकिन्थ्यो।
डा. छेत्रीले कालेबुङ जिल्लालाई ठिकसित सञ्चालन गरेर लानुपर्ने सुझाउ राख्दै कालेबुङ जिल्लालाई गलत हातमा जानबाच बचाउन पनि नयाँ दल गठन गर्न आवश्यक परेको बताए। उनले भने, जबसम्म दल बनाएर निस्किँदैनौँ तबसम्म कालेबुङ जिल्लाई सशक्त रूपमा अघि लैजान सक्दैनौँ। यसैले नयाँ दलको गठन आवश्यक परेको हो।
आफ्नो सम्बोधनमा छेत्रीले कालेबुङ जिल्ला पूर्ण रूपमा कृषिजन्य जिल्लाको रूपमा स्थापित हुने बताउँदै भने, दार्जीलिङ जिल्लामा सबथोक छ। विश्वविद्यालय छ, हवाईअड्डा छ, रेलवे जंक्सन छ, मेडिकल कलेज छ। दुर्भाग्यवश दार्जीलिङ जिल्लामा भएपनि जिल्लामा हुनुपर्ने कुराहरू जम्मै सिलगढीमा छ। अब कालेबुङ जिल्ला छुट्टिएपछि कालेबुङ जिल्लाभित्र हुनुपर्ने जम्मै कुरा हामी माग गर्नसक्छौँ। केन्द्रको व्याकवार्ड रिजन ग्रान्ट फन्टबाट यी सबै विकासमूलक कामहरू गर्न सकिने सोच रहेको तिनले बताए।
हाल सिक्किम प्रधानमन्त्री नरेद्र मोदीको भ्रमणलाई केन्द्र गर्दै छेत्रीले भने, सिक्किममा एकजना पनि भाजपा सासंद छैनन्। भाजपाको सङ्गठन छैन। तरैपनि पवन कुमार चामलिङले राजनीति गर्न जान्दछन्, कुटनीति बुझ्छन्। यसैले सिक्किममा प्रधानमन्त्रीलाई ल्याउन सके। तर दार्जीलिङबाट भाजपाको निम्ति दुईजना सासंद जिताएर पठाएपनि प्रधामन्त्रीलाई सिक्किम आउँदा दार्जीलिङसम्म ल्याउन नसकेकोमा छेत्रीले खेद प्रकट गरे।
उनले अझ भने, ‘तिमीहरू चिया बनाउने, म बेच्ने भनेर नरेन्द्र मोदीले भनेका थिए। म साक्षी छु। उनले चियाको बोर्ड मात्र किन मन्त्रालय नै बनाउनुपर्छ भनेका थिए। तर भएन। स्थानीय नेतृत्वहरूले दैलो नदेखेर भित्ता ढकढकाउने गरेको कारण नै यी समस्याहरू उत्पन्न भइरहेको छेत्रीको आरोप रहेको छ।
सबैभन्दा धैर गोजमुमो अनि जीटीएको कार्यप्रणालीमाथि नै असन्तुष्टि व्यक्त गर्दै छेत्रीले आफूले जुन मागहरू उठान गरिरहेको छ त्यही मागहरू मोर्चाले पनि माग्न शुरू गरेको बताए।
उनले भने, मोर्चा मेरो विद्यार्थी होला जस्तो लाग्दैछ। किनभने मोर्चाले मेरोबाट सिक्दैछ, मैले उठाएको माग उठाउँदैछ। मैले जिल्लाको माग उठाए मोर्चाले अरू थुप्रै जिल्ला हुनुपर्छ भन्दैछ। सक्छ भने खरसाङलाई जिल्ला बनाएर देखावोस्, सक्दैन भने सक्दिन भनेर मलाई मगावोस्। टिस्टाभेल्ली सरह धेरै ठाउँहरूमा मोर्चाका नेतृत्वहरूले जनहितमा काम गर्न नसकेकै कारण आफूलाई त्यस क्षेत्रमा नेतृत्वका निम्ति निम्त्याइने काम भइरहेको छेत्रीले बताए।
यदि ठिक ठाउँमा ठिकसित माग्न सकियो भने धेरैवटा थोक हासिल गर्नसिकिने कुराको प्रमाण कालेबुङ जिल्लाले दिएको डा. छेत्रीको तर्क छ। यसैले हाल कलेक्टरेटका निम्ति कालेबुङमा जमीन खोज्ने काम आरम्भ भइसकेको जानकारी गराउँदै छेत्रीले कालेबुङले धेरैथोक पाउन सकेको बताए।
केही दिनअघि जनताको नाममा टाँसिएको पोष्टरबारे बोल्दै छेत्रीले अधिवक्ता अनमोल प्रसादले 145 पन्ने दस्तावेज तयार पारेर केन्द्रमा पेश गर्दा नै छैटौँ अनूसूचित रद्द भएको कारण गोजमुमो अस्तिवमा आउनसकेको भएपनि आज अनमोल प्रसादहरूलाई नै बङ्गालको दलाल भन्ने मोर्चाले उनीहरूको योगदानको कदर गर्न नसकेको आरोप लगाए।
आफ्नो सम्बोधनमा छेत्रीले क्षेत्रीय समस्याहरूबारे चर्चा गर्दै जिल्ला पूर्ण रूपमा अस्तिवमा आएपछि आफ्नो दलको माध्मयबाट क्षेत्रमा धेरै विकासमूलक कार्यहरू गर्नसकिने बताए। आजसम्म जनताले आफूसँग मात्र बात गर्ने नेतृत्वहरू छानेको कारण नै समस्या उत्पन्न भएको कारण अब सरकारसित बात गर्नसक्ने नेतृत्व छान्नुपर्ने छेत्रीको सुझाउ रहेको थियो।
यसरी नै अर्कोतिर जिल्ला माग समितिका संयोजक नयन प्रधानले अब जनतामा आतङ्क सृजना गरेर राजनीति गर्ने संस्कारको अन्त भइसकेका कारण नयाँ दलले बौधितक राजनीति गर्ने बताए। उनले भने, अहिलसम्म विभिन्न राजनैतिक दलहरू आए। गोर्खाल्याण्डको नाममा भाषण दिएर गए, भोट मागे, तर जनताको समस्या समाधान भएन। अब जनताको समस्या बुझ्ने बुद्धिजीवि नेतृत्वलाई साथ दिनुपर्छ।
उनले बरबोट-निम्बोङ क्षेत्राम खण्ड, पञ्चायत आदिको गठन ठिकसित नभएका कारण ग्रामीण स्तरहरूकै यी सबै निकायहरूको नयाँ गरी विकेन्द्रिकरण गरिन जरूरी रहेको बताए।
स्थानीय बासिल लेप्चाको अध्यक्षतामा सम्पन्न सभामा योगेन्द्र शर्माले स्वागत भाषण राखेका थिए भने जनसभालाई ओङछिरिङ लेप्चा, दिलिप छेत्री, याकुब लेप्चा, छत्र गुरूङ, माइकल लिङदामु, अजय सुब्बा, विशाल गुरूङ आदिले सम्बोधन गरेका थिए।
0 Response to "27 जनवरीमा दार्जीलिङको राजनैतिक अनुहार स्पष्ट हुनेछः डा. छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.