-->
'आम जनता पार्टी’-को नाउँमा उदय हुने नयाँ राजनैतिक दल ?

'आम जनता पार्टी’-को नाउँमा उदय हुने नयाँ राजनैतिक दल ?

डी के वाइबा, कालिमन्युज,  कालेबुङ, २० जनवरी 2016। गोजमुमो पार्टीको वर्चस्व रहेको पहाडमा गोजमुमोबाटै विद्रोह गरेर निस्केका विधायक डा. हर्कबहादुर छेत्रीको नयाँ राजनैतिक दल  गठनको घोषणा हुन अब एकहप्ता बाँकी छ। आगामी 27 जनवरीको दिन कालेबुङको मेला ग्राउण्डबाट नयाँ राजनैतिक दलको घोषणा हुने तय अघिबाटै भइसकेको छ। पहाडको चिसो मौसममा दिनोदिन तातिन्दै गइरहेको राजनैतिक मैदानमा उदय हुन लागेको नयाँ राजनैतिक दलको ‘नाम के हुने हो’ भन्ने विषयमा यतिखेर सबैको चासो बढीरहेको छ। 
‘गोर्खा’ र ‘गोर्खाल्याण्ड’ को मुद्दा नजोडे पहाडको राजनीतिमा कुनै पनि राजनैतिक पार्टीलाई आफ्नो अस्तित्व बँचाएर लान निकै कठिन पर्ने स्थिति छ। प्रत्येक पहाडवासीको ढुक-ढुकीमा गोर्खा अनि गोर्खाल्याण्ड भावनात्मक रूपले जोडिएको छ। जसको कारण पहाडमा यी नाउँ नजोडे पार्टी विस्तारमा कठिनाई आउने सम्भावनाहरू प्रशस्तै छ। यति हुँदा हुँदै पनि नयाँ उदय हुने राजनैतिक दलको नाउँमा ‘कुनै पनि विशेष जातिको नाउँ, विशेष स्थानको नाउँ जोडिने छैन’ भनि अघिबाटै विद्रोही विधायक डा. हर्कबहादुर छेत्रीले भनिसकेका छन्। त्यसो हो भने उनको नयाँ राजनैतिक दलको नाउँ के हुनेछ ? भन्ने प्रश्नको उत्तर पाउन सबैले कान ठाडो पारेर प्रतिक्षा गरिरहेका छन्। यो नाउँ नजोड्नुमा पनि कुनै औचित्य, महत्व, कसैको दबाव के चाही हो भन्ने बारेमा पनि किसिम किसिमका अटकल र हल्ला चलीरहेको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको रवाफमा निस्केका डा. हर्कबहादुर छेत्रीले गत ३१ जनवरीका दिन हातमा झाडु बोके अनि भने – पहिला हामी यस झाडुले देख्ने मैलाहरूल सफा गर्छौँ अनि पछि यो झाडु अदृष्य भएपछि यसले मनभित्रका राजनैतिक मैलाहरू सफा गर्नेछ’। डा. हर्कबहादुर छेत्रीको नयाँ राजनैतिक पार्टीले पहाडमा लेऊ लागेर बसेको भ्रष्टचार, पानी, बाटो, बिजुली, स्वास्थ्य, शिक्षा, बेरोजगार समस्या, भाइ-भतिजावाद आदि लाम लागेर बसेको समस्याहरूलाई बडारेर कतिसम्म सफा अनि सुग्घर बनाउँने सक्ने हुन् त्यो अहिले नै भनिहाल्न सक्ने अवस्था छैन। तथापी उनको झाडु बोकेको घटनाले भने नयाँ राजनैतिक दलको प्रारूप कस्तो हुने अनि यस नयाँ राजनैतिक दलको नाउँ के हुने हो भन्ने सङ्केत भने प्राप्त भएको छ। 
पहाडको चिसो मौसममा तातिन्दै गइरहेको राजनीतिमा नयाँ पार्टीको उदय हुने राजनैतिक पार्टीको नाउँ यसपल्ट दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले खोलेको आम आदमीको पार्टीको बाटोमा हिँड्ने सम्भावना देखिको छ। उक्त नयाँ राजनैतिक पार्टीको नाउँ पहाडमा पुरानो पद्धतीमा देखिने गोर्खा शब्दलाई हटाए ‘आम जनता पार्टी’ हुने सङ्केत प्राप्त भएको छ। यद्यपी यस नाउँलाई लिएर नयाँ राजनैतिक दलका नेताहरू माझ छलफल हुने क्रम भने अध्यावधी जारी रहेको छ। यसकारण यसको आधिकारिक पुष्टि भने आगामी 27 जनवरीको दिन मात्रै हुनेछ। जसको निम्ति पहाडका जनताले नयाँ दलको नाउँ अनि घोषणापत्र र दिएघकालीन गोर्खाल्याण्ड मुद्दा सम्बन्धी आगामी 27 जनवरीका दिनसम्म पर्खन पर्ने नै भएको छ। 
नयाँ सोंच, नयाँ विचर, नयाँ सिद्धान्त अनि नौलो प्रकारले उदय हुन लागेको राजनैतिक दलले पहाडको अन्य राजनैतिक पार्टीको तुलनामा नयाँ तरिकाले जनहितमा काम गर्ने घोषणा गरिसकेको छ। जसको निम्ति नयाँ राजनैतिक दलले पार्टी घोषणाको दिन नै पार्टीको सिद्धान्त, घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। पहाडमा अहिलेसम्म देखा परेका राजनैतिक दलहरूले पार्टीको घोषणा गर्दा घोषणा पत्र भने सार्वजनिक गरेका छैनन्। यद्यपी उक्त राजनैतिक दलहरूको ‘गोर्खाल्याण्ड’को मुद्दा भने अलिखित घोषणा पत्रको प्रमुख एजेन्डा हुने गरेको हो। यस्तो अवस्थामा डा. हर्कबहादुर छेत्री, प्रो. महेन्द्र पी. लामा, वरिष्ठ अधिवक्ता द्वय अनमोल प्रसाद अनि अमर लामा, युसुफ सिमिक आदिको सक्रियतामा गठन हुने राजनैतिक दलको प्रारूप अनि घोषणा पत्रलाई लिएर अहिलेघरी सबैमा चासो बढीरहेको छ। 
‘नयाँ दलको घोषणा पत्रमा गोर्खाल्याण्ड हुन्छ ?’ नयाँ राजनैतिक दलप्रति चासो राख्नेहरूले अहिलेघरी सबैभन्दा धेरै प्रश्न यहीँ रहेको छ। यस प्रश्नको जवाब आधिकारिक रूपले पार्टीको घोषणा भएको दिन मात्र थाह हुनेछ। यद्यपी नयाँ दलले छुट्टै राज्यको मुद्दालाई क्रमबद्ध रूपले अघि बडाउने बयानहरू भने अघि आइरहेको छ। जसको निम्ति नयाँ राजनैतिक दलको एजेण्डा समेत यस पार्टी गठन घोषणाको दिन नै थाहा पाउनेछन्।

0 Response to "'आम जनता पार्टी’-को नाउँमा उदय हुने नयाँ राजनैतिक दल ?"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.