डा. हर्कबहादुर छेत्रीलाई कालेबुङमा भव्य स्वागत ...... कालेबुङलाई देशकै नमुना जिल्ला बनाउन सकिनेछ – डा. महेन्द्र पी. लामा
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २० दिसम्बर 2015 । कालेबुङ जिल्ला गठन पछि कोलकोताबाट कालेबुङ आइपुगेका बिधायक डा. हर्कबहादुर छेत्रीलाई आज भव्य स्वागत जनाइयो। यस अवसरमा जिल्ला माग समिति अनि आम मानिसहरू व्यापक रुपले भेला भएका थिए।
गोजमुमो पार्टी त्यागेर स्वतन्त्र विधायक बनी जिल्लाको मुद्दा पार लगाउने डा. छेत्रीलाई स्वागत गर्न कालेबुङबाट बिहानै जिल्ला माग समिति अनि साधरण जनता न्यू जलपाईगडी रेल्वे स्टेशनमा नै पुगेका थिए। अघिबाटै तय गरे अनुसार उनी कालेबुङ एघार बजे आइपुग्ने निश्चित थियो तर ठाउँ-ठाउँमा डा. छेत्रीलाई स्वागत गर्न मानिसहरू भीड रहेको कारण उनी अपरान्ह एक बजेमात्र आइपुगेका थिए।
कोलकोताबाट सोझै कालेबुङ आइपुगेका विधायक डा. हर्कबहादुर छेत्री कालेबुङको थाना डाँडा आइपुग्न साथै मानिसहरूले जोरदार ‘हर्कबहादुर छेत्री जिन्दावाद’को नाराबाजी लगाउँदै पटेका पड्काएर स्वागत जनाए। उनलाई फूल माला लगाएर स्वागत गर्नेहरूको पनि उत्तिकै भीड जमेको थियो।
यसैक्रममा कालेबुङ जिल्लाको मागलाई पार लगाएका डा. हर्कबहादुर छेत्रीलाई स्वागत गर्न डा. महेन्द्र पी. लामा पनि थाना डाँडामा आइपुगेका थिए भने उनले डा. छेत्रीलाई आफ्नो अङ्गालो बाँधेर स्वागत गर्दै बधाई दिए।
दुई विद्वानहरूको उक्त मिलन हेर्न लायकको थियो भने मानिसहरूले जोडदार ताली बजाएर दुवैको मिलनलाई सकारात्मक सन्देस मानिरहेका थिए। जिल्लाको मुद्दा पार लगाएर कालेबुङ आइपुगेका डा. छेत्रीलाई मानिसहरूको भीडले भव्य स्वागतको साथमा शहर परिक्रमा समेत गराएको थियो। जिल्ला गठनको हर्षोल्लासमा निस्केको उक्त जुलुसले शहर परिक्रमा गरेपछि सोझै यहाँको मेला ग्राउण्डमा पुगेको थियो।
मेला ग्राउण्डमा अघिबाटै लेप्चा राजा पनु ग्याबो आच्योकको जन्मोत्सव कार्यक्रम ईण्डिजेनस लेप्चा ट्राइबल एसोसिएसनको आयोजनामा सम्पन्न भइरहेको थियो। उक्त जुलुस मेला ग्राउण्डमा पुगेपछि डा. छेत्रीलाई भव्य स्वागत गरिए पछि कार्यक्रम जनसभामा परिणत भएको थियो। यस अवसरमा उक्त कार्यक्रममा डा. महेन्द्र पी. लामा, अधिवक्ताद्वय अमर लामा, अनमोल प्रसाद, लेप्चा बिकास बोर्डका अध्यक्ष ल्याङसोङ तामसाङ, ईल्टा अध्यक्ष दोर्जी टी. लेप्चा, जिल्ला माग समितिका संयोजकद्वय युसुफ सिमिक अनि नयन प्रधान विशेष रुपले उपस्थित रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. महेन्द्र पी. लामाले जिल्ला गठनको निम्ति बिधायक डा. हर्कबहादुर छेत्री अनि मुख्यमन्त्री ममता ब्यानर्जीलाई बधाई दिए। उनले कालेबुङ जिल्लालाई विश्वकै एक नम्बर जिल्ला बनाउन सक्ने प्रसस्त सम्भावनाहरू रहेको बताए। यसको निम्ति सबैले मिलेर कार्य गर्नु आवश्यक रहेकको पनि उनले जनाए।
सम्बोधनको क्रममा डा. लामाले गोजमुमो पार्टीका नेताहरूको नाउँ नलिई आलोचना गर्न पछि परेनन्। ‘मानिसले आफ्नो मन, मुख र मस्तिष्कलाई सन्तुलनमा राखेर काम गर्नुपर्छ। यी तीन चिजहरूको सन्तुलन नभए केहि हुँदैन। हाम्रा नेताहरू यी तीनै चिजहरूको सन्तुलन नभएको कारण बोल्नु न काम गर्नुमा फरक छन्’ – डा. महेन्द्र पी. लामाले भने।
छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति आन्दोलन गर्ने गोजमुमो पार्टीका नेताहरू दिल्लीमा गएर अहिले ‘गोर्खाल्याण्ड गठनको औचित्य बुझ्न कमिटि गठन’ गर्ने माग गरिरहेको घटना मन, मस्तिष्क र मुखको तालमेल नभएको हो भने। उनले जिल्ला गठनालाई एउटा ठूलो उपलब्धि हो भन्दै यसको श्रेय डा. छेत्रीलाई दिए अनि यो कार्य डा. छेत्रीको मन. मस्तिष्क र मुखको सही तलमेलको उपज हो भने। बिगत 1962 सालतिर कालेबुङलाई विश्वको व्यापार केन्द्र मानिने गरेको बताउँदै पछिबाट यसले आफ्नो गरिमा हराएको अनि अब जिल्ला गठन पछि पुन: कालेबुङलाई विश्वको व्यापारिक केन्द्र निर्माण गर्न सकिने सम्भावनाहरू तिनले बताए। यसको निम्ति जेलेप्ला मार्ग एउटा महत्वपूर्ण हो भन्दै अब उक्त मार्ग खोल्ने कार्य गर्न आवश्यकतामाथि जोड दिए।
हालसम्म नेताहरूले बारम्बार परिक्षा दिने गरेपनि उनीहरू परिक्षामा पास अथवा फेल भयो भन्ने कुरा जनतालाई बताउने नगरेको जनाउँदै अब नेताले जनतालाई परिक्षाको रिजल्ट देखाउनुपर्छ भने। “हाम्रा नेताहरू दिल्लीमा गएर परिक्षा दिन्छन् अनि परिक्षामा लड्डु लिएर फर्कन्छ। अब फेल हुनेले म फेल भए भन्नुपर्छ। लड्डु लिएर पास भए भन्ने नाटक गर्नुहुँदैन। आजसम्म पास भएको नाटक गरेको कारण जनताले सुखका दिन देख्न पाएका छैनन्’ – डा. महेन्द्र पी. लामाले भने।
उनले दिल्ली धर्नाको टिप्पणी गर्दै ‘जन्तर मन्तर’-मा धर्ना दिनु वास्तवमा बङ्गोप सागरको छालमा गएर सुसेली पार्नु सरह हो भने। ‘सक्छौ भने प्रधानमन्त्री कार्यलय अघि अथवा संसद भवन अघि धर्ना देऊ। नत्र जिताएर पठाएका सांसदको कार्यलय अघि धर्ना देऊ, तब मात्र आवाज सुन्नेछ’ – डा. लामाले मोर्चालाई चुनौति दिँदै भने।
उनले अब दार्जीलिङ पहाडमा शिक्षाको खेती गर्न आवश्यक रहेको बताउँदै शिक्षाको खेती नगर्ने नेताहरूले दार्जीलिङ पहाड भताभुङ्ग पारेको आरोप लगाए। ‘शिक्षाको खेती गर्ने नेताहरू छैन। उनीहरूलाई शिक्षा के हो पत्तो छैन। यसैकारण शिक्षाको खेत बाँझो भएको छ’ लामाले भने। उनले गोजमुमो पार्टीले ल्याएको जीटीए देख्नमा हेलिकप्टर देखिने भए पनि वास्तविक इञ्जिन भने ट्र्याक्टरको रहेको आरोप लगाए। जसले गर्दा बिकासको कार्य केही गर्न नसकेको उनले आरोप लगाए।
अर्कोतर्फ कार्यक्रमलाई सम्बोधन गर्दै लेप्चा बिकास बोर्डका अध्यक्ष ल्याङ्सोङ तामासाङले पहाडका जनताले सही नेता चुन्ने समय आएको बताउँदै सम्पूर्ण पहाडवासी एकार्कालाई माया-प्रेम र सदभावानाको साथमा अघि बडे सबैको एकसाथ बिकास हुने दाबी गरे। एउटा जातले अर्कोलाई अवहेलना गरे सम्पूर्ण पहाडवासीको नै बिकास नहुने बताउँदै सबै एकार्कमा मिलेर अघि बड्ने यहीँ समय हो भनि तामसाङले बताएका छन्।
आज पहाडका नेताहरूले परिचयको प्रश्नवारे बारम्बार आवाज उठाउने गरेको बताउँदै पहिला दार्जीलिङ पहाडमा सम्पूर्ण मानिसहरूको आर्थिक, सामाजिक, राजनैतिक बिकास गर्न आवश्यक रहेको अनि ती सबै बिकास भए परिचय संकट बिस्तारै हराएर जाने बताए। यता कार्यक्रममा जिल्ला माग समितिका युवा संयोजक अमिर बस्नेत, सन्दिप कुलुङ, दोर्जी टी. लेप्चा आदिले पनि सम्बोधन गरेका थिए।

0 Response to "डा. हर्कबहादुर छेत्रीलाई कालेबुङमा भव्य स्वागत ...... कालेबुङलाई देशकै नमुना जिल्ला बनाउन सकिनेछ – डा. महेन्द्र पी. लामा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.