जनजातिको मागमा खसहरूको महाभेला सम्पन्न आगमी २०१६ मा खसहरू ‘फ्याक्टर’ हुनेछ – सन्तोष खड्का
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २९ दिसम्बर 2015। "आगामी २०१६-१७ खस जातिहरूको निम्ति महत्वपूर्ण समय हो। यस समयमा हामी खसहरूले एउटा निर्णय लिनै पर्ने समय आएको छ। कालेबुङ महकुमाको मोठ २६१ बुथहरूमा ४५ हजार भन्दा अधिक मतदाताहरू भएका खसहरूले यस वर्ष फ्याक्टर बन्नै पर्ने समय आएको छ। यदि हामीलाई जनजातिको मान्यता नदिए हामी चुनावी फ्याक्टर बन्नेछौँ’ - उक्त कुरा खस हितकारी सङ्गठनका युवा अध्यक्ष सन्तोष खड्काले खस हितकारी महाभेलालाई सम्बोधन गर्दै भनेका हुन्। उनले आफूहरू केवल जनजातिको मागमा प्रतिबद्ध बनेर अघि बढेको बताउँदै जनजातिको मुद्दाबाट पछि नहट्ने दाबी गरे।
खस भारतीय हितकारी सम्मेलन कालेबुङ आञ्चलिक समितिको आयोजनामा आज जनजातिको माग गर्दै खस हितकारी जागरण महाभेला सम्पन्न भयो। उक्त महाभेलामा कालेबुङ महकुमा क्षेत्रका विभिन्न स्थानहरूबाट खस समुदायका मानिसहरू व्यापक रूपले भेला भएका थिए। यस अवसरमा यहाँको मेलाटारबाट जुलूस निकालेर मेनरोड, 10 माईल हुँदै पुनः मेलाटारमा आएपछि जागरण महाभेलामा सम्पन्न भएको थियो।
यसक्रममा सन्तोष खड्काले जनजातिको मुद्दालाई क्षेत्रिय प्रशासनले पनि उठान गरिरहेकोमा आभार व्यक्त गरेका छन्। “हामी जनजातिको मुद्दामा अघि बढेका छौँ। यदि भविष्यमा जनजातिको मुद्दालाई पार लगाउन आवश्यक परे जीटीएका निर्वाचित भएका ७ जना खस जातिका सभासदहरूले राजीनामा दिनुपर्छ” खड्काले भने। यसक्रममा उनले जातिय उत्थानका निम्ति सहिद बन्न परे पनि पछि हट्न नहुने आह्वान गरे।
‘भोलिको भविष्य राम्रो बनाउन आज सहिद हुनपर्छ भने पनि हामी राजी छौँ’ सन्तोष खड्काले भने। यसक्रममा उनले सभासद सँगै विधायक डा. हर्कबहादुर छेत्रीलाई पनि जातिय मुद्दाको निम्ति अघि आइदिने आह्वान गरे। उनले आगमी केहि महिनाभित्रमा खसजातिको हितमा राम्रो कार्य हुनसक्ने सम्भावना व्यक्त गर्दै यदि केहि नभए सडकमा निस्केर आन्दोलन गर्ने चेतावनी दिए। उनले भविष्यमा खस हितकारी सङ्गठनलाई अझ व्यापकता दिँदै डुवर्स क्षेत्रमा व्यपक रोपले बिस्तार गर्ने योजना रहेको बताए। ‘हाम्रो मुख्य लक्ष्य जनजाति हो। हामी त्यहाँदेखि एक इञ्च पनि पछि हट्नेछैनौँ। यो राजनैतिक संस्था होइन अनि अहिलेसम्म हामीले राजनैतिक ढङ्गमा कार्यक्रम गरेका थिएनौँ। तर अब जातीय उत्थानका निम्ति जसले जनजातिको मर्यादा दिनसक्छ त्यसैपट्टि जाने समय आएको छ’ उनले भने। आजसम्म खस जातिको सर्वाङ्गिन बिकास हुन नसकेको बताउँदै खसहरूको बिकास हुन्छ भने जनजातिको मान्यताले मात्र हुने उनले दाबी गरे।
अर्कोतर्फ अन्य वक्ताहरूले पनि जनजातिको माग सम्बन्धी विचार राख्दै खस समुदायको संस्कार-संस्कृति साथै खस समुदायको अवस्थाबारे जानकारी गराए। खस समुदायसित जनजाति हुनुका प्रश्स्त आधारहरूबारे चर्चा गर्दै वक्ताहरूले जनजातिको मर्यादा प्राप्त भएपछि मात्र खसहरू पनि विकासको मूलधारमा आउनसक्ने बताए।
सम्मेलनका आञ्चलिक समितिका सचिव जेपी नेउपानेले स्वागत भाषण राखेपछि शुरू भएको कार्यक्रममा सम्मेलनका केन्द्रिय अध्यक्ष आरपी निरौला, महासचिव बलभद्र फुँयेल साथै प्रतिनिधिहरू प्रा. कुमार छेत्री, राजु भेटवाल,नितु छेत्री, भुवन खनाल आदिले सम्बोधन गरेका थिए। यसक्रममा कार्यक्रममा सम्मेलनका विभिन्न शाखाका कलाकारहरूद्वारा सङ्गीनी नृत्य,खैँजडी नृत्य, लोक नृत्य लगायतका सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए।
0 Response to "जनजातिको मागमा खसहरूको महाभेला सम्पन्न आगमी २०१६ मा खसहरू ‘फ्याक्टर’ हुनेछ – सन्तोष खड्का "
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.