-->
विलयको मुद्दा जनताको ध्यान हटाउने प्रयास मात्र हो – डा. हर्कवहादुर छेत्री

विलयको मुद्दा जनताको ध्यान हटाउने प्रयास मात्र हो – डा. हर्कवहादुर छेत्री

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 10 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले दार्जीलिङ सिक्किम विलयको मुद्दा उठाएपछि कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले ‘यो जनतालाई भ्रममा पार्ने खेल मात्र हो’ भनि टिप्पणी गरेका छन्। आफ्नो निवास स्थानमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा डा. छेत्रीले उक्त कुरा भनेका हुन्। 
‘विलयको मुद्दा सबैभन्दा राम्रो हो। तर यसलाई उठाउने समय अहिले भने पटक्क होइन। यो अघिबाटै उठाउनुपर्ने हो। अहिले गोजमुमो पार्टीले यो मुद्दा उठाउनु भनेको केवल जनतालाई भ्रममा पार्ने काम हो’- डा हर्कबहादुर छेत्रीले भने। उनले उक्त मुद्दा मोर्चाले उठाएर जनताको ध्यान हटाउने कार्य गरिरहेको आरोप समेत लगाएका छन्। यद्यपी दार्जीलिङमा सबैभन्दा सम्भावित राम्रो व्यवस्था भने विलय हो भनि बताएका छन्। उनले विलयको मुद्दाबारे बोल्दै सिक्किम सरकारले यस मुद्दालाई सहजै समर्थन गर्न नसक्ने स्पष्ट पार्दै यदि सरकारले समर्थन गरेको खण्डमा सिक्किममा आफ्नो सत्ता सरकारले गुमाउनु पर्ने स्थिति आउने स्पष्ट पारे। 
‘विलयको मुद्दाबारे यदि सिक्किम सरकारले समर्थन गरे त्यहाँ सरकार ढल्नेछ। विगतका दिनमा पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीले यस मुद्दालाई समर्थन गर्दा आफ्नो सत्ता ढलेको एउटा प्रमुख कारण हो’ डा छेत्रीले भने। उनले विलयको मुद्दा एउटा सर्वोत्तम मुद्दा हुँदा-हुँदै पनि यस मुद्दालाई उठाउने राजनैतिक पार्टी भने स्थापित अनि जनप्रिय नरहेको कारण यस मुद्दाले पार पाउन नसकेको पनि बताए। 
‘दार्जीलिङमा छुट्टै राज्य, युनियन टेरिटोरी अनि विलयको मुद्दामा सबैभन्दा भाएबल मुद्दा भनेको सिक्किम दार्जीलिङ विलय हो। दुर्भाग्यवस यस मुद्दालाई उठाउने दलहरूले मिसको रुपमा उठाउनको साटो केवल राजनैतिक हतियारका रुपमा मात्र लिए’ डा.छेत्रीले अझ भने। डा. छेत्री अनुसार ऐतिहासिक अनि भौगोलिक अवस्थानका आधारमा विलयको मुद्दा सहज अनि उत्तम विकल्प बताएका छन्। 
त्रकारहरूलाई सम्बोधन गर्ने क्रममा डा हर्कबहादुर छेत्रीले हाल गोजमुमो पार्टीले कालेबुङ जिल्लाको मागलाई अघि बढाएको सन्दर्भमा शंका व्यक्त गरेका छन्। मोर्चाले कालेबुङ जिल्ला मागेको खण्डमा पश्चिम बङ्गाल सरकारले नदिने निश्चित रहेको दाबी गर्दै ‘सरकारसँग बाझ्नेहरूलाई कहाँ दिन्छ जिल्ला’ भने। उनले हाल मोर्चाको सरकारसँग समबन्ध राम्रो नभएको कारण मोर्चाले जिल्ला मागे यसको गठन नहुने देखेर नै अहिले मोर्चाले यस माग अघि बढाएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। 
‘यो उनीहरूले श्रेय लिने प्रयास गरेका पनि हुनसक्छन्। हामीले जिल्ला अघिबाटै मागेको कारण गठन भएको हो भनेर गठन भएपश्चात जनातालाई भन्नका निम्ति पनि यसो गरेको हुनसक्छ। श्रेय जोसुकैले लिओस, मलाई श्रेय चाहिएन। केवल जनताको निम्ति सुविधा प्रदान गर्न विधायकको हैसियतमा यो मुद्दा उठाएको हुँ’ विधायक डा. हर्कबहादुर छेत्री अझ भने। उनले आफ्नो सम्बोधनको क्रममा गोजमुमो अध्यक्ष विमल गुरुङको पदयात्रा सम्बन्धि टिप्पणी गर्दै ‘जनताले काम गर्नका निम्ति चौकिमा राखेका व्यक्तिले चौकिमा बसेका व्यक्तिले जनताको काम गरेको उचित हो’ भनेका छन्। 
यसक्रममा उनले उनको पदयात्रा वास्तवमा गोर्खाल्याण्डको निम्ति नभएर आफ्नो ‘पद’ बचाउने बहाना मात्र हो भनि टिप्पणी गरे। उनले आगामी दिनमा कालेबुङ जिल्ला भएको खण्डमा यहाँ तीनवटा महकुमा अनि 9 वटा खण्डहरू निर्माण हुने निश्चित रहेको पनि दाबी गरे। यसभन्दा अघि जीटीएलाई खण्डहरू बडोत्तरीका निम्ति राज्य सरकारले प्रस्ताव दिएको जानकारी गराउँदै जीटीएले यसबारे आधिकारिक कार्य नगरेको पनि आरोप लगाएका छन्। डा. हर्कबहादुर छेत्रीले जिल्ला गठनको मागलाई सबैले आ-आफ्नो स्थानमा बसेर समर्थन गरे सबैको निम्ति लाभदायक हुने बताउँदै यसको निम्ति कसैले कुनैपनि दल त्याग्नै पर्ने आवश्यक्ता नरहेको बताएका छन्। 
“जिल्लाको माग सबैले आ-आफ्नो ठाउँबाट गरेको राम्रो हुनेछ। यसको निम्ति पार्टी छोडेर आउनुपर्छ भन्ने होइन। सबैले आ-आफ्नो स्तरमा आवाज उठाए विधायकको हैसियतमा मलाई यसबारे मुख्यमन्त्रीलाई भन्न अझ बल पुग्नेछ’ डा.छेत्रीले भने। उनले कालेबुङ छुट्टै जिल्ला भएको खण्डमा यो स्वत: जीटीए अधिनस्थ हुने बताए पनि यहाँका जनताले प्रशासनिक सुविधाको उपभोग गर्न पाउने बताएका छन्। ‘कालेबुङ जिल्ला जीटीएको अधिनमा पर्नु हुँदैन भन्ने किसिमको मेरो सॉंघुरो सोच छैन’-उनले भने। 
छेत्री अनुसार कालेबुङ जीटीएकै अधिनमा भएपनि कालेबुङसितै आफ्नै जिल्लापाल अनि धेरै विभागीय कार्यालयहरू आउनेछ। जसले गर्दा जीटीएको कारण खासै समस्या उत्पन्न हुँदैन। 
यसैक्रममा हाल छुट्टै जिल्लाको समर्थनमा विभिन्न स्थानबाट मानिसहरुले बारम्बार आफूलाई सम्पर्क गरिरहेको बताएका छन्। यसक्रममा रोङ्गो सिन्कोना बगानका पुराना राजनीतिज्ञ एलएम शर्माको नेतृत्वमा मानिसहरूले डा. हर्कबहादुर छेत्रीलाई भेट गरेर जिल्लाबारे कुराकानी गरे। युनाइटेड फोरम फर ट्रेड युनियनको ब्यानरमा आएका एलएम शर्मा अनि उनको टोलीले आज निक्कै बेरसम्म डा. छेत्रीसित जिल्लाबारे कुराकानी गरेर जिल्लाको मागलाई समर्थन जनाएका छन्।

0 Response to "विलयको मुद्दा जनताको ध्यान हटाउने प्रयास मात्र हो – डा. हर्कवहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.