-->
छुट्टै जिल्लाको मागमा कालेबुङमा निकालियो जुलुस... गोजमुमो त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल

छुट्टै जिल्लाको मागमा कालेबुङमा निकालियो जुलुस... गोजमुमो त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 9 अक्टोबर। कालेबुङ जिल्लाको माग दिन दिनै चर्किन्दै गइरहेको छ। यसैक्रममा कालेबुङ महकुमालाई छुट्टै जिल्ला बनाउनुपर्ने मागमा गोजमुमो पार्टीबाट राजीनामा दिएका पासाङ तामाङको नेतृत्वमा आज शहरमा एउटा जुलुस निकालिएको थियो। यहाँको टाउन हल परिसरबाट सुरु भएको उक्त जुलुसले छुट्टै जिल्लाको नाराबाजी सितै शहर परिक्रमा गरेको थियो।
“कालेबुङ जिल्ला चाहिन्छ, पासाङ तामाङ जिन्दावाद ! आदिको नाराबाजीसितै उक्त जुलुसले यहाँको मेन रोड, डम्बर चौक, दशमाइल फाटक, आरसी मिन्त्री रोड हुँदै शहर परिक्रमा गरिसकेपछि पुन: टाउनहल परिसरमा पुगेर पथसभामा परिणत भएको थियो। यस अवसरमा उक्त पथसभालाई लेसली जोन च्याटर, बिना अधिकारी, राम गुरुङ, लिला शर्मा, आदिले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्ने क्रममा गोजमुमो पार्टीबाट राजीनामा दिएका पासाङ तामाङले आफूहरु केवल कालेबुङलाई छुट्टै जिल्ला बनाउनको निम्ति अघि आएको बताउँदै कसैलाई टिप्पणी नगर्ने जनाएका छन्। उनले भविष्यमा छुट्टै जिल्लाको निम्ति अझ जोडले प्रचार गर्ने बताउँदै जिल्ला गठन भए सबैलाई सुविधा हुने दाबी गरेका छन्।

कालेबुङ 9 अक्टोबर। अर्कोतिर गोर्खा जनमुक्ति मोर्चा पार्टी त्यागेर तृणमूल पार्टीमा सामेल हुने क्रम जारी रहेको छ। यसैक्रममा 40 नम्बर समष्टि अन्तर्गत तन्द्राबुङ अनि मैरुङ क्षेत्रका मोठ 50 घर गोजमुमो समर्थकहरु तृणमूल कङ्ग्रेस पार्टीमा सामेल भएको हिल तृणमूल जिल्ला सचिव छेवाङ भोटियाले दाबी गरेका छन्। गोर्खा जनमुक्ति मोर्चा कालेबुङ खण्ड दुईका उपाध्यक्ष तेञ्जी भोटियाको नेतृत्वमा उक्त सम्पूर्ण मोर्चा समर्थकहरू तृणमूल कङ्ग्रेसमा सामेल भएको भोटियाले बताएका छन्।
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले क्षेत्रलाई अवहेलना गरेर बिकास कार्यहरूबाट वञ्चित राखेको कारण नै आफूहरू तृणमूल कङ्ग्रेसमा सामेल भएको भोटियाले जानकरी गराएका हुन्। ग्रामीण क्षेत्रका मानिसहरू बिकास कार्यबाट बञ्चित रहेको कारण आखिरमा उनीहरू तृणमूल कङ्ग्रेसमा जान परेको उनीहरूको भनाई रहेको छ। आफूहरूलाई बारम्बार छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा मोर्चाले ढाँट्को राजनीति गरेको आरोप लगाउँदै क्षेत्रको विकासकै निम्ति आफूहरू आखिरमा तृणमूल पार्टीमा सामेल भएको उनीहरूले अझ जनाएका छन्। यसरी गोजमुमो पार्टी त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएकाहरूलाई छेवाङ भोटियाले पार्टीको झण्डा प्रदान गरेका थिए।
यसैक्रममा तृणमूल कङ्ग्रेसका नेता छेवाङ भोटियाले मानिसहरू गोर्खा जनमुक्ति मोर्चाको ढाँट्को राजनीतिबाट दिक्क भएको कारण अहिलेघरी तृणमूल कङ्ग्रेसमा सामेल भइरहेको बताएका छन्। “गोर्खा जनमुक्ति मोर्चाबाट निराश बनेकाहरू अहिले तृणमूल कङ्ग्रेसमा सामेल हुनेक्रम जारी रहेको छ। मोर्चाले जनतालाई बारम्बार ढाँटिरहेको कारण नै उनीहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका हुन्” छेवाङ भोटियाले भने।
तृणमूल कङ्ग्रेसले ढाँटको राजनीति कहिल्यै नगर्ने गरेको दाबी गर्दै आफूहरूले बिकास कार्यमा नै प्रमुखता दिने गरेको दाबी गरे। यसैक्रममा मोर्चाले बारम्बार भाईभतिजावाद गरेको दाबी गरेको दाबी गर्दै आफूहरूले जनताको समस्यालाई जहिले पनि प्रमुखता दिने गरेको बताए। उनले आगामी दिनहरूमा मोर्चा त्यागेर अझ धेरै मानिसहरू तृणमूल कङ्ग्रेसमा सामेल हुने दाबी गर्दै केहि दिन अघि मात्र मन्सोङ सिन्कोना कमानको ब्यारेक धुराबाट 50 घर भन्दा अधिक मोर्चा समर्थकहरू तृणमूल कङ्ग्रेसमा सामेल भएको दाबी गरेका छन्।

0 Response to "छुट्टै जिल्लाको मागमा कालेबुङमा निकालियो जुलुस... गोजमुमो त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.