-->
पार्टीको आदेशलाई पालन गरेन डा. हर्कबहादुर छेत्रीले ......बिधायक होइन गोजमुमोबाटै दिए राजीनामा

पार्टीको आदेशलाई पालन गरेन डा. हर्कबहादुर छेत्रीले ......बिधायक होइन गोजमुमोबाटै दिए राजीनामा

विशेष प्रतिनिधी, क़ालिमन्युज, कालेबुङ, 15 सितम्बर। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले तीनजना विधायकहरूलाई सहमतिमा नलिइ विधानसभाबाट राजीनामा दिनुपर्ने गरेको घोषणा मोर्चा आफैलाई घातक प्रमाणित भएको छ। कालेबुङका विधायक एवं गोजमुमो केन्द्रीय प्रवक्ता डा. हर्कबहादुर छेत्रीले विधानसभाबाट राजीनामा दिनको साटो उल्टा आज आफ्नै पार्टी गोजमुमोबाट राजीनामा दिएपछि मोर्चाको निर्णय आफैलाई घातक सिद्ध बनेको प्रमाणित भएको छ। 
छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउन तीनजना विधायकहरूले विधानसभाबाट राजीनामा दिनुपर्ने मोर्चाले आधिकारिक वयान जारी गरेको थियो। विधायकवर्गले विधानसभाबाट राजीनामा दिनुपर्ने मोर्चाले जारी गरेको आधिकारिक वयानमा मोर्चाले तीनजना विधायकहरूको सहमती भने नलिएको पछिबाट पुष्टि भएको हो। जसको कारण कालेबुङका विधायक पार्टीप्रति रूष्ट बनेका थिए। प्रजातन्त्रिक पार्टीमा कुनै निर्णय लिन अघि सहमती बनाउन आवश्यक हुँदा हुँदै गोजमुमो पार्टीले यसरी राजीनामाको निर्णय विधायकहरूकओ अनुपस्थितिमा लिएको सन्दर्भमा पार्टीभित्रको अप्रजातान्त्रिक अनि हैकवादी नीतिको पनि पोल खोलेको छ। जसको कारण विधायक डा. हर्कबहादुर छेत्रीले पार्टीको उक्त हैकमवादी निर्णयको विरोधमा उल्टा पार्टीबाटै राजीनामा दिएर मोर्चालाई नै गतिलो चुनौति दिएका छन्। जुन चुनौति भविष्यमा मोर्चाको निम्ति अझ घातक प्रमाणित हुनसक्ने व्यापक सम्भावना रहेको छ। 
 ‘हामी काठको टेबल कुर्सी त होइनौँ। जसलाई जता सार्दा पनि चुपचाप सर्छ’ – डा हर्कबहादुर छेत्रीले राजीनामा सम्बन्धि आफूहरूको परामर्श नलिइ निर्णय गरेकोमा चरम असन्तुष्टि व्यक्त गर्दै अघिबाटै भनेका थिए। यस्तो अवस्थामा तिनले पत्रकारहरूलाई 18 सितम्बरको दिन निर्दिष्ट निर्णय लिने तर उक्त निर्णय के हुन् भने खुलासा भने गरेका थिएनन्। जसको कारण आज विधायक डा. हर्कबहादुर छेत्रीले के निर्णय लिने हुन् भन्ने सबैको जिज्ञासा रहेको थियो। सोही क्रममा पार्टीले निर्धारित गरेको राजीनामा बुझाउन आज डा. छेत्री कोलकोता पुगेका थिए। तर, कोलकोता पुगेर उनले विधायकबाट राजीनामा दिनको साटो उल्टै गोजमुमो पार्टीबाटै राजीनामा दिएर पार्टीको आदेशलाई ठाडै चुनौति दिएका छन्। 
डा. छेत्रीले पार्टीबाट राजीनामा दिएको खबर चारैतिर ढडेलो झैँ सल्केपछि राजीनामाको आदेश जारी गर्ने मोर्चा भित्रै चर्चाको केन्द्र बन्यो। यस्तो अवस्थामा गोजमुमो कालेबुङ महकुमा समितिले त झनै आपत्कालिन बैठक नै डाकेको थियो। यद्यपी उक्त बैठकमा के चर्चा भयो भन्ने कुरा भने सार्वजनिक भएन। यता विधायक डा. हर्कबहादुर छेत्रीले पार्टीबाट राजीनामा दिएको सन्दर्भमा जान्न चाहँदा उनीसँग सम्पर्क नै हुन सकेन। 
यद्यपी उनले पार्टीबाट राजीनामा दिएको उनका नजिकका सुत्रले नाउँ नबताउँने सर्तमा पुष्टि गरेका छन्। ‘डा. हर्कबहादुर छेत्री अहिले कोलकोतामा छन्। उनले आज पार्टीबाट राजीनामा दिएका हुन्” – सुत्रले पुष्टि गर्दै भने। यसभन्दा धेर अहिले केही भन्न नमिल्ने अनि पछिबाट उनलाई नै सोधे असल हुने पनि सुत्रले बताएको छ। 
अब के गर्ने हुन् डा. हर्कबहादुर छेत्रीले ? यता डा. हर्कबहादुर छेत्रीले गोजमुमो पार्टीबाट राजीनामा दिएपछि राजनैतिक शिविरमा अनेकौँ अटकलबाजी सुरु भएको छ। अघिबाटै ‘अब लेखनमा फर्कन्छु’ भन्ने डा. छेत्रीले पार्टीबाट राजीनामा दिएको कारण के साँच्चै उनी लेखनमा फर्कने हुन् ? भन्ने प्रश्न पनि यतिखेर टड्कारो बनेको छ। तर, उनले अझपनि विधायकबाट राजीनामा नदिएको कारण भने उनी लेखनको क्षेत्रमा फर्कने सम्भावना न्यून रहेको छ। 
“कि म लेखनमा फर्कन्छु। कि त गुरुबाबु बनेर नानीहरू पढाउनु जानेछु अथवा सक्रिय राजनीतिमा बसेर नै जनताको निम्ति काम गर्नेछु” – डा हर्कबहादुर छेत्रीले तीन दिन अघि मात्र भनेका थिए। यदि उनको पार्टीबाटको राजीनामा अनि विधायकमा बसिरहनुको अवस्थालाई हेर्नु अनि तिनकै बयानसँग तुलना गर्नु हो भनि अहिले उनी सक्रिय राजनीतिमा नै बस्ने छाँट स्पष्ट बनेको छ। उनले बिधायकबाट राजीनामा नदिनुको कार्यले नै उनी चाँढै पुरानो गुरूबाबुको पेशा अथवा लेखनको क्षेत्रमा फर्कने छाँट देखा नपर्नु हो। त्यसो भने उनी सक्रिय राजनीतिमा कुन दलका भएर मैदानमा ओर्लने हुन् ? भन्ने प्रश्नले यत्तिखेर सबैलाई सताएको छ। 
मुख्यमन्त्री ममता ब्यानर्जीसँग व्यक्तिगत रूपले राम्रो सम्बन्ध भएका डा. छेत्रीले तृणमूल कङ्ग्रेस पार्टी सम्हाल्ने हुन् ? भन्ने प्रश्न नै मानिसहरूले धेर अहिलेघरी गरिरहेका छन् भने अहिले नै उनी तृणमूल कङ्ग्रेसमा जाने पनि सम्भावना अत्यन्तै कम्ति रहेको छ। छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई ठाडै बिरोध गर्ने तृणमूल कङ्ग्रेसमा यदि सामेल भए जनताले उनलाई स्वीकार गर्ने सम्भावना धेरै कम्ति रहेको छ। जुन कुरालाई डा. छेत्रीले राम्रोसँग निर्क्योल गरेका छन्। यस्तो अवस्थामा अहिलेलाई डा. हर्कबहादुर आफैले उठान गर्दै आएको कालेबुङलाई छुट्टै जिल्ला घोषित गर्नुपर्छ भन्ने मुद्दा नै उनलाई सक्रिय राजनीतिमा तानेर राख्ने सर्वोत्तम बिकल्प बन्न सक्नेछ। 
‘मुख्यमन्त्री कालेबुङ आएको मौकामा मैले भेटेर कालेबुङलाई छुट्टै जिल्ला बनाउनुपर्छ भन्ने माग दोहोर्‍याए” – डा हर्कबहादुर छेत्रीले तीन दिन अघि भनेका थिए। कालेबुङलाई जिल्ला बनाउनु पर्छ भन्ने उनले उठान गरेको मुद्दालाई अधिकत्तर कालेबुङका मानिसहरू समर्थन गरिरहेका छन्। जुन मुद्दालाई बोकेर भविष्यका दिनहरूमा उनले आफैलाई राजनैतिक शिविरमा सक्रिय राख्ने निश्चित बनेको छ। यस सन्दर्भमा पनि उनले उठान गरेको जिल्लाको मागलाई डा. हर्कबहादुर एक्लैले अघि बढाउन निकै कठिन भएको कारण उनले नयाँ राजनैतिक दल नै गठन गर्ने हुन् कि ! भन्ने प्रश्न पनि अहिलेघरी चर्चाको केन्द्रबिन्दु बनेको छ। जुन प्रश्नको जवाब भविष्यले नै दिनेछ।
Also published at http://kalimpongonlinenews.blogspot.in/2015/09/blog-post_18.html  and http://kalimpongnews.net/2015/09/18/%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%86%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%A8-%E0%A4%97%E0%A4%B0/

Related Posts

0 Response to "पार्टीको आदेशलाई पालन गरेन डा. हर्कबहादुर छेत्रीले ......बिधायक होइन गोजमुमोबाटै दिए राजीनामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.