-->
पैह्रोको चपेटमा परेर धेरै गाउँहरू बन्यो ‘कालापानी’

पैह्रोको चपेटमा परेर धेरै गाउँहरू बन्यो ‘कालापानी’

डी.के वाइबा, कालिमन्युज, दनन्दिनी समाचार, कालेबुङ 4 जुलाई। गत 30 जुनको राती परेको अविरल वर्षाको कारण धेरै गाउँहरूमा सडक सम्पर्क विच्छिन्न बनेपछि ‘काला पानी’ नै बनेको छ। रातभरीको अविरल वर्षाको कारण ग्रामीण स्तरको सडकहरू ठाउँ ठाउँमा भत्केको छ। जसले गर्दा ग्रामीण क्षेत्रका मानिसहरूले हुनसम्मको दु:ख झेल्न परिरहेका छन्। 
ठाउँ-ठाउँमा पैह्रो गएर ग्रामीण क्षेत्रका मानिसहरूले हुनसम्मको दु:ख झेल्न परेपछि आज ‘दैनन्दिनी समाचार’ का प्रतिनिधी टोलीले यहाँको बोङ ग्राम पञ्चायत अन्तर्गत रहेका लोवर सालेम्बुङ, अप्पर सालेम्बुङ, देवराली, मिडल बोङ बस्ती, कम्सी, बोङ चर्च आदि क्षेत्रहरूको स्थलगत भ्रमण गरेको थियो। जहाँ पैह्रोको कारण सम्पूर्ण सडक मार्ग भत्केर यातायात सेवा ठप्प रहेको छ भने स्थानीय मानिसहरू सडक सम्पर्क टुटेपछि पैदल यात्रा गरेर नै शहर धाउन परिरहेका छन्। 
विशेष गरेर उक्त क्षेत्रबाट कालेबुङ शहर संलग्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीवर्ग विद्यालयमा अध्ययनका निम्ति सधैँ आउने वाहनहरू सडकमा गुड्न नसक्दा निर्धारित समय भन्दा अघि नै खाता किताब च्यापेर बिद्यालय धाउन परेको छ भने स-साना विद्यार्थीवर्गलाई विद्यालय पठाउन अभिभावकवर्ग चिन्तित बनिरहेका छन्। पैह्रोले बाटोमा रहेका पूलहरू चुँडाएर लगेको कारण अनि जतातै सडकहरूमा खोला बगिरहेको अवस्थाले स्थानीय ग्रामवासीहरू आफ्ना नानीहरूलाई स्कूल पठाउन समेत चिन्ता गरेको हो। अविरल वर्षाले क्षेत्रका सडकमार्ग विच्छिन्न बन्नको साथै स्थानीय मानिसहरूको घर, जमीन एवं अन्नबालीको व्यापक नोक्सानी भएको छ।
पैह्रोको कारण केही परिवार बेघर बनेका छन् भने केही परिवारहरू त्रासदीपूर्ण जीवन बिताइरहेका छन्। यस्तोमा बोङ्ग ग्राम पञ्चायत अन्तर्गत पर्ने लोवर सालेम्बुङ, अप्पर सालेम्बुङ, देवराली, मिडल बोङ बस्ती, कम्सी, बोङ चर्च आदि क्षेत्रका सैयौँ रिवारहरू पैह्रोको प्रकोपको कारण प्रभावित छन्। ‘दैनन्दिनी समाचार’ का प्रतिनिधी टोलीले उक्त क्षेत्रको स्थलगत भ्रमण गर्दा अविरल वर्षाले कतिपय मानिसहरूको घर, गाईगोठ, कुखुरा-सुँगुरको खोर, खेतीबारी सबै बगाएर तहस-नहस पारेको देखियो।
पैह्रोले यातायात सेवा ठप्प बनेपछि विद्यार्थीवर्ग सँगै बिरामीवर्गले पनि समस्या भोग्न परिरहेको छ। आपतकालिन अवस्थामा कसैलाई तत्काल उपचारको निम्ति अस्पताल ल्याउन परे अहिलेघरी बोकेर नै ल्याउन पर्ने स्थितिले उक्त क्षेत्रका सम्पूर्ण ग्रामवासी पिरोलिएका छन्। उक्त क्षेत्रको स्थलगत भ्रमणमा जाँदा सर्वप्रथम यहाँको गोकूले नजिक एउटा पूल पैहोले भत्काए पछि उक्त सडक मार्ग भएर यात्रा गर्नेहरू समस्यामा परेका छन्। ठिक त्यहीँ पूलको अझ केही तलतिर ठूलो पैह्रो जाँदा सम्पूर्ण सडक नै चुँडीएर गएको छ। जुन पैह्रोले लगेको बाटो तत्काल बनिने सम्भावना पनि देखिँदैन।
उक्त दुवैवटा पूल भत्केपछि कालेबुङ शहर देखि लोवर गोकूले, देवराली, लोवर कम्सी आदिको सम्पर्क पूर्णरूपले विच्छिन्न बनेको छ। यसका साथै उक्त स्थान बाहेक पनि लोवर कम्सी जाने सडकमा माथीबाट झरेको ठूल-ठूला पैह्रोहरूले सडक सबै भत्काएको छ। जसले गर्दा उक्त क्षेत्रमा रहेको वाहनहरू पनि सबै थुना परेको छ। यता मिडल बमबस्ती नजिक रूङदुङ झोडाले पनि सडकलाई आधा नै चुँडाएर लगेको छ भने झोडा नजिकमा पैह्रो जाँदा सम्पूर्ण गाउँ नै प्रभावित बनेको छ।
अर्कोतिर रूङदुङ झोडाको केही टाडामा अवस्थित लोवर सालेम्बुङको एउटा खोला ओर्लेर आए पछि सम्पूर्ण सडकलाई चुँडाएर लगेको छ भने सडकमा अहिलेघरी खोला बगीरहेको छ। यसका साथै उक्त खोलाले अझ माथीबाट ठूल-ठूल ढुँगा बगाएर बाटोमा थुपार्ने कार्य जारी राखेको छ। ‘‘दैनन्दिनी समाचार’ का प्रतिनिधी टोली क्षेत्रको स्थलगत भ्रमणमा पुग्दा कसै पैह्रो सोहर्न व्यस्त रहेका थिए भने कोही अस्थायी वसोवासका निम्ति डेरा बनाउँनमा व्यस्त रहेका थिए। यसैक्रममा ठाउँ-ठाउँमा गाउँलेहरू मिलेर यातायात सुचारू गर्नका निम्ति बाटोमा झरेको पैह्रोहरूलाई पन्साउन कार्यमा व्यस्त रहेका पनि देखिन्थे। 
यसैक्रममा देवराली निवासी अन्माला राईले पैह्रो गएपछि सम्पूर्ण सडकमार्ग भत्केको कारण गाउँवासीले धेरै धु:ख भोग्न परिरहेको बताए। “रातभरी पानी परेपछि पैह्रोले सडक बगाएको छ। घरहरू गाउँमा भत्केको छ। गाडी जाने बाटो छैन। नानीहरूलाई स्कूल पठाउनु पह्रोले पुर्छ कि ! भन्ने डर छ। अहिले सबै गाउँ नै कालापानी बनेको छ” देवराली निवासी अनमाला राईले बताइन्। यसरी नै लोवर देवराली निवासी साइमन लेप्चाले पनि अविरल वर्षाले सडक बगाएको कारण सबैभन्दा धेर समस्या सिर्जना भएको बताएका छन्। उक्त प्राकृतिक प्रकोपले पुर्‍याएको क्षतिलाई मध्यनजर राखेर सरकारले यथाशिघ्र पहल गर्नुपर्ने बताउँदै सबैभन्दा पहिला सडक निर्माण गरेर यातायात सुचारू गर्न आवश्यक रहेको तिनले बताएका छन्। 
पैह्रोको कारण स्थानीय प्रेमकुमार छेत्री, कालु थापा, जितु लेप्चा, दलबहादुर तामाङ आदिको घर पूर्ण रूपमा प्रभावित छ। ‘हाम्रो प्रजाशक्ति’ अनि ‘दैनन्दिनी समाचार’ का पत्रकारहरूको टोली क्षेत्रको स्थलगत भ्रमणमा पुग्दा स्थानीय मानिसहरू विभागीय अधिकारी अथवा जनप्रतिनिधी आएझैँ खुशी भएका थिए। उनीहरूले आफ्नो भत्केको घर, गाइगोठ, खेतीबारी, कुखुराको खोर सबै देखाउँदै पैह्रोले पुर्‍याएको क्षतिबारे भटाभट बखान गरिरहेका थिए।
“देवराली, सालेम्बुङ, कम्सी, मिडल बोङ बस्ती सबै कृषी प्रदान क्षेत्र हो। यहाँका सबै मानिसहरू नै कृषीमा निर्भर छन्। तर यो वर्षाले अहिले खेतबारीमा राखेको धानको बिँड सबै सखाप पारेको छ। खेतबारी पैह्रोले सोह्रोरेर लगेको छ” स्थानीय बासिन्दा लवन लेप्चाले भने। वर्षाले अत्याधिक बिगार गरेको कारण यसवर्ष खेतबारीमा खेती गर्न सक्ने सम्भावना समेत धेरै कम्ति रहेको बताउँदै सरकारले सबै कृषकवर्गलाई उचित क्षतिपुर्ती दिनपर्ने पनि उनले बताएका छन्।
यसरी नै मिडल बोङ बस्तीका प्रेमकुमार छेत्रीले पनि पैह्रोले भत्काएको घर देखाउँदै पञ्चायतबाट तारपोलिन दिएर फोटो खिचि लगेको जानकारी दिए। उनले आफ्नो सुन्तलाबारी पैह्रोले लगेको देखाउँदै अलैँचीबारीको कुनै नामोनिसान नरहेको ठाउँहरू देखाए। यस समय आफ्नो घर अनि जमिन पैह्रोले सोह्रेर लगेपछि उनीहरूका अनुहारभरी नैराश्यका धर्साहरू स्पष्ट देखिन्थे। “हामी सुतीरहेका थियौँ। अचानक डङ..ङ.. पट्केको आवाज आयो। उठेर हेर्दा घरको आगँनबाटै पैह्रो गएछ। यसरी पैह्रोले घरको आँगन झर्दा घर पनि चर्केको छ” कालु थापाले बिलौन गर्दै भने। 
उनको घर मुनीबाट गएको ठूलो पैह्रोले त्रासको लहर छाएको छ भने अझ पानी परे पैह्रो जाने उत्तिकै सम्भावना रहेको छ। पैह्रो गएको समय घरमा पाँचजना सुतीरहेको बताउँदै आफूहरू भने भाग्यले बाँचेको तिनले बताए। हाल पञ्चायतबाट पैह्रो ढाक्न तारपोलिन प्राप्त भएको बताउँदै घर नजिकै अस्थायी डेरा बनाएर बसाइ सरेको तिनले अझ बताएका छन। 
अर्कोतर्फ यहाँको मिडल बोङ बस्ती निवासी दलबहादुर तामाङको घरलाई माथीबाट आएको पैह्रोले अधिकांश पुरेको छ। रातीको समय आएको पैह्रोले सोझै घरलाई धक्का दिए पनि घरभित्र सुतीरहेका चारजना सदस्यहरू भने भाग्यले बाँचेका छन्। उनको निर्माणाधीन नयाँ घरलाई पनि पैह्रोले क्षतिग्रस्त पारिदिएको छ भने गाईगोठ पुरिदिएको छ। “राती पैह्रो आएर घरलाई हिर्काएपछि म ब्यूँझिए। त्यसपछि हतारसँग श्रीमती र नानीहरूलाई घरबाट निकालेर सुरक्षित स्थानमा सारे। केही समान निकाल्न पायौँ धेर जसो पुरिएको छ” दलबहादुर तामाङले आफ्नो पैह्रोले पुरिएको घरलाई हेर्दै भने। 
“घरका सदस्यहरू निकालेर सुरक्षित भएपछि गाईको याद आयो। त्यसपछि गोठमा जाँदा गोठ पैह्रोले पुरिसकेको थियो। दुईवटा ठूल-ठूला गाई पुरिने अवस्थामा देखेपछि गाईलाई पनि निकाले” तिनले आफ्नो दुना गाई बचाउन सकेकोमा सन्तुष्टिको श्वास फेर्दै भने।

Related Posts

0 Response to "पैह्रोको चपेटमा परेर धेरै गाउँहरू बन्यो ‘कालापानी’"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.