१२ औँ भाइचन्द प्रधान पुरस्कारले कवि भूपेन्द्र सुब्बा पुरस्कृत पुरस्कारले समाजिक-साहित्यिक उत्तरदायित्व बढेको छ – सुब्बा
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 13 जुलाई। ‘भाइचन्द प्रधान स्मृति पुरस्कार’-ले मलाई लेख्ने ऊर्जा प्राप्त हुनाका साथै लेखनमा मेरो जिम्मेवारी पनि बढेको छ। कम्ती कविता लेख्ने मलाई अब यस पुरस्कारले निकै ठूलो चुनौती दिएको छ। मेरो काँधमा यस पुरस्कारले सामाजिक-साहित्यिक उत्तरदायित्व बढेको बोध गरेको छु। यसकारण भविष्यमा तपाईंहरूले दिनुभएको जिम्मेवारीलाई इमानदारीसँग वहन गर्नेछु भन्ने पनि मलाई लागेको छ” – उक्त कुरा कवि भूपेन्द्र सुब्बाले भनेका हुन्।
कवि सुब्बालाई आज यहाँको टाउन हलमा आयोजित २०१ औँ भानुजयन्ती समारोहको अवसरमा नेपाली साहित्य अध्ययन समितिले १२औँ भाइचन्द प्रधान स्मृति पुरस्कारले सम्मानित गरेको थियो। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित सिक्किम सरकारका पूर्व निर्देशक डा. शान्ति छेत्रीको बाहुलीबाट कवि भूपेन्द्र सुब्बालाई दोसल्ला ओढाएपछि नगद राशीसहित स्मृति पत्र प्रदान गरिएको थियो भने भाइचन्द प्रधानकी पत्नी श्रीमती सानुमती राईको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरी १२ औँ भाइचन्द प्रधान स्मृति पुरस्कारले सम्मानित गरिएको थियो।
कार्यक्रममा भाइचन्द प्रधान स्मृति पुरस्कारले सम्मानित कवि भूपेन्द्र सुब्बाले सम्बोधन गर्दै आफूलाई कालेबुङवासीले माया गरेर यति गौरवमय पुरस्कार प्रदान गरी थप जिम्मेवारी बोध गराएको बताए। यसका निम्ति सम्पूर्ण कालेबुङवासीप्रति आभार प्रकट गर्दै आयोजक समितिप्रति कृतज्ञता चढाए।
“तपाईंहरूले मलाई जुन प्रकारले भरोसा गर्नुभएको छ त्यस भरोसालाई पुरा गर्ने सक्दो प्रयास गर्नेछु। भविष्यमा ममाथि राख्नुभएको आशालाई मुर्झाउन दिनेछैन”- कवि सुब्बाले भने।
“कवितालाई विभिन्न समयमा विभिन्न प्रकारका परिभाषाले परिभाषित गर्ने कार्य गरेको छ। मैले बुझेको कविता मेरो समयको बुझाइ हो” कवि सुब्बाले कविताको सन्दर्भमा चर्चा गर्दै भने। यसै क्रममा उनले आफ्ना कविताहरूले समाजसँग संवाद गर्ने प्रयास गरेको बताउँदै समयको बुझाइलाई नै कवितामा लेख्ने गरेको पनि भूपेन्द्र सुब्बाले बताए।
“मैले सोझै समाज र यस समयका मानिसहरूसँग कविताको माध्यमबाट संवाद गर्नुपर्छ भन्ने लाग्छ। यसैकारण सामाजिक समस्याका विषयमा राम्रो कविता लेख्न पाएँ आफैलाई सन्तुष्टि लाग्ने गर्छ” कवि भूपेन्द्र सुब्बाले भने।
उनले भाइचन्द पुरस्कारले पुरस्कृत भएपछि सम्पूर्ण कालेबुङवासीप्रति आभार व्यक्त गर्दै आफ्ना कृति ‘बजिया आँखाहरू’ प्रकाशित गर्नमा प्रोत्साहित गर्ने युवा कवि टिका ‘भाइ’ अनि मानवी प्रकाशनप्रति पनि आभार प्रकट गरे। मानवी प्रकाशनले उक्त कृति प्रकाशित गरेकै कारण आज आफू पुरस्कृत हुन सकेको बताउँदै प्रकाशन परिवारप्रति विशेष कृतज्ञता अर्पण गरे।
0 Response to "१२ औँ भाइचन्द प्रधान पुरस्कारले कवि भूपेन्द्र सुब्बा पुरस्कृत पुरस्कारले समाजिक-साहित्यिक उत्तरदायित्व बढेको छ – सुब्बा"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.