भानुजयन्ती अवसरमा सिलगडीमा अन्तरक्रिया कार्यक्रम समपन्न
डी के वाइबा, कालिमन्युज, सिलगढी १३ जुलाई । नेपाली साहित्य संस्थान, सिलगढीको आयोजनामा स्थानीय आई. बी. थापा विद्यालयमा २०१ औँ भानुजयन्ती एवं सिर्जना र सम्वार्ता कार्यक्रम सम्पन्न भयो। बिर्ख खड्का डुवर्सेलीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कथाकार सञ्जय विष्टको ‘जुनजस्तै घाम’ अनि गीतकार पुष्कर पराजुलीको ‘कहाँ पर्यो चौतारी’ कृतिमाथि परिचर्चा सम्पन्न भएको थियो।
ज्ञानेन्द्र यक्सोद्वारा सञ्चालित कार्यक्रममा संस्थाका अध्यक्षा रेमीका थापाले स्वागत सम्बोधन राखेकी थिइन्। यस अवसरमा प्राध्यापक डा. घनश्याम नेपालले आदिकवि भानुभक्तमाथि आफ्नो विचार राख्दै नेपाली समाजमा भानुभक्ता संकेतका रूपमा रूपान्तरित भइसकेको जानकारी गराए।
“भानुभक्त अहिले संकेत भएका छन्। राजनैतिक दलहरूले राजनैतिक पुँजीका रूपमा प्रयोग भानुभक्त र उनका कीर्तिलाई प्रयोग गर्छन्। कतै परिचयका रूपमा त कतै अस्तित्वका रूपमा पनि भानुभक्तको प्रयोग संकेत बनेर रूपान्तरित बनिरहेको छ” डा. घनश्याम नेपालले भने।
यसै क्रममा उनले भानु जयन्ती सबैका निम्ति एउटा विशेष अवकाश रहेको बताउँदै यसै दिन सिकारुहरूले कविता भन्ने, नाटक गर्ने, कार्यक्रम सञ्चालन गर्ने आदि अवकाश पाउने गरेको बताए। कार्यक्रममा समालोचक सपन प्रधान अनि कवि-समालोचक वासुदेव पुलामीले क्रमशः कथाकार सञ्जय विष्ट अनि गीतकार पुष्कर पराजुली नवीनतम कृतिमा पाठकीय विचार प्रस्तुत गरे।
कार्यक्रममा कथाकार सञ्जय विष्टले आफ्ना कृति ‘जुनजस्तै घाम’-माथि चर्चा गर्दै आफ्नो कथालेखनबारे जानकारी गराए। “ कथालाई विषयको तुलनामा त्यसको रूपविन्यासले बचाएर राख्ने हुँदा आफूलाई सिर्जनात्मक लेखकहरूले सिर्जनामा विषयभन्दा रूपविन्यासमा बढी ध्यान दिनुपर्ने लागेको बताए। कहिले कहीँ आफैलाई ‘लेख्न सकेँ’ लागेको कथाले पाठकहरूलाई नछोएको अनि आफूलाई सामान्य लागेका कथाहरू भने पाठकहरूले बढी रुचाउने हुँदा स्रष्टाले आफ्ना रचनाहरूबारे केही भन्न कठिन हुने बताए। सिर्जनाको मूल्याङ्कन पाठकहरूको रुचिअनुरूप हुनेगरेको देखिएको पनि उनले बताए।
उनले सम्बोधनको क्रममा साहित्य एउटा कला र साहित्यकार एकजना कलाकार रहेको बताउँदै कलाकारको धर्म कलाको सिर्जना हो र स्रष्टा अर्थात् साहित्यकारहरूले नेता र लोक नेताले जस्तो समाजलाई उपदेश दिने मूल उद्देश्य नलिए पनि हुने उनले बताए। अर्कोतर्फ कार्यक्रममा गीतकार पुष्कर पराजुलीले सम्बोधन गर्दै आधुनिक गीतका सन्दर्भमा चर्चा गरे।
कार्यक्रमको दोस्रो चरणमा कथाकार सञ्जय विष्टको ‘जुनजस्तै घाम’ अनि गीतकार पुष्कर पराजुलीको ‘कहाँ पर्यो चौतारी’ कृतिमाथि अन्तरक्रिया सम्पन्न भएको थियो। अन्तर्क्रिया कार्यक्रमको मध्यस्थता कवि-समालोचक सुधीर छेत्रीले गरेका थिए। कार्यक्रममा उपस्थित सबैले अन्तरक्रियामा भाग लिँदै पुस्तकमाथि व्यापक चर्चा गरे।
कार्यक्रममा उपस्थित रहेका प्राध्यापक, लेखक, विद्यार्थीहरूले कथाकार विष्टको ‘जुनजस्तै घाम’ अनि पुष्कर पराजुलीको “कहाँ पर्यो चौतारी’ -मा प्रयुक्त भाषा, शैली, रचना प्रक्रिया, अवलम्बित सिद्धान्त आदि सन्दर्भमा प्रश्नहरू उठाएका थिए। जसको उत्तर कथाकार अनि गीतकार दुवैले सहजतापूर्वक दिए।
0 Response to "भानुजयन्ती अवसरमा सिलगडीमा अन्तरक्रिया कार्यक्रम समपन्न"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.