-->
सीबीआईको चार्जसिटले कतै खुशी कतै त्रास ......  कानुन प्रक्रिया प्रति हामीलाई विश्वास जागेको छ – प्रताप खाती

सीबीआईको चार्जसिटले कतै खुशी कतै त्रास ...... कानुन प्रक्रिया प्रति हामीलाई विश्वास जागेको छ – प्रताप खाती

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 30 मई। अखिल भारतीय गोर्खालिग पार्टीका नेता मदन तामाङ हत्याकाण्डको आरोपमा मोर्चाको शिर्ष नेतृत्वहरू विरूद्ध सीबीआईले चार्जसिट दर्ता गरे पछि राजनैतिक शिविरमा यो चर्चाको विषय बनेको छ। विभिन्न समाचार पत्रहरूमा मदन तामाङ हत्याकाण्डबारे सीबीआईले चार्जसिट दर्ता गरेको समाचार प्रकाशित भएपछि आज दिनभरी नै मानिसहरू यसैविषयमा चर्चा गरिरहेका थिए। 
उक्त चार्जसिट दर्ता भएपछि यता अखिल भारतीय गोर्खा पार्टीभित्र खुशीको लहर छाएको छ भने उनीहरू न्याय प्राप्तिको निम्ति एक कदम अघि बढ्न सकेको महसुस गरिरहेका छन। अर्कोतिर सोही चार्जसिट दर्ताको घटनाले गोजमुमो पार्टी शिविरमा भने त्रासको लहर छाएको छ। किन भने मोर्चा अध्यक्ष बिमल गुरूङ लगायत अन्य शिर्षस्थ नेताहरूको नाउँ चार्जसिटमा उल्लेख भएको कारण पार्टी शिविरमा त्रासको लहर छाएको हो।
यता उक्त चार्जसिट दर्ता भएपछि अभागोली महासचिव प्रताप खातीले एक पत्रकार सम्मेलन डाकेर चार्ज सिट दर्ता गरेको घटनाले आफूहरूलाई न्याय प्रक्रिया प्रति आस्था जागेको बताए। “मदन तामङको हत्या भएको यति वर्षसम्म आरोपीहरू विरूद्ध चार्जसिट समेत दर्ता नगर्दा हामी निराश बनेका थियौँ। न्याय प्रक्रिया प्रति हाम्रो आस्था दिन दिनै हराउँदै गएको थियो। यस्तो अवस्थामा मोर्चाका शिर्ष नेताहरूको नाउँमा चार्जसिट दर्ता हुँदा हामीलाई न्याय पाउने आशा जागेको छ” अभागोली महासचिव प्रताप खातीले भने। हत्याकाण्डको पाँचवर्ष बित्दा समेत कुनै आरोपीहरूलाई कार्वाही नगर्दा दार्जीलिङ पहाडमा भारतको कानून व्यवस्था नभएको जस्तै लाग्ने गरेको बताउँदै चार्जसिट दर्ता पछि भने आफूहरूलाई भारतको कानूनप्रति विश्वास जागेको खातीले अझ बताए।
यसक्रममा बोल्दै उनले मदन तामाङ हत्याकाण्डमा सीबीआईले प्रमाणहरू प्राप्त गरेकै कारण चार्जसिट दर्ता गरेको हुनसक्ने बताउँदै चार्जसिटमा उल्लेखित आरोपी व्यक्तिहरू यथाशिघ्र पक्राऊ गर्नुपर्ने उनले माग गरे। “सीबीआईले दर्ता गरेको चार्जसिटमा गोजमुमो पार्टीका अध्यक्ष बिमल गुरूङ लगायत अन्य नेताहरूको नाउँ उल्लेख छन्। उनीहरू यहाँको प्रभावशाली व्यक्तिहरू हुन्। यसकारण आरोपी सबै व्यक्तिहरूलाई यथाशिघ्र पक्राऊ गर्न पर्छ। उनीहरू बाहिर भए गवाहीहरूको निम्ति खतरा हुन्छ। यसैकारण प्रशासनले गवाहीहरूलाई पूर्ण सुरक्षा दिँदै आरोपी नेताहरूलाई झट्ट पक्राऊ गर्नुपर्छ’ खातीले स्पष्ट भने। यसैक्रममा उनले चार्जसिटमा उल्लेख व्यक्तिहरूलाई प्रशासनले यथाशिघ्र पक्राऊ गर्नको साथै उनीहरूलाई कस्टडी ट्रायलमा लिएर सोधखोज गर्नपर्ने माग गरे। सीबीआईको चार्जसिटमा उल्लेख भएका व्यक्तिहरूलाई यहाँको राजनैतिक प्रश्रय भएको कारण उनीहरूले हत्याकाण्डका गवाहीहरूलाई केही पनि गर्नसक्ने आशंका व्यक्त गर्दै गवाहीहरूको सुरक्षाको निम्ति पनि आरोपीहरू पक्राऊ आवश्यक रहेको बताए। यसैक्रममा खातीले स्व मदन तामाङको हत्याले गोर्खालिग पार्टीलाई मात्र क्षति नभएर सम्पूर्ण गोर्खाहरूकै निम्ति अपूरणीय क्षति रहेको बताए। स्व तामाङले जहिले पनो गोर्खाहरूलाई सचेत गराउने कार्य गरेको बताउँदै उनको हत्यापछि यहाँ एउटा ठूलो खाल्डो बनिएको पनि बताए।
सीबीआईले दर्ता गरेको चार्जसिट सम्बन्धमा आफूहरूला पूर्ण जानकारी नभएको बताउँदै यदि चार्जसिटमा भगौडे घोषित गरेको छ भने पक्राऊको वारण्ट जारी हुनसक्ने बताए। यसभन्दा अघि आरोपीहरू न्यायलयमा गएर बेल पिटिसन दर्ता गर्न सक्ने पनि उनले बताएका छन्। यसैक्रममा उनलाई सीबीआई एउटा स्वायत्त जाँच एजेन्सी हुँदा-हुँदै पनि केन्द्र सरकारको प्रभाव धेरै हुने गरेको आरोपहरू लाग्ने गरेको छ। यस्तो अवस्थामा केन्द्र सरकारसँग मोर्चाको सम्बन्ध राम्रो भएको कारण उनीहरूले सीबीआईमाथी प्रभाव पार्न नसक्ला भनि प्रश्न गर्दा यसपल्टको भारत सरकारसँग आफूहरूको धेरै आस्था रहेको बताए। “प्रधानमन्त्री नरेन्द्र मोदी विगतका प्रधानमन्त्रीहरू जस्ता छैनन्। आजसम्म उनको कार्यप्रणाली हामीलाई सही नै लागेको छ। यस्तो अवस्थामा यस मुद्दामा सीबीआईलाई प्रभावित पार्छ भन्ने हामीलाई विश्वास छैन। हामी न्यायको प्रतिक्षामा छौँ अनि न्याय चाँडै प्राप्त हुने आशा छ” प्रताप खातीले भने।
अर्कोतर्फ सीबीआईले मदन तामाङ हत्याकाण्डको चार्जसिट दर्ता गरेपछि हिल तृणमूल कङ्ग्रेसले स्वागत जनाएको छ। हिल तृणमूल कङ्ग्रेस नेता छेवाङ भोटीयाले एक पत्रकार सम्मेलन डाकेर सीबीआईको कार्यप्रणाली प्रति स्वागत गर्दै आरोपी व्यक्तिहरूलाई अब प्रशासनले झट्ट पक्राऊ गर्नपर्ने माग गरे। “सीबीआईको चार्जसिटमा उल्लेख भएका व्यक्तिहरू सबै दोषीहरू हुन्। उनीहरू दोषी हुन् यसैकारण चार्जसिटमा सीबीआईले नाम उल्लेख गरेको छ। यी व्यक्तिहरूलाई यथाशिघ्र पक्राऊ गरेर कष्टडी ट्रायलमा लिएर कानुनी कार्वाही गर्नुपर्छ” छेवाङ भोटियाले भने। यसैक्रममा बोल्दै चार्जसिटमा उल्लेखित व्यक्तिहरूलाई जनताले चुनेको चौकीमा बस्ने कुनैओ नैतिक अधिकार नरहेको बताउँदै आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि भोटियाले गरे। “कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री अनि अन्य जीटीएका चौकीमा बस्नेहरूले आफ्नो चौकी झट्ट छोड्नुपर्छ। उनीहरूलाई चौकीमा बस्ने कुनै नैतिक अधिकार छैन। यदि भविष्यमा मुद्दा जितेर उनीहरू आरोप मुक्त भए बरू हामी नै चौकीमा खदा माला लगाएर राख्नेछौँ। तर, अहिलेलाई भने चौकीमा बस्ने नैतिक अधिकार छैन” छेवाङ भोटियाले भने।

0 Response to "सीबीआईको चार्जसिटले कतै खुशी कतै त्रास ...... कानुन प्रक्रिया प्रति हामीलाई विश्वास जागेको छ – प्रताप खाती"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.