
कालेबुङमा दुई गुटमाझ झडप : गोरामुमो पार्टीका दुईजना गम्भिर घाइते... कुतत्वहरूलाई प्रशासनले कार्वाही गर्नुपर्छ – गोरामुमो ... गोरामुमोको आरोप निराधार हो – सभासद तामाङ
डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 3 जनवरी 2015। कालेबुङको मुटु मानिने डम्बर चौकमा आज बिहान साँडे दश बजेतिर दुई गुटमाझ झडप हुँदा दुई व्यक्ति गम्भिर घाइते भएका छन्। घाइते हुनेहरूमा गोरामुमो पार्टीका कार्यकर्ताहरू सुवास घतानी (35) अनि दिनेश प्रधान (45) रहेका छन्।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पार्टीले गत 1 जनवरीको दिन जीएनएसएफ अध्यक्ष विवेक रसाईलीको टिस्टा त्रिवेणीमा हत्या भएको घट्नालाई केन्द्र गरेर आज कालेबुङ शहर दिउँसो एक बजेदेखि दुई बजेसम्म शोक पालन गर्दै बन्द गरिदिने अपिल गरेको थियो। मृत विवेक रसाईलीको आज अन्तिम संस्कार गरिने भएको कारण यस अवधी शहरको दोकान पाटहरू बन्द गरिदिने अपिल गरिरहेको समयमा उक्त झडप भएको हो।
गोरामुमो पार्टी कार्यकर्ताहरू बिहान थाना डाँडादेखि डम्बर चौकतर्फ सम्पूर्ण दोकानदारहरूलाई दिउँसो एकघण्टा शोक पालन गरेर बन्दको अपिल गरिरहेको समयमा उनीहरूको भेट डम्बर चौकमा एकहूल युवाहरूसंग भएको थियो। सोहीक्रममा दुवै गुटमाझ बन्दको बिषयलाई लिएर मौखिख विवाद चल्न थालेपछि आखिरमा उक्त विवाद झडपमा परिणत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
डम्बरचौकमा अचानक गोरामुमो पार्टी कार्यकर्ताहरूसंग उक्त एकहूल युवाहरूको जम्काभेट भएर मौखिक विवाद चल्दा चल्दै एकाएक हातपाई शुरू भएको थप घटनास्थलका प्रत्यक्षदर्शीहरूले बताएका छन्। सोहीक्रममा गोरामुमो पार्टीका कार्यकर्ताहरू सुवास घतानी अनि दिनेश प्रधानको शिरमा चोट लागेर गम्भिर घाइते बनेका छन्। घाइते दुवैको शिरमा चोट लागेको कारण उनीहरूलाई तत्काल कालेबुङ महकुमा अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको थियो भने पछिबाट सिलगडी रेफर गरिएको जानकारी प्राप्त भएको छ।
शनिबारको दिन कालेबुङमा हाट भर्न मानिसहरूको भिड लाग्ने गरेको कारण आज पनि शहरमा मानिसहरूको भिड रहेको थियो। यस्तो अवस्थामा एकाएक डम्बर चौकमा दुई गुटमाझ भएको झडपले शहरमा सनसनी छाएको थियो। डम्बर चौकमा झगडा भएको खबर एकाएक शहरमा डडेलो झैँ सल्केपछि मानिसहरू आतङ्कित बनेका थिए। यस अवधी शहरमा शान्ति व्यवस्था कायम राख्न सधैँ सीआरपी अनि पुलिसबल तैनाथ रहने डम्बरचौकमा उक्त झडप अवधी भने पुलिस बल अनि सीआरपीका जवानहरू तैनाथ नरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यता झडप भएको केही समय पछि मात्र पुलिस बल अनि सीआरपीका जवानहरू घटना स्थलमा आइपुगेका थिए।
यता उक्त झडपलाई लिएर गोरामुमो पार्टीले पहाडको सत्तासिन राजनैतिक दल गोजमुमो पार्टीलाई दोषी ठहराएको छ। उक्त घट्ना सम्बन्धमा गोरामुमो पार्टीले कालेबुङ थानामा गोजमुमो पार्टी कार्यकर्ताहरूको नाममा प्राथमिकी दर्ता गरेको छ। गोरामुमो पार्टीले थानामा दर्ता गरेको प्राथमिकीमा गोजमुमो पार्टीका मोठ आठ जना कार्यकर्ताहरूको नाउँ रहेको विश्वस्त सुत्र मार्फत जानकारी प्राप्त भएको छ। यसका साथै उक्त झडप सभासद निमा तामाङको निर्देशन भएको पनि गोरामुमो पार्टीले थानामा दर्ता गरेको प्राथमिकीमा उल्लेख गरेको छ।
कुतत्वहरूलाई प्रशासनले कार्वाही गर्नुपर्छ – गोरामुमो

शोक पालन गर्न स्वेच्छाले दोकानदारहरूलाई दोकान बन्द गरिदिने अपिल गरिरहेको समयमा यसरी प्राणघातक हमला गर्नु अत्यन्तै दुर्भाग्यजनक रहेको बताउँदै आरोपीहरूलाई प्रशासनले 24 घण्टाभित्र पक्राऊ गर्नुपर्ने माग गरेका छन्। ‘हामी लडाई झगडामा विश्वास गर्दैनौँ। कुनै पनि जातिले आपस्तमा लडेर लक्ष्य प्राप्त गर्दैन भन्ने हामी विश्वास गर्छौँ। हामी गणतन्त्र र भारतीय संविधानमा विश्वास गर्छौँ। यसकारण यस्ता समाज बिरोधी असमाजिक तत्वहरूलाई प्रशासनले पक्राऊ गरेर कार्वाही गर्नुपर्छ’ तिनले अझ भने। आफूहरूले शान्तिप्रिय तरिकाले शोक पालन गरेर एकघण्टा बन्दको अपिल गर्दा यसरी प्राणघातक हमला गर्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै यदि आफूहरूलाई बारम्बार अत्याचार गरे सहन नगरिने चेतावनी दिएका छन्।
‘हामी लड्न सक्छौँ, तर दाजुभाइ लडेर समस्या समाधान हुँदैन’ दिपङ्कर लामाले भने। उक्त झडपमा परेर पार्टीका दुईजना कार्यकर्ताहरू गम्भिर घाइते बनेको बताउँदै उनीहरूलाई सिलगडी उपचारको निम्ति लगिने पनि जानकारी गराए। यसै सम्बन्धमा तिनले पुलिस प्रशासनाले निष्पक्ष कार्य गर्नेछ भन्ने कुरामा विश्वास राखेको बताउँदै यदि प्रशासनले कार्वाही नगरे समाज बिरोधी तत्वहरू फष्टाउने अनि यसको निवारणको निम्ति आफूहरू नै सडकमा उत्रन बाध्य हुने तिनले बताए। यसो भएको खण्डमा सम्पूर्ण दोष प्रशासनको हुने पनि तिनले स्पष्ट पारे। उक्त झडपमा गोजमुमो पार्टीका कार्यकर्ताहरूले हतियारहरूले प्रहार गरेको पनि तिनले आरोप लगाएका छन्।
अर्कोतर्फ मृतक विवेक रसाईली गोरामुमो छात्र संगठनको अध्यक्ष हुन् भन्ने गोरामुमो पार्टीको दाबीलाई खारेज गर्दै मृतकका काका चन्द्र कुमार रसाईलीले उनी कुनै पनि दलसंग संलग्न नरहेको दाबी गरेका थिए। यसबारे बोल्दै दिपङ्कर लामाले आफूहरूले मृतकलाई लिएर राजनीति नगरेको स्पष्टिकरण दिँदै उनीसंगै अन्य छात्र संगठनमा खट्ने साथीहरूले यसबारे स्पष्ट पार्न सक्ने बताए।
गोरामुमोको आरोप निराधार हो – सभासद तामाङ
डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 3 जनवरी 2015। आज बिहान यहाँक़ो डम्बर चौकमा गोरामुमो पार्टी कार्यकर्ताहरू माथी भएको आक्रमण गोर्खा जनमुक्ति मोर्चाका युवा सभासद निमा तामाङको निर्देशनमा हो भन्ने तर्कलाई सभासद तामाङले सरासर खारेज गरेका छन्। गोरामुमोले उक्त घटना सभासद तामाङको निर्देशनमा भएको भन्दै प्राथमिकीमा नाउँ उल्लेख गरेपछि यता प्रतिक्रिया व्यक्त गर्दै सभासद निमा तामाङले उक्त आरोप निराधार हो भने।
‘मृतक व्यक्तिलाई लिएर राजनीति हुनु दुर्भाग्यपूर्ण हो। यतिबेला परिवार पक्षलाई सम्वेदनाको खाँचो छ। यस्तो अवस्थामा गोरामुमोले डम्बर चौकमा भएको झडपको आरोप ममाथी लगाउँनु नितान्त आधारविहिन हो’ सभासद निमा तामाङले स्पष्ट भने। तिनले त्रिवेणीमा भएको हत्या दुर्भाग्यपूर्ण हो भन्दै पिडीत परिवार प्रति सम्वेदना प्रकट गरे। ‘आज अचानक बजार बन्द गर्ने कार्य हुँदैथियो। यस्तो अवस्थामा जनतालाई दु:ख हुनु स्वाभाविक थियो यसकारण मानिसहरूले बिरोध गर्न सक्थे। यसै अवधी को-कोसंग झडप भयो मलाई थाह छैन अनि झडप पछि दोष गोजमुमोलाई लगाउँनु निराधार हो’ सभासद तामाङले अझ भने। यस्तो अवस्थामा घटना आफ्नो निर्देशनमा भएको आरोप प्रति पनि तिनले सरासर खारेज गर्दै आफू संलग्न नभएको दाबी गरे।
0 Response to "कालेबुङमा दुई गुटमाझ झडप : गोरामुमो पार्टीका दुईजना गम्भिर घाइते... कुतत्वहरूलाई प्रशासनले कार्वाही गर्नुपर्छ – गोरामुमो ... गोरामुमोको आरोप निराधार हो – सभासद तामाङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.