-->
लोक साहित्यकार माईकल मार्टिन गुरुङ अब रहेनन्.....  साहित्यकारहरुको भनाई : जाति र भाषाको निम्ति तिनी कहिल्यै झुकेनन – मोहन ठकुरी....एम एम गुरुङ लोक साहित्य अध्येता हुन – प्रो मोहन पी दहाल

लोक साहित्यकार माईकल मार्टिन गुरुङ अब रहेनन्..... साहित्यकारहरुको भनाई : जाति र भाषाको निम्ति तिनी कहिल्यै झुकेनन – मोहन ठकुरी....एम एम गुरुङ लोक साहित्य अध्येता हुन – प्रो मोहन पी दहाल

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 जनवरी। नेपाली लोक साहित्य र लोक संस्कृति भनेपछि हुरुक्कै हुने मार्टीन माईकल गुरुङ अर्थात एम एम गुरुङ अब रहेनन। तिनले आज यहाँको बोङबस्ति स्थित आफ्नो वासस्थानमा बिहान सात बजे अन्तिम श्वास लिए। 1 जनवरी 1926 मा जन्मेका एम एम गुरुङ गत केहि महिना अघिदेखी बिरामी अवस्थामा थिए। 
केही बर्ष अघि तिनी निकै सिकिस्त बिरामी भए पछि घरबाट कहीँ कतै निस्कन्दैन थिए भने बिरामीकै कारण पत्र पत्रिका र पुस्तकहरु पढ्न समेत नसक्ने भएका थिए। आखिरमा तिनले आज 88 वर्षको उमेरमा आफ्ना श्रीमती शकुन गुरुङ अनि चारजना छोराहरु र दुईजना छोरीहरुलाई छोडी गएका छन। 
तिनको निधनले नेपाली साहित्यमा अपुरणीय क्षति भएको छ भने सम्पूर्ण नेपाली साहित्य जगतमा शोकको लहर छाएको छ। तिनको अंतिम संस्कार आगमी 20 जनवरी सोम्बारको दिन गरिने पारिवारिक सुत्रले बताएका छन।
यसक्रममा तिनका कान्छा छोरा समर गुरुङले आफ्ना स्वर्गीय पिता एम एम गुरुङले लोक साहित्य र संस्कृतिमा माटोको गन्ध छ भन्ने गरेको बातचितको क्रममा बताउँदै धर्म र संस्कृतिलाई अलग्गै राखेर हेरेको बताए। “हाम्रा बाबा ख्रिष्टिय धर्मी हुन तर धर्म र संस्कृतिलाई अन्तिम श्वाससम्म कहिल्यै जोडेननन। बाबाले हाम्रो लोक साहित्य र संकृतिमा माटोको गन्ध छ भन्ने गर्थे। आफ्नो संकृतिलाई बँचाएर राखे मात्र आफ्नो जाती बाँच्छ भन्ने तिनको धारणा थियो” स्व एम एम गुरुङका छोरा समर गुरुङले भने।
1 जनवरी 1926 मा रंगीत चिया बगानमा जन्मेका एम एम गुरुङको साहित्यिक यात्रा 1944 देखि शुरु भएको थियो। वराणसीबाट प्रकाशित हुने उदय पत्रिकामा तिनको पहिलो रचना ‘नेता’ प्रकाशित भएको थियो। सन 1946 मा कोलकोता विश्व विद्यालयबाट स्नातक गरेका गुरुङले सन 1950 मा सिन्कोना बिभागमा बिभागीय अधिकारीको पदभार सम्हालेका थिए। 
सिन्कोना बगानमा बिभागीय अधिकारीको रुपमा कार्यभार सम्हाले पछि ग्रामिण क्षेत्रहरुमा पुगेका गुरुङ बगानमा कार्यरत हुँदा नै लोक साहित्य प्रति रुची बड्दै गएको थाह पाउँछौँ। पछिबाट तिनी सिन्कोना बगानका अधिकारी संगै लोक साहित्यकार बन्न पुगे। नेपाली साहित्यमा बिशेष लोक साहित्यप्रति कलम चलाउँने एम एम गुरुङलाई लोक साहित्यिक कृति “बिर्सिएको संस्कृति” को निम्ति साहित्य अकादमी पुरस्कार 1982 अनि सोही कृतिको निम्ति भानु पुरस्कारले पनि सम्मानित गरिएको थियो। 
यसका साथै तिनलाई साहित्य साम्मेलन दार्जीलिङले दियालो गोल्ड मेडल, नेपालबाट महाकवि देवकोटा शताब्दी सम्मान, मदन स्मारक आदिले सम्मानित गरिएको थियो। तिनले नेपाली साहित्यलाई मोठ तीनवटा कृतिहरु क्रमैले घर संसार, टिस्टा बग्छ संधैजस्तो अनि बिर्सिएको संस्कृति दिईसकेका छन भने बिभिन्न पत्र पत्रिकाहरु तिनको फूटकर रचनाहरु प्रकाशित भईसकेको छ।
साहित्यकारहरुको भनाई :
जाति र भाषाको निम्ति तिनी कहिल्यै झुकेनन – मोहन ठकुरी
“साहित्यकार एम एम गुरुङले बिर्सिएको संस्कृति खोज्न जीवनको स्वर्णीम क्षणहरु गुमाएका छन। तिनको निधनले साह्रै दुखी बनेको छु” कवि मोहन ठकुरीले भने। “उहाँ ख्रिष्टिय धर्म मान्ने भए पनि धर्मले संस्कृतिलाई कहिल्यै मिच्न नदिएको बताउँदै कवि ठकुरीले स्व गुरुङले भनेका कुरालाई स्मरण गर्दै भने उहाँले भन्नहुन्थ्यो –“धर्म भिन्न भिन्नै भए पनि हाम्रो गोर्खे संस्कृति एउटै हो। संस्कृतिले नै जाति बाँच्छ” तिनले अझ भने। 
तिनी मूलत लोक साहित्यकार रहेको बताउँदै स्व गुरुङ आफ्नो जाति र भाषाको निम्ति कसैसंग नझुकेको पनि तिनले बताए। “एम एम गुरुङले आफ्नो जीवनमा आत्मा स्वाभिमानलाई सधै उच्च राख्नुभयो। तिनी आज हामी माझ नभए पनि कृतिहरु सधै जीवित रहनुहुनेछ” ठकुरीले भने।
एम एम गुरुङ लोक साहित्य अध्येता हुन – प्रो मोहन पी दहाल
“एम एम गुरुङ लोक साहित्य अध्येता हुन। भारतमा लोक साहित्य बिषयमा अध्ययन गर्ने तिनी नै पहिलो व्यति हुन” प्रो मोहन पी दहालले भने। यसक्रममा स्व गुरुङ रोंगो सिन्कोना बगानमा कार्यरत हुँदा लोक साहित्यप्रति रुची बडेको कतिपय भेटघाटमा बताउँने गरेको जानकारी गराउँदै तिनी स्वाभीमानी व्यक्ति रहेको बताए। “तिनी खुबै स्वाभिमानी व्यक्ति थिए। एकसमय सन्त जोसेफमा ढाका टोपी र दौरा सुरुवाल लगाएर पढाउँन जाँदा तिनलाई फादरले आपत्ति जानाएको कुरा छ। फादरले यसरी आफ्नो जातिय पोषाक लगाएकोमा आपत्ति गरेको कारण तिनले आफ्नो काम नै छोडेको हामीले सुनेका छौँ” प्रो दाहालले भने। यसक्रममा तिनले स्व गुरुङ एकजना कूशल प्रशासक समेत रहेको बताउँदै तिनको निधनले नेपाली लोक सहित्यमा अपुरणीय क्षति भएको बताए।
“नेपाली लोकसाहित्यका मर्मज्ञ उन्नायक एम.एम. गुरूङको दुखद निधनले नेपाली साहित्यको अपूरणीय क्षति भएको छ” साहित्यकार नरबहादुर दहालले भने। गुरुङको निधन प्रति तिनले नेपाली साहित्यमा अपुरणीय क्षति भएको बताउँदै शोक प्रकट गरेका छन। यता युवा कवि टिका भाईले कथाकार एम.एम. गुरुङको निधनमा श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेका छन।
फोटो सौजन्य: नर बहादुर दाहाल

Related Posts

0 Response to "लोक साहित्यकार माईकल मार्टिन गुरुङ अब रहेनन्..... साहित्यकारहरुको भनाई : जाति र भाषाको निम्ति तिनी कहिल्यै झुकेनन – मोहन ठकुरी....एम एम गुरुङ लोक साहित्य अध्येता हुन – प्रो मोहन पी दहाल"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.