
कालेबुङमा दार्जीलिङ जिल्ला युवा तृणमूल कङ्ग्रेसको जनसभा ......जीटीए मदन तामाङको रगतले लेखेर ल्याएको हो – छेवाङ भोटिया
डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 दिसम्बर। दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसको युवा एकाईले आज कालेबुङको त्रिकोण पार्कमा जनसभा गरेर आफ्नो शक्ति प्रदर्शन गर्यो। दार्जीलिङ जिल्लाको बिभिन्न स्थानहरुबाट आएका तृणमूल कङ्ग्रेसको युवा संगठनले जनसभा अघि एउटा जुलुस निकालेर शहरमा आफ्नो दलको शक्ति देखायो। यस अवसरमा उनीहरुले यहाँको डम्बर चौक अनि थाना डाँडामा पटेका समेत पट्काएर दार्जीलिङ पहाडमा तृणमूल कङ्ग्रेसको शक्ति बृद्धि भएको अदृष्य घोषणा गरे।
गोर्खाल्याण्डको मुद्दा छोडेर गोजमुमो पार्टी जीटीएमा फर्किएपछि तृणमूल कङ्ग्रेसको युवा एकाईले आज पहिलोचोटी कालेबुङमा आयोजना गरेको जनसभामा युवा कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो। यस अघि यहाँको मेला ग्राउण्डबाट एउटा जुलुस निकालेर उक्त जुलुसले नाराबाजी गर्दै कालेबुङ शहर परिक्रमा गरे। जुलुसले शहर परिक्रमा गरेको समयमा तृणमूल कार्यकर्ताहरुले गोजमुमो मूर्दावाद र बिमल गुरुङ मूर्दावाद, भ्रष्टचारी नेताहरु पहाड छोड भन्ने नारा पनि तृणमूल कार्यकर्ताहरुले लगाए।
यता तृणमूल कङ्ग्रेसको जुलुस अनि जनसभालाई केन्द्र गरेर आज कालेबुङ शहरमा सीआरपी अनि पुलिस प्रशासनले सुरक्षा व्यवस्थालाई समेत कठोर बनाएको थियो। युवा तृणमूल कङ्ंग्रेसको उक्त जनसभामा आज मुख्य रुपले हिल तृणमूल नेता राजेन मुखिया उपस्थित रहेका थिए। यता उक्त जनसभालाई केन्द्र गरेर पार्टीले कालेबुङ शहरमा तृणमूल कङ्ग्रेसको झण्डा व्यापक रुपले लगाएको थियो। यहाँ थाना डाँडा परिसरमा आयोजित उक्त जनसभाले आज शहरमा ट्राफिक व्यवस्था समेत केहीक्षणको निम्ति ठप्प बनेको थियो भने पछिबाट ट्राफिक व्यवस्थालाई सुचारु गर्न यहाँको ट्राफिक पुलिसले यानवाहनहरुको बाटोलाई समेत परिवर्तन गरेर सुचारु बनाउन पर्यो।
यस अवसरमा बिभिन्न स्थानहरुबाट आएका तृणमूल नेताहरुले जनसभालाई सम्बोधन गर्ने क्रममा मोर्चा नेताहरुको नै धेरै आलोचना गरे। दार्जीलिङ पहाडमा शक्तिशाली पार्टीको रुपमा परिचित गोजमुमो पार्टीका अध्यक्ष बिमल गुरुङ लगायत अन्य नेताहरुको आजको जनसभामा तृणमूल नेताहरुले खुलेर आलोचना गरे भने तृणमूल पार्टीले नै पहाडमा बिकाशको मूल फूटाउने पनि नेताहरुले जनसभामा दाबी गर्न चुकेनन। यता आजको जनसभामा सबैभन्दा धेरै आलोचनाको शिकार भने मोर्चा अध्यक्ष बिमल गुरुङलाई नै बनाईको थियो भने तिनले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा जनताको सामु खाएका कसमहरु किन पुरा गरिएन भनि तृणमूल नेताहरुले ठाडो प्रश्न समेत तेर्साए।
उनीहरुले गोजमुमो पार्टीको आलोचना संगै पहाडमा बिकासको मुद्दालाई पहिलो प्राथमिकता दिएका थिए भने युवापिडीलाई रोजगारको अवसर प्रदान गर्नपर्ने पनि तृणमूल नेताहरुको माग रहेको थियो। यस अवसरमा जनसभालाई सम्बोधन गर्दै दार्जीलिङ जिल्ला हिल तृणमूल सयोजक राजेन मुखियाले जीटीएले बिकासका कार्यहरु गरे आफूहरुले सहयोग गर्ने तर भ्रष्टचार गरे नछोड्ने चेतावनी दिएका छन।
“हामी राम्रो कार्यको निम्ति सहयोग गर्छौँ। राम्रो राम्रो योजनहरुको स्वागत गर्छौँ। तर बिकासको नाउँमा भ्रष्टचार गरे हामी छोड्नेछैनौँ” राजेन मुखियाले भने। यसक्रममा तिनले मोर्चा नेता बिमल गुरुङप्रति कटाक्ष गर्दै बिमल गुरुङले जनतालाई ढाँट्ने कार्य मात्र गरेको आरोप लगाए। हिल तृणमूल कङ्ग्रेस दार्जीलिङ जिल्ला समितिका सचिव एनबी खवासले पहाडमा सत्ता परिवर्तन मात्र होईन मानसिकतामा परिवर्तन आउन आवश्यक रहेको बताए।
“यहाँ मानसिकतामा परिवर्तन आउँनपर्छ। बोतल मात्रै होईन बोतल संगै बोतल भित्रको परिवर्तन हुनपर्छ। चौकि मात्र होईन चौकिमा बस्ने सोंच्ने व्यक्तिहरुको सोंचाईमा परिवर्तन आउन पर्छ” खवासले भने। तिनले टीएमसी पार्टीमा विकास अनि पाहाडवासीको भविष्य लुकेको छ भन्दै 2014 मा देशको तेस्रो वृहत पार्टीको रुपमा तणमूल आउने पनि खवासले दावी गरे। यसअवधि उनले गोर्खा जनमुक्ति मोर्चाको बितेको आन्दोलनको प्रसङ्ग झिक्दै शुरुदेखि नै मोर्चा मुद्दाप्रति इमान्दार नरहेको आरोप लगाए।
उनले दावी गर्दै जिटिए सम्झौताअघिको 11 पल्टको वार्तामा मोर्चाले कुनैपनि दिन अलग राज्यको माग नगरेको आरोप लगाए।
यता जनसभालाई सम्बोधन गर्दै दार्जीलिङ जिल्ला हिल तृणमूल युवा अध्यक्ष छेवाङ भोटियाले सम्बोधन गर्दै पहाडमा तृणमूल कङ्ग्रेसले ढाँटको राजनीति गरिरहेको मोर्चाले अफवाह् फैलाउँने कार्य गरेको आरोप लगाए। तिनले सम्बोधनको क्रममा मोर्चाले आन्दोलन गरेर जीटीए ल्याएको होईन भन्दै जीटीए मदन तामाङको रगतले लेखेर ल्याएको दाबी गरे।
“जीटीएको ईतिहास मदन तामाङको रगतले लेखिएको छ। यहाँ मोर्चाले जीटीए ल्यायौ भनेर जनतालाई ढाँटनु हुँदैन” छेवाङ भोटियाले भने। अर्का वक्ता जिल्ला महिला समितिका सचिव शारदा सुब्बाले अलग राज्यको मागलाई मोर्चा नेतृत्वले टुङ्गो लगाउँछ भन्नेकुरामा आफूले शुरुदेखि नै विश्वास नगरेको अनि आज आएर सो स्पष्ट भएको बताइन्। अलग राज्य प्राप्तिको माग सहज नरहेको भन्दै उनले पनि यहाँ भावनात्मक आन्दोलन भइरहेको बताइन्।
यसक्रममा जीटीए मोर्चाको मात्र नभएर सम्पूर्ण पहाडवासीको रहेको बताउँदै जीटीएले सम्पूर्ण पहाडवासीको बिकास गर्नुपर्ने बताईन।
जनसभालाई संस्थापक गोपाल छेत्री, आप्पा राजेन, राज्य समितिका अल्पसंख्यक समुदायका नासिर अहमद, लगायत अन्य युवा नेतृत्वहरू विवेक खवास, सङ्गम वान्तवा, प्रणब प्रधान, जेबी तामाङ, ओमप्रकाश कार्की आदिले सम्बोधन गरे। सम्बोधनको क्रममा नेताहरुले पहाडमा मोर्चाले गरेको भ्रष्टचारलाई अब तृणमूलले जनताको अघि उजागर गर्ने चेतावनी पनि दिएको छ।
0 Response to "कालेबुङमा दार्जीलिङ जिल्ला युवा तृणमूल कङ्ग्रेसको जनसभा ......जीटीए मदन तामाङको रगतले लेखेर ल्याएको हो – छेवाङ भोटिया"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.