-->
'गोर्खाल्यान्ड हाम्रो अस्तित्वको लडाइँ हो’

'गोर्खाल्यान्ड हाम्रो अस्तित्वको लडाइँ हो’

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नू)मा सम-कुलपति (प्रो-भीसी) रहेका महेन्द्र पी लामा दार्जिलिङमा जन्मेहुर्केका नेपालीभाषी प्राध्यापक हुन् । संसारको सबैभन्दा ठूलो मानिएको इग्नूमा अहिले विश्वका ४० लाख विद्यार्थी आबद्ध छन् । शिक्षाको पहुँच अझ विस्तार गर्न भारत सरकारले दुई महिनाअघि लामालाई इग्नूमा नियुक्त गरेको हो । यसअघि झन्डै ५ वर्ष सिक्किम विश्वविद्यालयमा संस्थापक कुलपति रहेका लामा दक्षिण एसियाली मुद्दा, सुरक्षा चासोदेखि नेपालको राजनीतिक-सामाजिक विषय/सन्दर्भमा पनि जानकार मानिन्छन् । पछिल्लो समयमा छुट्टै राज्यको माग गर्दै फेरि बल्झिएको भारतीय नेपालीभाषीको गोर्खाल्यान्ड अभियानका समर्थक लामासँग दिल्लीस्थित कान्तिपुर संवाददाता देवेन्द्र भट्टराईले गरेको कुराकानी:

दक्षिण एसियाली मुलुकमा सदावर्तीझैं रहेको राजनीतिक अस्थिरता र सामाजिक अन्योलका पछाडि सधैं भारतको हात रहेको’ भनिन्छ, तपाईंलाई के लाग्छ ? 
मैले यो अस्थिरता र अन्योलमा घरेलु कारण मात्रै देखेको छु । नेतृत्व, प्रजातन्त्र र अर्थव्यवस्थाको कमजोरीका कारण हरेक मुलुकमा अस्थिरता कायम छ । भुटान, बंगलादेश, पाकिस्तान वा नेपाल जता पनि आफ्नै घरेलु कारणले अन्योल बढेको छ, यो एउटा 'ओपन-सेक्रेट' हो । अर्कातिर यी सबै देशहरू सिमाना वा अन्य कारणले प्रत्यक्ष/परोक्ष भारतसँग जोडिएका छन् । फेरि नेतृत्व, प्रजातन्त्र र अर्थव्यवस्थाको सबल दिशामा दक्षिण एसियाली दृश्यमै भारत अग्रपंक्तिमा रहेका कारण पनि उसको हात देखिएको हुन सक्छ । यसबेला भारत एकातर्फ आदर्शझैं बनेको छ भने अर्कातिर आपसी खिचातानीको कारण पनि बनेको छ । आदर्श मान्ने हो भने आफ्नो स्थिति सुधार्न धेरै काम गर्नुपर्ने हुन्छ, खिचातानीमा लागिरहने हो भने केही गर्नै पर्दैन । फेरि कमजोरीका कुरा गर्ने हो भने भारतभित्रैका कतिपय राजनीतिक कारणले गर्दा उसले लिने विदेश नीतिमा असन्तुलन पनि देखिन्छ । यो असन्तुलनका कारण केही -छिमेकी राष्ट्र बिच्किएको हो जस्तो लाग्छ। 
कस्तो असन्तुलन ? 
लामो सोच नभएको अवस्थामा आइपर्ने असन्तुलन । जस्तो, श्रीलंकासँगको सन्दर्भलाई सम्झिहेरौं । ८० को दशकमा भारतले श्रीलंकामाथि गरेको हस्तक्षेपको रणनीति ठीक रहनेछ भन्ने अहिले पछि फर्केर हेर्दा लाग्छ । अहिले थिंक-ट्यांकहरूमा दक्षिण एसियाली सुरक्षा छाताको बहस गर्दा छिमेकी श्रीलंकामाथि भारतले अपनाएको त्यो रणनीति गलत रहेछ भनेर बुझबुझारथ हुन थालेको छ । कुनै दीर्घकालीनभन्दा अल्पकालीन नीतिलाई अवलम्बन गरिएको त्यो उपाय असन्तुलनको एउटा उदाहरण हुन सक्छ । त्यो पनि सन् १९९१ मा भूतपूर्व प्रधानमन्त्री राजीव गान्धीको लिबरेसन टाइगर्स अफ तमिल इलमसम्बद्ध व्यक्तिले गराएको आत्मघाती बम विस्फोटमा परेर निधन भएपछि मात्रै श्रीलंकामाथिको भारत-नीति समीक्षामा आयो । 

अहिले पनि भारतको कुनै छिमेकी राष्ट्रसँग पनि सुमधुर सम्बन्ध नभएको देखिन्छ । असन्तुलन अझ बढेको हो ? 
हो । कतिपय कुरामा नीतिगत दूरदर्शिता नभएकै कारण भारत कतिपय नपर्नुपर्ने जन्जालमा परिरहेको हुन्छ। तर बिस्तारै भारतको दृष्टि र बुझाइ परिवर्तन हुने क्रममा छ । विदेश नीतिमा मात्रै होइन, घरभित्रकै विषयमा पनि फरक दृष्टिकोण देखिन थालेको छ । अस्तिसम्म एउटा संघीय व्यवस्थामा केन्द्र सरकारको ठूलो भूमिका हुन्थ्यो, निर्णयको तहमा केन्द्र सरकार हावी हुन्थ्यो । अब भने भारतको संघीय व्यवस्थामा यस्तो रूपान्तरण देखिन थालेको छ कि केन्द्र सरकारले छिमेकी मुलुकका बारे कुनै किसिमको निर्णय लिनुअघि सीमा जोडिएका राज्य सरकारको सुझाव/निर्देशन लिन थालेको छ । पहिले पनि यस्तो सुझाव/परामर्श लिइन्थ्यो तर त्यो 'लिनका मात्रै लिइएको' हुन्थ्यो । तर अब भने राज्य सरकारले दिने सुझाव आधारमै केन्द्रले निर्णय लिन थालेको स्थिति देखिन्छ । विदेश नीति बनाउने प्रक्रिया थप प्रजातान्त्रीकरण र विकेन्द्रीकरण हुन थालेको देखिन्छ । नेपाललाई गर्ने सरसहयोगको विषय आउँदा बिहार, पश्चिम बंगालदेखि मध्यप्रदेश, उत्तराखण्ड (नेपाल सीमावर्ती) राज्यसँग सुझाव लिने र त्यहीअनुसार काम गर्ने पद्धति सुरुवात भएको छ, यो नीतिगत परिवर्तनको संकेत हो ।

परिवर्तनको संकेत मात्रै हो कि भारतमा साँच्चिकै रियलाइजेसन’ भएको अवस्था हो ? 
केही सकारात्मक संकेत देखिएका छन् । जस्तो, चीनमा सन् १९८१ मा देङ सियाओ पिङ आएपछि त्यहाँ नयाँ भिजनरी धेरै काम भए । 'यदि चीनलाई अघि बढाउने हो भने विदेश नीतिलाई प्रभावकारी बनाउनैपर्छ र, त्यसमा पनि आफ्ना छिमेकी राष्ट्रसँग राम्रो सम्बन्ध राख्नैपर्छ' भनेर देङले लिएको नीति उनको शानकालमा सबैभन्दा प्रभावकारी र अर्थपूर्ण रह्यो । अब भारतमा पनि त्यस्तै 'रियलाइजेसन' आइसकेको छ । अबका दिनमा भारतलाई एसियाका अरू मुलुकमा अथवा अमेरिका, अफ्रिका गएर केही गर्नु छ भने सुरुमा छिमेकी राष्ट्रको राय/सुझाव/सहमति लिनैपर्ने हुन्छ । 'छिमेकीसँगै ठीक सम्बन्ध नरहेको अवस्थामा यहाँ आएर के गर्छौ ?' भनेर बाहिरियाले भारतलाई सोध्ने अवस्था आइसकेको छ । 

'रियलाइजेसन’ भएपछि छिमेक नीतिमा देखिएको परिवर्तनको उदाहरण छ ? 
छ नि । बंगालादेश-भारतबीचको एउटा उदाहरण हेरौं । आजभन्दा १०/१२ वर्ष अघिसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने कुरा गर्दा 'राष्ट्रिय सुरक्षाका कारण' त्यो असम्भव हुने भारत सरकारको धारणा थियो । आज आएर भारत सरकारले बिजुली उत्पादनका ३ वटा परियोजना बंगलादेशमा थालेको छ भने छिट्टै भारतले ५ सय मेगावाट बिजुली बंगलादेशलाई दिन थाल्नेछ । अर्को एउटा उदाहरण, सन् २००५ मात्रै इरानबाट बंगलादेश हुँदै भारतमा ग्यास पाइपलाइन ल्याउने सहमति जुटेको थियो । तर बंगालादेशले यही 'करिडर' को उपयोग गर्दै आफूले भुटानबाट बिजुली ल्याउन पाउनुपर्ने र भारतसँगको व्यापार घाटा घटाउने उपाय पनि यसैबाट निकालिने सर्त राखेको थियो । त्यसबेला भारतले ती सर्त मानेन, पाइपलाइन परियोजना तुहियो । तर आज ८ वर्षपछि त्यही सर्त मान्दै उही करिडरबाट ग्यास पाइपलाइन बिछ्याउने काम सुरु भएको छ । यो पनि रियलाइजेसनकै परिणाम हो । 

यो सहयोग र सहकार्यको रियलाइजेसन’ छिमेकीतिर पनि भएको छ ?
यसबेला भारतसँग मिलेर र भारतबाट लिन सकिने कुराहरूमा 'बार्गेनिङ' क्षमता बढाएर छिमेकी देशहरूले फाइदा लिन सक्छन् । भारतमा मात्रै होइन, सबैतिर 'रियलाइजेसन' जरुरी हुन्छ । 

यो रियलाइजेसन’ भन्दा बढी तिब्बती गतिविधिका कारण उत्तरी छिमेकीको चासो र बढ्दो माओवादी गतिविधिका कारण दक्षिणी छिमेकीको चिन्ता नेपालमै थोपरिएको अवस्था छ । यो दोहोरो चेपुवाको नेपाल-स्थितिलाई कसरी हेर्नुभएको छ ? 
उत्तर र दक्षिणका छिमेकीका कारण उहिले पृथ्वीनारायण शाहले भनेको 'दुई ढुंगाबीचको तरुल' को कथन अझै पनि स्वीकार्य छँदै छ । 'तरुल' बनिने र भनिने कारण केही बदलिएको होला, सन्दर्भ फेरिएको होला । तर यथार्थ भने छँदै छ । थिचोमा नेपाल जहिल्यै परिरहेकै हुन्छ । आज गैरपारम्परिक सुरक्षा चासोका कारण 'थिचो' बढेको होला, हिजो पारम्परिक सुरक्षा चासो बढी थियो । तर यो थिचोलाई चुनौतीभन्दा बढी नेपालले अवसरका रूपमा उपयोग गर्न सक्नुपर्छ । स्पष्ट भन्नु पर्दा चीन र भारतसँग 'बार्गेनिङ' क्षमता बढाउने र योजना, परियोजनामा सहयोगका अवसर खोजी गर्न सक्नुपर्छ । 

छिमेकी विशेष मानेर भारतले लिएको 'भुटान नीति’ का बारेमा तपाईं के भन्न चाहनुहुन्छ ? 
भारतले लिँदै आएको भुटान-नीति कुनै नयाँ होइन, यो अंग्रेज शासनकै पालादेखिको हो । यो नीतिको मुख्य मर्म के हो भने जबजब भारतको राष्ट्रिय सुरक्षा नीतिको प्रश्न आउँछ— 'सुरक्षित हुनुपर्ने हिमालपारि' (चीन) बाट मात्रै हो भन्ने स्पष्ट छ । सबैभन्दा खतरा हिमालपारिबाट छ भन्ने सोचमा बदलाव आउने कुरा पनि भएन। अब यसमा जोडिएका तीनवटा भिन्न पक्ष छन् । एउटा सिक्किम-फ्याक्टर, अर्को भुटान सम्बन्ध र तेस्रो नेपाल -जसले सार्वभौमिकतालाई ज्वलन्त रूपमा राख्न सकेको छ । यी तीनवटा भिन्न मोडलका कुरामा जब भारतीय सुरक्षाको कुरा आउँछ, त्यसबेला भने 'कमन फ्याक्टर' भेटिन्छ । त्यो हो— यी तीन मोडेलसँग जोडिएको हिमालय क्षेत्र भारतको सुरक्षा पर्खालझैं बसेको छ । 

'भिन्न मोडल’ त भन्नुभयो, तर भारतको भुटान-नीति पूरै संरक्षित छ भनिन्छ नि ? 
त्यसो होइन । आज भुटानमा प्रजातन्त्र आएको छ । निर्वाचित पद्धतिबाट सरकार बनिएको छ । प्रजातन्त्र आउनु र प्रजातन्त्रका आधार संस्थागत बन्नु अलग कुरा हो । यी आधार विकसित भएका छैनन् होला तर परिवर्तनको सुरुवात भने देखिएको छ । भारत-भुटानबीचको १९४९ को सन्धिअनुसार भुटानको विदेश नीति/सुरक्षा प्रणालीमा भारतको पूरै प्रभाव र स्थान रहेको विगतमा जुन आधार थियो, त्यो अहिले संशोधन भइसकेको छ । 

नेपालको सार्वभौमिकता र स्वतन्त्रताको सन्दर्भ यो तपाईंको 'तीन मोडल’ मा किन जोडिएको हो ? भुटानबाट नेपालले केही पाठ सिक्नुपर्ने हुन्छ । नेपालले भारतबाट पाउनुपर्ने सबै कुरा गुमाउँदै गएको अवस्था छ— सार्वभौमिकता र स्वतन्त्रताको चर्को कुराका कारण । अर्कातिर भुटानले सबै कुरा लिन्छ तर सार्वभौकिताको कुरालाई भने चुपचापसँग कायम राख्छ । भुटानले भारतबाट के लिएको छैन ? बिहान उठ्दा चाहिने टुथब्रसदेखि राति डिनरपछि चाहिने टुथपिकसम्म उसले लिएको छ । बिजुली भारतलाई बेचेर पनि कमाएकै छ । तर भारतले भुटानी शरणार्थी समस्या समाधानमा आग्रह गर्दा पनि उसले छाड्दै छाडेन, ऊ अडानमै रह्यो । अर्कातिर नेपालले भने सार्वभौमिकताको मात्रै कुरा गरिरहेका बेला कर्णाली, राप्ती, पञ्चेश्वर कतै केही पनि हुन सकेन, नेपालले लिन सक्ने कुरा पनि लिन सकेन । लिने कुरा सबै लिनुपर्छ तर जहाँ सार्वभौमिकताको कुरा उठ्छ— त्यहाँ भने अडान राख्नैपर्छ, अडानमा बस्नैपर्छ । भूपरिवेष्ठित राष्ट्रले लिन सक्ने, पाउने सुविधा पनि लिन नसकेको अवस्थामा आज नेपाल छ । 

भुटानी शरणार्थी समस्या सुल्झाउन भारतले द्वैध चरित्र निर्वाह गरेकामा यद्यपि आलोचना छँदै छ । नेपाल र भुटानबीचको भारतीय भूमि हुँदै बनाइएका’ शरणार्थी समस्या समाधानमा भारतले बोलेको त कहीँ सुनिएन नि ? 
त्यसो होइन । शरणार्थीबारेमा भारतको कुनै नीति नै छैन । नेपालको पनि नीति भएजस्तो लाग्दैन । दक्षिण एसियाका कुनै पनि राष्ट्रले १९५१ र १९६१ को शरणार्थीसम्बन्धी अभिसन्धि -प्रोटोकल) मा हस्ताक्षर गरेको छैन । यदि हस्ताक्षर गरेको भए 'शरण लिइएको पहिलो मुलुक' को आधार मान्य हुन्छ । भुटानी शरणार्थीका हकमा भारत पहिलो शरण लिइएको मुलुक हो, हस्ताक्षर गरिएको अवस्थामा यी भुटानीलाई लखेटिएको भए अथवा अरूतिर पठाइएको भए अन्तर्राष्ट्रिय कानुनको अवहेलना हुन्थ्यो । तर नीति नै छैन, कानुनै छैन भने जे गरे पनि भयो नि । सायद यो कुरा बुझेरै अभिसन्धिमा हस्ताक्षर नगरिएको हुन पनि सक्छ । 

शरणार्थी नीति नभएका कारणले भुटानी शरणार्थीझैं अरूतिर पनि द्वैध चरित्र देखाइएको छ त ? 
छ नि । बंगलादेशबाट आएकालाई भारतले शरणार्थी पनि भनेको छ, 'घुसपैठवाला' पनि भनेको छ । तिनैलाई कहिले 'टेरोरिस्ट' त कहिले 'इकोनमिक माइग्रेन्ट' पनि भन्ने गरेको छ । श्रीलंकाबाट आएका तिनै शरणार्थीलाई तमिलनाडुमा राखेर गाँस-बास-कपास-शिक्षादीक्षा सबै दिइयो । फेरि भूतपूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यापछि तिनै शरणार्थीलाई छिटोभन्दा छिटो घर फिर्ती गर्नुपर्छ भनेर अर्को नीति लिइयो । सन् ५० को दशकदेखि आएका तिब्बती शरणार्थीले यहाँ सबै सेवासुविधा पाए, धर्मशाला बन्यो । तर आज तिनै तिब्बती आउने क्रमलाई रोक्न अनेक उपाय खोज्न थालिएको छ ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय नीति नभएकै कारण भुटानी शरणार्थी समस्या समाधान नभएको भन्न मिल्छ र? 
यसमा धेरैवटा फ्याक्टरले काम गरेको हुन्छ । नेपालमा भएको राजनीतिक अस्थिरता र अन्योल पनि शरणार्थी समस्या समाधानमा बाधक रह्यो । दुनियामै नभएको शरणार्थी वर्गीकरणको प्रक्रिया पनि नेपालले गरेको ठूलो गल्ती थियो । अर्कातिर भारतभित्र संघीय सरकारको कुरा पनि छँदै छ । पश्चिमबंगालको बाटो हुँदै आएका नेपालीभाषी भुटानी शरणार्थीलाई जति सक्दो चाँडो यो राज्यबाट धपाउन बंगाल सरकारले चाहेको थियो किनभने आफ्नै राज्यको माग र अस्तित्वको कुरा गर्दै आएका नेपालीभाषीहरू यही पश्चिमबंगालमा रहेका बेला भाषा र जातिका कारण थप विग्रह आइपर्ने त्रास पनि राज्य सरकारमा रहेको हुनुपर्छ । 

नेपाल-भारतको सधैंको चासो र बहसमा आउने १९५० को सन्धिका कारण पनि द्वैदेशीय समस्याहरू यथावत् रहेको भन्ने पंक्ति पनि एकातर्फ छँदै छ । खुला सिमानालगायतको प्रावधानले साँच्चिकै घाटा पुर्‍याएझैं लाग्छ ? 
सन् १९५० को सन्धिसँग तीनवटा कुरा गाँसिएका छन्— द्वैदेशीय सुरक्षा, नेपालको सार्वभौमिकता र नेपालीभाषी भारतीयको पहिचान । यी तीनमध्ये पनि १९५० सन्धिले भारतभर रहेका नेपालीभाषी भारतीय नागरिकलाई सबैभन्दा बढी आघात पुर्याएको छ । यो सन्धिसँगै खुलेको खुला सिमानामा दुवै देशका नागरिक सहजै आवतजावत गर्न सक्छन् । तर रूप, रंग, भाषा, साहित्य, संस्कृति उस्तै भएका नेपालीहरू यता आएर बसिदिनाले हामी यहाँका नेपालीभाषी भारतीयहरू पनि उतै -नेपाल) बाट आएका हुन् भन्ने भ्रम बढेको छ । यसले राजनीतिक चिनारीको संकट बढेको छ । यो जातीय चिनारीको प्रश्न हो । हामी यसबेला भारत सरकारलाई भन्न सक्दैनौं कि यो सन्धि खारेज गर भनेर । नेपाल सरकारलाई यो सन्धिका कारण हाम्रो पहिचान गुम्यो भन्न पनि सक्दैनौं । यसबेला सन्धिको कुरा थाती राखेर हाम्रो चिनारी बलियो बनाउनुपर्ने अवस्था आएको हो । यसमा दुईवटा आधार छन्— एक त भारतको संविधानमा नेपाली भाषालाई मान्यता दिलाउने -यो सम्पन्न भइसकेको छ) र, अर्को हामी भारतीय नेपाली -गोर्खा) का लागि छुट्टै राज्यको व्यवस्था। 

गोर्खाल्यान्डको यो अस्तित्वगत प्रश्नले अहिले कत्तिको मान्यता पाउन सकेजस्तो लाग्छ ? 
कत्तिको, कहाँनेर मान्यता पाएको छ भन्नु भन्दा पनि यो अस्तित्वको लडाइँ अहिले पनि जारी छ । आज भारतमा जेजति राज्यहरू बनेका छन्, अधिकांश भाषाका आधारमा बनेका छन् । तामिल, तेलुगु, गुजराती, बंगाली आदि सबै राज्यको उत्पत्तिमा भाषा पनि परेको छ, राज्यगत अस्तित्व पनि छ । हाम्रो भने भाषाले संवैधानिक मान्यता पाउनै ५० वर्षजति लाग्यो । राज्यको लडाइँ भने जारी छ, कहिले होला, कसरी होला, यो भन्न मुस्किल छ । आज बंगालीको पश्चिमबंगाल अथवा त्रिपुरा नभइदिएको भए उनीहरू बंगलादेशीजस्तै हुन्थे । तर आज उनीहरूको राज्य छ । 
हामी नेपालीभाषी भारतीयलाई भने नेपालका नेपालीजस्तै मात्रै ठानिन्छ, आफ्नो राज्य नभएर यो स्थिति आएको हो । यसकारण गोर्खाल्यान्ड भनेको हाम्रो चिनारीको कुरा मात्रै होइन । यो भूगोलको माग हो, इतिहासको माग हो । नीति-निर्धारण तहमा भारतीय नेपालीले स्थान पाउनु पनि यो अस्तित्वको कुरा आएको हो । इतिहासदेखि आन्दोलन गर्ने चाहिं हामी, अनि आज राज्य पाउने भने उत्तराखण्ड, झारखण्ड, छत्तीसगढ, तेलांगना ? यसो हुनुमा पनि एउटै कारण छ— निर्णायक् तहमा हाम्रो मान्छे छैन, हामीलाई साथ दिने कोही छैन । गोर्खाल्यान्डका लागि बारम्बार संघर्ष भइरहेको छ । कुरा कहाँ गएर अड्किएको हो ? ठीक समयमा, ठीक प्रकारले, ठीक ठाउँमा पुर्‍याएको खण्डमा हाम्रो माग पूरा हुन्छ । अब यो 'ठीक' कहिले हो, के हो, कस्तो हो— यसबारेमा पनि बहस सुरु भएको छ । मैले खुलेर भनेको छु, लेखेको छु— हामी बंगाल सरकारबाट जति टाढा हुन सक्यौं, त्यति नजिक गोर्खाल्यान्ड छ ।
कान्तिपुर, प्रकाशित मिति: २०७० भाद्र ३० ०८:५७

Related Posts

0 Response to "'गोर्खाल्यान्ड हाम्रो अस्तित्वको लडाइँ हो’"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.