लेप्चा संगठन ईल्टाले ममता ब्यानर्जीलाई ‘भाग्य बिधाता’को उपनामले सम्मानित गर्ने शान्ति धर्ना र सम्मान कार्यक्रम संग कुनै सम्बन्ध छैन – एल एस तामसाङ
डी के वाइबा, कालिमन्युज, कालेबुङ 31 अगष्ट 2013। छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई ठाडै बिरोध गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले लेप्चा जातिको सर्वाङ्गिन बिकाशको निम्ति लेप्चा बिकाश बोर्ड गठन गरिदिएर लेप्चा जातिको नै उद्धार गरेको ईण्डिजेनस लेप्चा ट्राईबल एसोसिएसन(ईल्टा)ले बताएको छ।
ईल्टा अध्यक्ष एल एस तामसाङले आज यहाँको लेप्चा होस्टेलमा एक पत्रकार सम्मेलन डाकेर मुख्यमन्त्री ब्यानर्जीलाई लेप्चा जातिको उद्धारको निम्ति “किङ चुम दार्मित” अर्थात ‘भाग्य बिधाता’को उपनामले सम्मानित गर्ने घोषणा गरे। लेप्चा जातिले धेरै लामो समयदेखि आफ्नो हक र अधिकारको निम्ति आन्दोलन गर्दै आईरहेको भए पनि यसभन्दा अघिका सरकारले भने न्याय नदिएको तिनले बताए।
“हामीले लेप्चा बिकाश परिषद धेरै लामो संघर्ष गरेर प्राप्त गरेका हौँ। यसको निम्ति धेरैले जेल समेत जान पर्यो। कोलकोता, सिलगडी आदि स्थानहरुमा लगातार रुपले धर्ना प्रदर्शन गर्दै आएको कारण आज यो परिषद गठन गरेको छ। आजभन्दा अघिका सरकारले यस बिषयमा कुनै पहल गरेन। बङगालमा ममता ब्यानर्जीको सरकार आए पछि मात्रै हाम्रो माग पुरा भएको छ। यसैकारण तिनलाई हामीले ‘भाग्य बिधाता’को उपनामले सम्मानित गर्ने घोषणा गरेका हौँ” तिनले भने। पहाडमा लेप्चा बिकाश बोर्डको माध्यमबाट हुने बिकाश केवल लेप्चा जातिको मात्र नभएर सम्पूर्ण पहाडवासी कै बिकाश हो भनि तिनले अझ जनाए।
यस अवसरमा तिनलाई दुईदिन अघिदेखी यहाँको थाना अघि त्रिकोण पार्कमा लेप्चा समुदायका मानिसहरुले शांति बहालीको मागमा शुरु गरेको धर्ना बिषयमा प्रश्न गर्दा उक्त धर्ना अनि ईण्डिजेनस लेप्चा संगठनको कुनै सम्बन्ध नरहेको दाबी गरे। “पहाडमा शान्ति होस भनेर धर्नामा बस्नेहरुसंग हाम्रो कार्यक्रमको कुनै सम्बन्ध छैन। हामीले मुख्यमन्त्रीलाई अघिबाटै सम्मानित गर्ने कार्यक्रम तय भएकै कारण आज यस कार्यक्रम हुने तय गरेका हौँ। धर्नामा बस्नेहरुसंग हामी सरोकार राख्दैनौँ” एल एस तामसाङले भने।
तिनलाई पहाडमा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको बिषयमा प्रश्न गर्दा यस बिषयमा समय आए पछि नै आफुहरुले बताउँनेछौँ भनि जनाए। तिनले आगामी 3 सेप्टेम्बरको दिन कालेबुङको मेला ग्राउण्डमा सम्पन्न हुने कार्यक्रममा 20 – 25 हजार लेप्चाहरु सहभागी हुन सक्ने कार्यक्रम रहे पनि अहिलेको राजनैतिक परिस्थिले पाँच छ सय उपस्थित हुनसक्ने जनाए। यद्यपी कार्यक्रम भने निश्चित रुपले हुने तिनले बताएका छन।
अर्कोतर्फ 3 सेप्टेम्बरमा हुने कार्यक्रमलाई लिएर यहाँको मेला ग्राउण्डमा तयारी शुरु भएको छ। कार्यक्रमलाई लिएर आज देखि पण्डाल निर्माणको कार्य शुरु भएको छ भने उक्त पण्डाल निर्माण अवधी मेला ग्राउण्डमा ईल्टा पदाधिकारीवर्गले पनि मेला ग्राउण्डको दौडाहा गरे। यता पहाडमा चलिरहेको राजनैतिक स्थितिलाई मध्य नजर राखेर प्रशासनले मेला ग्राउण्ड्को निरिक्षण गरिरहेको छ।
यस अघि नै दार्जीलिङ जिल्ला पुलिस अधिक्षक कूणाल अग्रवालले मेला ग्राउण्डको निरिक्षण गरिसकेका छन भने मेला ग्राउण्ड वरीपरि रहेका बिल्डिङहरुमा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रशासनले कडा नजर राखेको छ।
मेला ग्राउण्डको ठिक मध्यभागमा निर्माण भईरहेको पण्डालमा नजिकैका कुन कुन बिल्डिङहरुबाट सोझै नजर देख्न सकिन्छ भन्ने बिषयमा प्रशासनले कडा निगरानी राखेको छ।
यता पहाडमा शान्ति धर्नाको नाउँमा लेप्चा समुदायका मानिसहरु यहाँको थानाडाँडा परिसर अनि टाउनहल परिसरमा थुप्रिने कार्य जारी रहेको छ। पहाडमा शान्ति बहालीको माग गर्दै शुरु गरेको उक्त धर्नामा दिन दिनै बिभिन्न स्थानहरुबाट आउने लेप्चा समुदायका मानिसहरुको संख्यामा बृद्धि भईरहेको छ। यस बिषयमा ईल्टा अध्यक्ष एल एस तामसाङले आज उक्त धर्ना अनि आफुहरुको कार्यक्रममा कुनै सम्बन्ध नरहेको दाबी गरे पनि वास्तवमा कार्यक्रममा लेप्चाहरुको सहभागीता बडाउँन कै निम्ति धर्नाको बहानामा लेप्चाहरु थुप्रिने कार्य गरिरहेको सुत्रले दाबी गरेको छ। पहाड बन्दले कार्यक्रममा बिभिन्न स्थानहरुबाट लेप्चा समुदायका मानिसहरु सहभागी बन्न नसक्ने सम्भावनालाई मध्यनजरमा राख्दै अनि पहाडमा मुख्यमंत्री ममता ब्यानर्जीको आखाँ अघि लेप्चाहरुको धेरै सहभागीता दर्शाउँन नै वास्तवमा उक्त धर्ना एक् सुनियोजित कार्यक्रम रहेको पनि आशंका गरिएको छ।
एउटा सुत्रले बताए अनुसार यता ईल्टाले धर्ना अनि कार्यक्रममा कुनै सम्बन्ध नरहेको दाबी गरे पनि ईल्टाकै बिभिन्न क्षेत्रहरुमा भएका शाखाहरुलाई धर्नामा व्यापक सहभागी बन्ने निर्देश दिएको छ। उनीहरुले संगठनलाई आरोप मुक्त राख्न लेप्चा झण्डाको प्रयोग नगर्ने समेत स्पष्ट निर्देश दिएको सुत्रले अझ बताएको छ।
यतिमात्र होईन उक्त धर्ना केवल 3 सेप्टम्बरको कार्यक्रम सफल पार्नको निम्ति रचिएको सुनियोजित कार्यक्रम भएको कारण मुख्यमंत्री पहाडबाट फर्केपछि धर्ना समाप्त हुने बताइएको छ।
0 Response to "लेप्चा संगठन ईल्टाले ममता ब्यानर्जीलाई ‘भाग्य बिधाता’को उपनामले सम्मानित गर्ने शान्ति धर्ना र सम्मान कार्यक्रम संग कुनै सम्बन्ध छैन – एल एस तामसाङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.