-->
पहाड बन्दको प्रभाव 31ए राजमार्गमा : वाहनमा आगो, मोर्चा समर्थकहरु पक्राऊ

पहाड बन्दको प्रभाव 31ए राजमार्गमा : वाहनमा आगो, मोर्चा समर्थकहरु पक्राऊ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 29 जुलाई। गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै 72 घण्टाव्यापी पहाड बन्दको घोषणा गरेपछि यसको व्यापक प्रभाव 31 ए राष्ट्रिय राजमार्गमा परेको देखियो। मोर्चाले बन्द अवधी 31 ए राष्ट्रिय राजमार्गलाई खुल्ला राख्ने घोषणा गरे पनि बन्द समर्थकहरु भने सडकमा उत्रिएको थियो। 
यस अवधी 31 ए राजमार्ग रम्बीमा बन्द गर्न निस्केका 10 जना बन्द समर्थकहरुलाई पुलिसले पक्राऊ गरेको छ। राष्ट्रिय राजमार्गलाई बन्द गरेको आरोपमा रम्बि पुलिसले गोजमुमो रम्बि शाखाका अध्यक्ष एम बी सिङ, युवा मोर्चा अध्यक्ष जितेन छेत्री, सार्के छेत्री, भीम प्रधान, मनबहादुर छेत्री, योगेश विश्व, देवेन्द्र खाती, दिवस राई, भाष्करहाङ सुब्बा अनि कुन्दन बसोरलाई पक्राऊ गरेको छ। 
पक्रा परेकाहरु बिरुद्ध पुलिसले तोडफोड, राष्ट्रिय राजमार्ग बन्दको आरोप अनि पुलिसलाई अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ। यसमध्ये राष्ट्रिय राजमार्ग बन्दको बिरुद्ध उनीहरुलाई गैरजमानती धारा लगाईएको छ। उनीहरु बिरुद्ध 143, 146, 183 आईपीसि अन्तर्गत मुद्दा दर्ता गरेको छ भने यस संगै 506 (8बी) राष्ट्रिय राजमार्ग बन्दको बिरुद्ध थप मुद्दा गरेको छ।
पक्रा परेकाहरुलाई यहाँको महकुमा अस्पतालमा स्वास्थ्य जाँच गरेपछि आज नै यहाँको न्यायलयमा पेश गरियो। तिनीहरुलाई रम्बि पुलिसले पक्राऊ गरेर रम्बी थानामा ल्याएपछि मोर्चा समर्थकहरुले धेरै बेरसम्म थानामा धेराऊ गर्दै नाराबाजी लगाएर जोडदार प्रदर्शन गरेको थियो। यस अवधी स्थिति निकै तनाव बनेको थियो। 
पक्रा परेकाहरुलाई रम्बी थानाबाट कही लैजान नदिने अडानमा मोर्चा समर्थकहरुले नारबाजी गर्दा थानाको सुरक्षा कठोर बनाईएको थियो। पक्रा परेकाहरुलाई न्यायलयमा पेश गरेपछि 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश अदालतले दिएको छ। अर्कोतिर बन्दको अवधी 31 ए राष्ट्रिय राजमार्ग बालुवाखानी भोटेभिर नजिक एउटा सवारी जलाईदिएको घटना प्रकाशमा आएको छ। 
एस के 01जे 2560 नम्बर भएको सवारी मामखोलाबाट रम्फु नजिक ग्यारेजमा गईरहेको समय अचानक एकहूल मानिसहरु आएर उक्त वाहनमा आगो लगाएको वाहनका चालक राजु मंगरले बताएका छन। मोर्चाले बिहान छ बजेदेखि बन्द डाकेको कारण बन्दको समय अधि नै वाहनलाई ग्यारेजमा राख्न तिनी गईरहेको समयमा एकहूल युवाहरुले आफ्नो वाहन रोकेर आगो लगाईदिएको बताएका छन। अर्कोतिर 31 ए राष्ट्रिय राजमार्ग मल्लिनजिक भालुखोलामा बन्दको अवधी एउटा बाईकमा आगो लगाएर जलाईदिएको छ। 
एस के 01 पी 7674 नम्बर भएको पल्सर बाईक सिक्किम तर्फ गईरहेको समयमा बाटोमा नै अज्ञात व्यक्तिहरुले आगो लगाईदिएको छ। उक्त घटनमा बाईक पूर्णरुपले जलेर खाक भएको छ भने बाईक कसको थियो भन्ने अझसम्म पत्तो लाग्न सकेको छैन। 
यस मामलामा अझसम्म कसैले थानामा प्राथमिकी दर्ता समेत गरेको छैन भने वाहन जलाएको घट्नामा भने वाहनका मालिक राजु मंगरले रम्फु पुलिस थानामा प्राथमिकि दर्ता गरेका छन। यस बिषयमा पुलिसले खोजि अभियान तिब्र पारेको छ भने अझ सम्म कोही पक्रा भने पर्न सकेको छैन। 
बन्दको अवधी आज बिहानै 31 ए राष्ट्रिय राजमार्गमा वाहन जलाईदिएको घटना फैलिए पछि राजमार्गमा वाहनहरुको चलाचल ठप्प रहेको थियो। यस अवधी केवल सेनाका वाहनहरु अनि आपतकालिन सेवाका वाहनहरु मात्र राजमार्गमा कुदेको देखियो । यद्यपी पछिबाट भने राष्ट्रिय राजमार्गलाई खुल्ला राख्न पुलिसले अभियान चलाएको थियो। 
बिभिन्न स्थानहरुमा पुलिसबलले सुरक्षा प्रदान गर्दै राजमार्गमा वाहनहरुलाई सुरक्षित स्थानहरुमा पुर्‍याउँने कार्य गरेपछि मात्र राजमार्गमा वाहनहरुको चलाचल देखिएको थियो। तथापी पुलिसले सुरक्षा प्रदान गरेपनि वाहनहरुको संख्या भने एकदमै नगण्य रहेको थियो।

0 Response to "पहाड बन्दको प्रभाव 31ए राजमार्गमा : वाहनमा आगो, मोर्चा समर्थकहरु पक्राऊ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.