-->

स्मिता सोताङ् राईका कविताहरु .... भ्यालेन्टाइन डे!! .... (ढोकाहरु)

भ्यालेन्टाइन डे!!
पिरतीका मिठा अनुभूति बोक्ने ती प्रेम पत्रहरु,
साटिएका छन् अहिले, सम्बन्ध विच्छेदका कागजात पत्रहरुमा।
उभिनु परेको छ प्रेमीहरुलाई कठघरामा, गम्भीर हत्यारा झै शीर निहुराएर,
आफ्नै प्रेमको विरुद्धमा......
गाढा रातो गुलाफले, प्रेममा रङ्ग भर्न सक्थ्यो भने,
पुरानो किताबको पन्नाभित्र, रङ्ग उडिसकेको, त्यसका पत्रदलहरु मुसार्नु पर्ने थिएन प्रेमीहरुले।
चिया र कफिको तातो चुस्किहरुले, सम्बन्ध न्यानो राख्न सक्थ्यो भने,
सेलाएर जाँदा, खल्लो हुन पर्ने थिएन सम्बन्धहरुले।
म त मनाउँदैछु भ्यालेन्टाइन डे,
आफ्नै घुरेनको सागबारीमा......
साग र डुकुको प्रेमिल संसारमा।
सागको पात ,खाराक खुरुक लाछिएर जाँदा,
झिनो डुकु फुलिरहन्छ....फुलिरहन्छ,
'
बिऊ' बनिनुलाई ।
#मायाले_सहन्छ_पर्खन्छ_धर्य_गर्छ 
Happy Valentine's Day!
#Love_is_to_hold_on_till_the_End !!
Love is in the Air, Just spread it 
  ♥   
14 फरवरी 2019




(ढोकाहरु)
स्कूलका ढोकाहरु खुल्लीसके....
बाबुहरु अझै कुरिरहेछन्, महाजनका बन्द ढोकाहरु।
र पर्खीरहेछन् बाबुका कानहरुले, मालिकका गाली सुन्न पाउने अवसरलाई,
आत्तिरहेछन् बाबुका रुखो हातहरु, बालुवा र सिमेन्टको चुँहुदो झरी छाम्नलाई,
तयार छन् बाबुका बुडो काँध, ढुङ्गाका थाकहरु उचाल्नलाई।
छोरोले अंग्रेजी बोल्नु पाउनु, बाबुले 'अंग्रेजी गाली' खान पाउनु पर्छ।
छोरोले सपना देख्नु पाउनु, बाबुले पसिना बेच्न पाउनु पर्छ।
जब, बाबुको पातलो छालाले, पसिना निस्कने मसिना ढोकाहरु खोलिसक्छन्...
तब, मोटो - मोटो किताबहरुले छोरोको स्कूले झोला भरिन्छन्।

स्कूलका ढोकाहरु खुल्लीसके. .....
बाबुहरु अझै कुरिरहेछन्, महाजनका बन्द ढोकाहरु ......।   11 फरवरी 2019

0 Response to "स्मिता सोताङ् राईका कविताहरु .... भ्यालेन्टाइन डे!! .... (ढोकाहरु)"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.