पहाडमा नयाँ राजनीतिक सन्देश : भाजपाको उदय र बीजीपीएमको स्थिर आधार
कालेबुङ विधानसभा क्षेत्रमा २०२१ मा बीजीपीएमले ३८.१२ प्रतिशत मतसहित केवल ३८७०० मतले विजय हुन सकेको थियो भने भाजपाले ३५.५८ प्रतिशत मत प्राप्त गरेको थियो। २०२६ मा बीजीपीएमको समर्थन लगभग स्थिर रहँदै ३७.०७ प्रतिशतमा कायम रह्यो, तर भाजपाले तीव्र वृद्धि गर्दै ४९.७४ प्रतिशत मत हासिल गरी निर्णायक रूपमा आफ्नो प्रतिद्वन्द्वीलाई उछिनेको देखियो। यस परिवर्तनले भाजपाको पक्षमा मतहरूको बलियो ध्रुवीकरण भएको संकेत गर्दछ, जबकि बीजीपीएमको आधारमा केवल सामान्य क्षय मात्र देखिएको छ।
तर दार्जिलिङ विधानसभा क्षेत्रमा प्रतिस्पर्धा अझ बढी कडा र परिवर्तनशील रह्यो। २०२१ मा भाजपाले ४१.५ प्रतिशत मतसहित बीजीपीएमको २८.६८ प्रतिशत मतमाथि स्पष्ट अग्रता बनाएको थियो। २०२६ मा बीजीपीएमले आफ्नो स्थितिमा सुधार गर्दै ३२.२३ प्रतिशत मत प्राप्त गर्यो, जबकि भाजपाको मत प्रतिशत घटेर ३५.७१ प्रतिशतमा आयो। यद्यपि भाजपाले आसन प्राप्त गर्न सफल भयो, तर मतान्तर उल्लेखनीय रूपमा घटेकाले बीजीपीएमको प्रभाव पुनर्जीवित भएको तथा दुई दलबीच प्रतिस्पर्धा थप सन्तुलित बनेको देखिन्छ।
खर्साङ विधानसभा क्षेत्रमा २०२१ मा बीजीपीएमले ३३.४७ प्रतिशत मत प्राप्त गरेको थियो भने भाजपाले ४२.४३ प्रतिशत मतसहित अग्रता बनाएको थियो। २०२६ मा बीजीपीएम र भाजपा दुवैको मतमा हल्का गिरावटको देखियो | बीजीपीएमको मत ३१.८३ रह्यो, जबकि भाजपाको मत ४१.१८ देखियो । यस निर्वाचन क्षेत्रमा ठूलो राजनीतिक उतारचढावभन्दा पनि सामान्य परिवर्तनसहितको स्थायित्व झल्किएको छ।
समग्र तुलना गर्दा २०२६ मा कालेबुङमा भाजपाको प्रदर्शन उल्लेखनीय रूपमा सुधारिएको, दार्जिलिङमा कमजोर बनेको तथा खर्साङमा सामान्य गिरावटसहित लगभग स्थिर रहेको देखिन्छ। अर्कोतर्फ, बीजीपीएमले कालेबुङ र खर्साङमा आफ्नो अवस्थामा थोरै गिरावट प्रदर्शन गरेता पनि त्यसलाई सामान्यनै मान्न सकिन्छ भने दार्जिलिङमा भने स्थिति बलियो बनाएको ठानिन्छ ।
गहिरो विश्लेषणले देखाउँछ कि भाजपाको उपलब्धि आंशिक रूपमा विपक्षी वा सत्ताविरोधी मतहरूको ध्रुवीकरणका कारण सम्भव भएको हुन सक्छ। साथै, धार्मिक पहिचानबाट प्रभावित मतदाताको एक वर्गको समर्थन पनि यसमा कारक बनेको देखिन्छ। पहाडी क्षेत्रमा गहिरो संगठनात्मक र संरचनागत आधार नभए पनि गोर्खा जनमुक्ति मोर्चा (जीजेएमएम ) र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (जीएनएलएफ) र अन्यदलहरुसँगको गठबन्धनबाट भाजपाले आफ्नो पहुँच विस्तार गर्न र थप समर्थन परिचालन गर्न लाभ उठाएको अनुमान गर्न सकिन्छ।
यसको विपरीत, बीजीपीएमलाई तुलनात्मक रूपमा बलियो धरातलमा स्थापित र असल संगठनात्मक संरचना भएको दल मानिए पनि २०२६ को चुनावी अभियान सञ्चालनमा चुनौतीहरू देखिए। प्रतिवेदनहरूअनुसार स्थानीय नेतृत्व सञ्जाल—जस्तै पञ्चायत प्रतिनिधि र सभासदहरू—लाई प्रचार अभियानका क्रममा सधैं प्रभावकारी रूपमा संलग्न गराइएको वा पर्याप्त परामर्श नगरिएको देखियो । यस प्रकारको समन्वयको कमीले मतदातासम्म पुग्न असर पारेको हुन सक्छ र केही क्षेत्रमा मत प्रतिशत घट्नुका साथै महत्वपूर्ण निर्वाचन क्षेत्रमा लाभ गुमाउनुपरेको हुन सक्छ।
त्यसैले बीजीपीएमको नतिजालाई प्रभाव पार्ने विभिन्न कारणहरू देखिन्छन्, जसमा चुनावी व्यवस्थापनका संगठनात्मक कमजोरीदेखि लिएर मतदाताको व्यवहारलाई प्रभाव पार्ने व्यापक राजनीतिक प्रवृत्तिहरू सम्मिलित छन्।
समग्रमा, पहाडका चुनावी परिणामले प्रतिस्पर्धात्मक तथा परिवर्तनशील राजनीतिक वातावरणलाई उजागर गर्छ। विशेषतः कालेबुङमा भाजपाले आफ्नो प्रभाव विस्तार गर्न सफल भएको देखिए पनि बीजीपीएम अझै पनि जरा–स्तरमा नै बलियो र महत्वपूर्ण राजनीतिक शक्ति बनेको छ।चुनाव परिणामहरूले मतदाताहरू आफ्ना राजनीतिक विकल्पहरू पुनर्मूल्यांकन गर्दारहेछन भन्ने संकेत गर्छ, जसले यस क्षेत्रलाई कुनै एक दलप्रति निर्णायक रूपमा नझुकेको, बरु निरन्तर राजनीतिक रूपमा गतिशील क्षेत्रका रूपमा स्थापित गरिरहने छ।
0 Response to "पहाडमा नयाँ राजनीतिक सन्देश : भाजपाको उदय र बीजीपीएमको स्थिर आधार"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.