रामबहादुर बमजनको बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश: माघ ७ गते बकपत्रका लागि पेसी तोकियो
बीबीसी, ११ जनवरी २०२४ : सर्लाही जिल्ला अदालतले बालयौन दुराचारको मुद्दामा महासम्बोधी धर्मसङ्घका प्रवर्तक रामबहादुर बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बिहीवार रामबहादुर बमजन भनिने रामलाल बमजनको बयान लिएपछि न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले यस्तो आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।
"अहिले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अब माघ ७ गते बकपत्रका लागि पेसी तोकिएको छ," अधिकारीले भने।
बमजनका समर्थकहरूले उनी निर्दोष रहेको र उनलाई फसाउन खोजिएको दाबी गर्दै आएका छन्।
कुनैबेला 'लिटल बुद्ध' र 'बुद्ध बोइ' जस्ता उपनामले चिनिएका बमजनविरुद्ध उनको आश्रममा बस्ने एक अनुयायीले बालयौन शोषणको उजुरी दिएकी थिइन्। त्यसका आधारमा अदालतले बमजनविरुद्ध २०७६ माघमा पक्राउपुर्जी जारी गरेको थियो।
बमजन फरार नै रहेको समयमा २०७७ असारमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। रौतहटकी एक किशोरीले बमजनको आश्रममा रहँदा आफूमाथि बालयौन शोषण भएको बयान दिएकी थिइन्।
सरकारी वकिलको कार्यालयले बालबालिकासम्बन्धी ऐनको हदम्याद नुसार ती किशोरी वयस्क भएपछि मुद्दा दर्ता गरिएको जानकारी दिएको थियो।
सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा बमजनलाई अधिकतम १४ वर्षसम्म जेल सजाय हुनुपर्ने मागदाबी गरेको छ।
उनलाई बुधवार राति सर्लाही पुर्याएर बिहीवार अदालतमा बयानका लागि उपस्थित गराइएको थियो। बमजनको पक्षबाट दुई वकिलले बहस गर्दै उनी निर्दोष रहेको दाबी गरेका थिए।
अन्य अभियोगमा पनि अनुसन्धान
प्रहरीले बमजनका चार अनुयायी बेपत्ता भएको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ। तर बमजनको आश्रमबाट अर्की एक अनुयायी बेपत्ता भएको विषयमा उनको परिवारले यसअघि सर्लाही प्रहरीमा उजुरी दिएको यसअघि बीबीसीसँग बताएको थियो।
बमजनको आश्रममा बस्दै आएकी सर्लाहीको बाग्मती नगरपालिकास्थित काजीराम टोलकी रिता बोट बेपत्ता भएको भन्दै आफ्नी छोरीको खोजतलासका लागि २०७७ पौष १८ गते आमा सोमती बोटले सर्लाहीको हरिऔनस्थित प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
प्रहरीले यसबारे अनुसन्धान भए नभएको केही खुलाएको छैन।
यसअघि पनि बमजनको नाममा सिन्धुपाल्चोक, सिन्धुली र बारा जिल्लामा खोलिएका आश्रममा गएका भक्तहरू बेपत्ता भएका र उनीहरूको 'खोजतलास गरिपाऊँ' भन्दै प्रहरीमा निवेदनहरू दर्ता भएका छन्।
प्रहरीका अनुसार नुवाकोटको मेघाङ गाउँपालिकाकी २९ वर्षीया चिनीमाया तामाङ सिन्धुपाल्चोकको बाँडेगाउँमा रहेको बमजनको आश्रमबाट २०६९ असोजबाट बेपत्ता भएको विषयमा पनि उजुरी परेको छ।
त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ३० वर्षीया फूलमाया रुम्बा पनि सिन्धुपाल्चोककै आश्रमबाट २०७१ माघदेखि बेपत्ता छिन्। त्यही आश्रमबाट हेटौँडाकै ५१ वर्षीय सन्चलाल वाइबा २०७१ चैतबाट बेपत्ता भएको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिकाका ३४ वर्षीय सुरेशकुमार आले पनि २०७२ जेठबाट बाराको खुमजोरस्थित आश्रमबाट बेपत्ता भएको विषयमा बमजनविरुद्ध अनुसन्धान भइरहेको छ।
बमजनको आश्रमबाट बेपत्ता भएको भएको दाबी गरिएकाहरू
- रिता बोट, बाग्मती नगरपालिका, सर्लाही। उमेर: अन्दाजी ३३ वर्ष
- फूलमाया रुम्बा, हेटौँडा उपमहानगरपालिका, मकवानपुर। उमेर: ३० वर्ष
- चिनीमाया तामाङ, मेघाङ गाउँपालिका, नुवाकोट। उमेर: २९ वर्ष
- सन्चलाल वाइबा, हेटौँडा उपमहानगरपालिका, मकवानपुर। उमेर: ५१ वर्ष
- सुरेशकुमार आले, जितपुर सिमरा उपमहानगरपालिका, बारा उमेर: ३४ वर्ष
बमजनका अनुयायी के भन्छन्
बमजनको नेतृत्वमा स्थापित महासम्बोधी धर्मसङ्घकी सदस्य समेत रहेकी भूतपूर्व राज्यमन्त्री यशोदा लामाले बमजनामाथि लगाइएका आरोपहरू झुटो भएको दाबी गरिन्।
“अरूलाई पनि हिंसा नगर्नू, पात समेत नटिप्नू भनेर भनेर सिकाउने गुरुले बलात्कार गर्ने, हिंसा गर्ने गर्नुहुन्छ?” उनले बीबीसी न्यूज नेपालीसँग भनिन्।
“मैले हिजो (बुधवार) प्रहरी हिरासतमा पुगेर उहाँलाई भेटेँ। उहाँले ‘म निर्दोष छु’ भनेर समर्थकहरूलाई चिन्ता नलिन र आवेशमा नआउन भन्नुभएको छ। सत्य सधैँ सत्य नै हुन्छ अदालतलाई अनुसन्धान गर्न दिनुहोस् भन्नुभएको छ,” उनले भनिन्।
बमजन पक्राउ परेपछि पूर्वराज्यमन्त्री लामा उनलाई भेट्न बुधवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेकी थिइन्।
रामबहादुर बमजनले प्रवर्तन गरेको धर्म कस्तो
बमजनले कलिलो उमेरबाटै ध्यान र तपस्या गर्न थालेको बताइन्छ। तर विभिन्न विवादमा मुछिएपछि उनी विगत चार वर्षदेखि सम्पर्कविहीन थिए।
बाराको एउटा एकान्त वनमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका बमजन १६ वर्षको उमेरमै १९ वर्षअघि एकाएक चर्चाको चुलीमा पुगेका थिए।
त्यतिबेला बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिई ध्यानमा लीन भएको दाबी गरेका थिए।
देशका विभिन्न ठाउँहरूमा उनका आश्रम रहेको र देशबाहिर पनि उनका अनुयायीहरूको सङ्ख्या ठूलो रहेको बताइन्छ।
बमजनले स्थापना गरेको संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।
उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए। उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले 'लिटल बुद्ध' को उपनाम दिएका थिए।
तर उनले अपनाएको धार्मिक मार्ग भने बौद्ध धर्मभन्दा फरक रहेको उनका एक अनुयायी तथा अर्का भूतपूर्व राज्यमन्त्री मणि लामाले बताए।
"यो धर्म बौद्धधर्मको कुनै शाखा होइन, यो छुट्टै मार्ग हो। शान्तिको कुरा बौद्ध धर्मसँग मिल्छ तर उहाँले आत्मा र परमात्मा रहेको कुरामा पनि विश्वास गर्नुभएको छ, त्यो चाहिँ बुद्धले विश्वास गर्नुभएको छैन," उनले बीबीसी न्यूज नेपालीसँग भने।
रामबहादुर बमजन विरुद्ध लागेका आरोप के छन्
'लिटल बुद्ध' भनेर पनि चिनिएका रामबहादुर बमजनलाई काठमाण्डूबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मङ्गलवार पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।
यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बमजनलाई ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराई केही वर्षयता खोजी गरिँदै आएको थियो।
सीआईबीका प्रवक्ता नवराज अधिकारीले बीबीसीसँग भने: "आश्रममा बस्दा त्यहाँ काम गर्ने विभिन्न युवतीलाई शोषण गरेको, बेपत्ता गराएको लगायतका आरोप छन्। धेरै ठाउँबाट जाहेरी परेकाले प्रहरीले आज त्यसलाई एकीकृत पार्ने काम गरिरहेको छ।"
"जाहेरी विवरण जुटाउने काम भइरहेको छ। जहाँ जहाँबाट जाहेरी परेको छ त्यहीँबाट कानुनी प्रक्रिया बमोजिम मुद्दा चल्नेछ," प्रवक्ता अधिकारीले भने।
0 Response to "रामबहादुर बमजनको बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश: माघ ७ गते बकपत्रका लागि पेसी तोकियो"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.