
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ७ हजार ६९० घर भत्किए
Don't Miss
जाजरकोटमा तीन हजार ५९० र रुकुम पश्चिममा चार हजार एक सय घर पूर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भएकाे गृहमन्त्रायले जनाएकाे छ
५ नोभेम्बर २०२३, नेपाल होम्स, काठमाडौं । शुक्रबार मध्यरातमा जाजरकोट जिल्लाको रामीडाँडालाई केन्द्रबिन्दू बनाएर गएको ६.४ म्याग्निच्यूटको भूकम्पले ठूलो धनजनको क्षति भएको छ ।
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सात हजार ६९० निजी घरमा पूर्ण तथा आंशिक क्षति भएको गृहमन्त्रालयले जानकारी गराएको छ ।
जाजरकोटमा तीन हजार ५९० घरमा क्षति भएको छ, जसमध्ये ९०५ घर पूर्ण रुपमा भत्किएका छन् भने दुई हजार ६८५ घरमा आंशिक रुपमा क्षति पुगेको बताइएको छ ।
यस्तै, रुकुम पश्चिममा चार हजार एक सय घरमा क्षति पुगेको छ । जसमध्ये दुई हजार घर पूर्ण रुपमा भत्किएको र दुई हजार एक सय घरमा आंशिक क्षति भएको गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।
यस्तै, छिमेकी जिल्लाहरु सल्यानमा २५, रुकुमपूर्वमा ५ र दैलेख तथा बैतडीका केही घरमा पनि पूर्ण क्षति भएको गृहको तथ्यांक छ । यस्तै, रुकुमपूर्वमा ११८, सल्यानमा ९७ र प्युठानमा २९ घरमा आंशिक क्षति पुगेको छ ।
गृह मन्त्रालयका अनुसार भूकम्पले ११ जिल्लाहरु प्रभावित भएका छन् । हालसम्म जागरकोट र रुकुम पश्चिम जिल्लामा १५७ जनाको मृत्यू र ३७५ जना घाइते भएको गृहले जनाएको छ । सामान्य घाइतेहरुको उपचार स्थानीय तथा जिल्ला अस्पतालमा र गम्भीर घाइतेहरुलाई हवाई उद्दार गरी काठमाडौं, सुर्खेत तथा नेपालगञ्जका अस्पतालहरुमा उपचार भइरहेको छ ।
यसअघि पनि पश्चिम क्षेत्रका विभिन्न जिल्लामा पटक पटक भूकम्प जाँदा घरहरु भत्किएका थिए । गत माघमा बाजुराको हिमाली गाउँपालिकाको विच्छ्यामा केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा २५ घर भत्किएका थिए ।
१६ असोज ०८० मा बझाङमा दुईपटक भूकम्पको झड्का महशुस भएको थियो, जसले बझाङमा दर्जनौं घर तथा सार्वजनिक भवनहरु भत्किएका थिए । त्यसबेला ६.६ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो । तर, अहिलेजति क्षति भने हुन पाएन ।
सुदूरपश्चिमका ८० प्रतिशत घरहरुले ठूलो भूकम्पको झड्का थेग्न नसक्ने एक अध्ययनले पनि देखाएको छ ।
०७२ को भूकम्पले साढे सात लाख घरमा क्षति
करिव साढे आठ वर्षअघि ०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले ३२ जिल्लामा सात लाख ६२ हजारभन्दा बढी घर भत्किएका थिए । १२ वैशाखमा गोरखाको बारपाकलाई केन्द्रबिन्दू बनाएर गएको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो ।
१२ वैशाखको पहिलो झड्कापछि धादिङ, दोलखा, रामेछाप–सोलुखुम्बु लगायत क्षेत्रलाई केन्द्र बनाएर पटक पटक भूकम्प गएको थियो । त्यसबेला पाँच सयभन्दा बढी पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक छ ।
त्यतिबेला भूकम्पले निजी घर तथा भवनमा मात्र नभई ऐतिहासिक सम्पदा, दरबार, मठमन्दिर लगायतमा पनि ठूलो क्षति पुर्याएको थियो । जसको अहिले पनि धमाधम मर्मत सम्भार र पुनर्निर्माणको काम भइरहेको छ । सरकारले पुनर्निर्माण प्राधिकरण गठन गरेर भूकम्पले भत्किएका निजी घर तथा भवन, सार्वजनिक संरचना, ऐतिहासिक सम्पदा, मठमन्दिर, दरबारहरु पुनर्निर्माण गरेको थियो ।
यस पटक पनि जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि केन्द्र सरकार, सरकारका विभिन्न निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र, दातृ संस्था, भारत, चीन लगायत विभिन्न देशले ठूलो सहयोग घोषणा गरिरहेका छन् ।
जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा ठूलो संख्यामा घरहरु भत्किएको हुनाले पुनर्निर्माणमा मोटो रकम खर्च हुने प्रारम्भिक अनुमान छ ।
0 Response to "भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ७ हजार ६९० घर भत्किए"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.