-->
 टिकटकपछि बिगो लाइभ र स्न्यापच्याटजस्ता एप पनि 'निगरानीमा'

टिकटकपछि बिगो लाइभ र स्न्यापच्याटजस्ता एप पनि 'निगरानीमा'

बी बी सी नेपाली , २९ नोभेम्बर २०२३ : 
सामाजिक सञ्जाल टिकटक प्रतिबन्धपछि कतै आलोचना र कतै प्रशंसा पाइरहेको सरकारले थप सामाजिक सञ्जाल प्रतिबन्धको तयारी गरिरहेको एकजना अधिकारीले बताएका छन्।

टिकटकजस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि पनि निगरानी सुरु गरिएको प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी भइरहेको बीबीसीलाई बताए।

“म तीनलाई सोसल होइन एन्टी सोसल मिडिया भन्छु। तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउनेबाहेक केही गरेका छैनन्,” रायमाझीले भने।

“हामी यसको प्राविधिक पक्ष र समाजमा पारेका सकारात्मक नकारात्मक प्रभावहरूबारे अध्ययन गरिरहेका छौँ।”
  • टिकटक अझै केही आईएसपीमा खुल्छ, बन्द नगरे कारबाहीको चेतावनी
  • टिकटकका लागि भीपीएन प्रयोग र डीएनएस परिवर्तन ब्लक गर्न किन 'असम्भव'?
  • टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित
उनले प्रधानमन्त्री कार्यालयले विज्ञहरूसहितको एउटा टोली नै बनाएर ती एपहरूको निगरानी गरिरहेको बताए।

टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दर्ता भएका एक दर्जन बढी मुद्दा विचाराधीन छन्।

अदालतले उक्त निर्णयको कानुनी आधारबारे सरकारसँग मङ्सिर २१ गतेभित्र जवाफ माग गरेको छ।

कुन-कुन एपमाथि निगरानी

रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले निगरानीमा राखेका एपहरूमा बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायत छन्।

बिगो लाइभ र लाइकी सिङ्गापुरमा रहेको बिगो टेक्नोलोजीजका लाइभ स्ट्रिमिङ र छोटा भिडिओ राख्न मिल्ने एपहरू हुन्।

टिकटकजस्तै यी एपहरू पनि चिनियाँ कम्पनीले सञ्चालन गर्छन्।

भारतले समेत टिकटकसँगै बिगो लाइभ, लाइकीसहित ५९ वटा चिनियाँ एपहहरूमाथि सन् २०२० मा प्रतिबन्ध लगाएको थियो।

टेलिग्राम रुसी म्यासेजिङ एप हो।

यो पनि फेसबुकको म्यासेन्जरजस्तै समूहमा कल र म्यासेज गर्न मिल्नेगरी बनाइएको छ।

अनलाइन डेटिङ एप टिन्डर र म्यासेजिङ एप स्न्यापच्याट भने अमेरिकी हुन्।

स्न्यापच्याटमा पठाइएका तस्बिर र भिडिओहरू प्रापकले हेरिसकेपछि वा त्यसको केही समयपछि नै स्वत: डिलिट हुने सुविधाका कारण यो किशोर किशोरीहरूमाझ लोकप्रिय रहेको बताइन्छ।

यस्ता अधिकांश एपहरू यौनसम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदानका लागि प्रयोग भइरहेको र त्यसले धेरै नेपाली नागरिकहरूलाई असर पारेको आफूहरूको प्रारम्भिक अध्ययनबाट पाइएको रायमाझीले बताए।

प्रधानमन्त्री कार्यालयले त्यसबाहेक थप एपहरूबारे पनि निगरानी भइरहेको जनाएको छ।

टिकटकपछि अरु एपहरू पनि बन्द हुँदैछन्?

रायमाझी यी एपहरू अहिल्यै बन्द गर्न सिफारिस गर्ने भन्दा पनि निगरानीमा राखिएको बताउँछन्।

“अहिले हामीले नजिकबाट निगरानी गरिरहेका छौँ। यसका सबै पक्षहरूको अध्ययनपछि प्रतिवेदन नै बनाएर सार्वजनिक गर्छौँ,” उनले भने।

“यसबाट के निष्कर्ष आउँछ। अहिलेसम्मको अध्ययनले के देखाउँछ भने यी गलत छन्, बन्द हुनुपर्छ भन्ने नै लागेको छ।”

कतिपय यस्ता एपहरूबाट आर्थिक अपराधसमेत भएको दाबी प्रधानमन्त्रीको सचिवालयको छ।

“प्रारम्भिक रूपमा हामीले सकारात्मक पक्ष दुई प्रतिशत भेट्टायौँ भने नकारात्मक ९८ प्रतिशत भेट्टाएका छौँ। त्यसका आधारमा हामीले सिफारिस गर्ने त बन्द गर्ने भन्ने नै हुन्छ,” रायमाझीले भने।

उनका अनुसार यसअघि नै सरकारले बन्द गर्ने प्रयास गरेका पब्जी र फ्री फायर जस्ता एपहरू पनि निगरानीमा छन्।

प्रहरीले के गर्दैछ?

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख नविन्द अर्यालले टिकटकपछि अरू एपहरू बन्द गर्नेबारे आफूहरूलाई कुनै जानकारी नआएको बताए।

“हामी अहिले भीपीएन प्रयोगबाट हुने असुरक्षा कम गर्नेतिर केन्द्रित भएका छौँ। अरू एप बन्द गर्नेबारे हामीलाई अहिलेसम्म कुनै जानकारी आइसकेको छैन,” अर्यालले मङ्गलवार भने।

प्रहरीले कात्तिक १७ गते सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपालमा सबैभन्दा धेरै साइबर अपराधका उजुरी फेसबुक र फेसबुककै म्यासेजिङ एप म्यासेन्जरमार्फत भएका देखिन्छन्।

नेपाल प्रहरीका अनुसार साउनदेखि कात्तिकबीचको अवधिमा म्यासेन्जर प्रयोग गरेर भएका साइबर अपराधका उजुरी ३,७७८ वटा छन्।

यो अवधिमा दोस्रो धेरै उजुरी टिकटकसँग सम्बन्धित छन्। टिकटकको माध्यम प्रयोग भएर अपराध भएको दाबी गर्दै ५४८ वटा उजुरी प्रहरीमा परेको छ। 

अझै केही आईएसपीमा खुल्छ टिकटक, बन्द नगरे कारबाहीको चेतावनी

२९ नोभेम्बर २०२३: नेपालमा प्रतिबन्धपछि पनि अधिकांश इन्टरनेट सेवाप्रदायकले आफ्नो नेटवर्कबाट टिकटक “नचल्ने नबनाएको पाइएको” सरकारले गठन गरेको प्राविधिक अनुगमन समितिका संयोजकले बताएका छन्।

सरकारले गत कात्तिक २७ गते नेपालमा टिकटकमा प्रतिबन्ध लगाएको थियो।

उक्त प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा कैयौँ रिट निवेदन दर्ता भएका छन् भने अदालतले सरकारका नाममा कारण देखाऊ आदेश दिएको छ।

टिकटक प्रतिबन्धको निर्णयलगत्तै सरकारले एउटा प्राविधिक अनुगमन समिति गठन गरेको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायको संयोजकत्वमा बनाइएको उक्त समितिले एक साता लगाएर विभिन्न इन्टरनेट सेवाप्रदायकहरूको अनुगमन गरी एउटा प्रतिवेदन बुझाइसकेको छ।

उनका भनाइमा टिकटक प्रतिबन्धको कार्यान्वयन “आंशिक रूपमा मात्र भएको” देखिएको छ भने प्रयोगकर्ताले भीपीएन र डीएनएसको प्रयोग गर्ने गरेको पाइएको छ।

कतिपय सेवाप्रदायकहरूले प्रधानमन्त्री कार्यालयसँगको छलफलमा प्राविधिक कारण देखाउँदै प्रतिबन्ध कार्यान्वयन गर्न समस्या भएको गुनासो गरेको बुझिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का सूचनाप्रविधिविज्ञले “प्राविधिक कठिनाइ भए त्यसलाई सहजीकरण गर्न सरकारले पहल गर्ने तर अटेर गर्नेलाई कारबाही गरिने” चेतावनी दिएका छन्।

कार्यान्वयनको अवस्था
टिकटक प्रतिबन्धको अनुगमनका लागि बनाइएको प्राविधिक समितिका संयोजक रायले सरकारको निर्णय “आंशिक” मात्र कार्यान्वयन भएको पाइएको बताए।

“हामीलाई ७० वटा इन्टरनेट सेवाप्रदायकले निर्णय कार्यान्वयन गरिसक्यौँ भनेर लेखेर पठाएका थिए। त्यसमध्ये १७ वटालाई छानेर हामीले अनुगमन गरेका थियौँ,” उनले भने।
  • टिकटकपछि बिगो लाइभ र स्न्यापच्याटजस्ता एप पनि 'निगरानीमा'
  • टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित
“सत्र वटामध्ये छ वटाले मात्र टिकटक बन्द गरेको वा नचल्ने बनाएको तर ११ वटाले नगरेको पाइयो। उनीहरूलाई हामीले स्पष्टीकरण सोधेर पत्र पठाएका छौँ।”

रायले चित्तबुझ्दो जबाफ नदिए सरकारी निर्णय कार्यान्वयन नगर्नेमाथि कारबाही हुने बताए।

प्राधिकरणका अनुसार हाल नेपालभरि गरेर करिब १३० जति इन्टरनेट सेवाप्रदायक रहेका छन्।

टिकटक चलाउन नदिनु अभिव्यक्ति स्वतन्त्रताको हननसरह भएको भन्दै काठमाण्डूमा प्रदर्शन पनि भएको थियो

कारबाहीको चेतावनी
नेपालमा इन्टरनेट सेवा दिन कम्पनीमध्ये ७० वटाले मात्र जानकारी पठाएकाले अन्यलाई मङ्गलवार एउटा सूचना र सेवाप्रदायकको सूची जारी गर्दै प्राधिकरणले २४ घण्टाभित्र जानकारी नदिए कारबाही गर्ने चेतावनी पनि दिएको छ।

उक्त सूचनामा भनिएको छ, “संलग्न सूचीमा उल्लिखित इन्टरनेट सेवाप्रदायक कम्पनीबाट २४ घण्टाभित्र कुनै पनि जबाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसञ्चार ऐन-२०५३ बमोजिम अनुमतिपत्र खारेजीलगायतको कारबाही प्रक्रिया अगाडि बढाइने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।”

प्राधिकरणले जारी गरेको सूचीमा अधिकांश काठमाण्डूबाहिर रहेका सेवाप्रदायक रहेको देखिन्छ।

रायले अनुगमनका क्रममा प्रतिबन्ध कार्यान्वयन नगरेको पाइएकालाई दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा २ बमोजिम कारबाही हुने चेनावनी दिइएको बताए।

उक्त उपदफामा भनिएको छ, “कुनै व्यक्तिले यस ऐनबमोजिम अनुमतिपत्र नलिई वा अनुमतिपत्रमा उल्लिखित सर्तहरूको पालन नगरी दूरञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिबाना गरी त्यस्तो काम बन्द समेत गराउन सक्ने छ।”

त्यसपछि पनि अटेर गरेमा इजाजतपत्र खारेजसम्म हुन सक्ने प्राधिकरणका अधिकारीहरूको भनाइ छ।

सेवाप्रदायकको गुनासो
प्रतिबन्धपछि प्रधानमन्त्री कार्यालयमा सरोकारवालाहरूसँग भएको एउटा छलफलमा सेवाप्रदायकले टिकटक बन्द गर्न प्राविधिक समस्या रहेको बताएका थिए।

उनीहरूले आफ्नो नेटवर्कमा बन्द गर्दा पनि प्रयोगकर्ताले भीपीएन र डीएनएसमार्फत् उक्त एप चलाउने बताएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालका सूचनाप्रविधिविज्ञ प्रकाश रायमाझीले सेवाप्रदायकको गुनासोलाई दृष्टिगत गरेर प्राविधिक समस्याहरू के हुन् र तिनलाई समाधान गर्न के गर्नुपर्छ भन्ने सुझाव आफूहरूले मागेको बताए।

“प्राविधिक समस्या भए त्यसलाई सहजीकरण गर्ने काम सरकारले गर्छ तर अटेर गरेर कसैले टिकटक चल्न दिइरहेको छ भने कानुनअनुसार कारबाही हुन्छ,” उनले भने।

यद्यपि रायको संयोजकत्वमा रहेको प्राविधिक समितिका सदस्य पनि रहेका इन्टरनेट सेवाप्रदायक सङ्घ (आईस्प्यान)का अध्यक्ष सुधीर पराजुली प्रतिबन्धको कार्यान्वयन आंशिक मात्र भएको कुरा सत्य भए पनि त्यो सेवाप्रदायकले अटेरी गरेकाले नभएको नभएको बताउँछन्।

“सबैजसो सेवाप्रदायकले सरकारी निर्णय कार्यान्वय गरेका छन् तर मानिसहरूले ओपन डीएनएस र भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेका छन्। त्यसले बन्द गर्न कठिनाइ भएको हो,” उनले भने।
  • के कसैले चाह्यो भने बन्द गरिदिन सक्छ?
  • के विश्वभरि इन्टरनेटको कुलत बढ्दो समस्या बनेको हो
  • हावामार्फत् प्रकाशपुञ्जका माध्यमले उच्च गतिको इन्टरनेट
टिकटक बन्द गर्न कस्तो कठिनाइ

पराजुलीका अनुसार अहिले टिकटकका लागि ‘जेनरेट’ हुने ‘यूआरएल’हरू परिवर्तन भइरहने गरेको पाइएको छ। त्यसले गर्दा पूर्ण रूपमा टिकटक बन्द गर्न नसकिएको हो।

सेवाप्रदायकहरूले अहिले टिकटकसम्बद्ध "सात-आठवटा यूआरएल बन्द गरेको" तर टिकटकको "एल्गरिदमले नयाँनयाँ यूआरएल बनाइदिने" उनको दाबी छ।

  • सामाजिक सञ्जाल नियमन निर्देशिका र अनलाइन व्यवसायमा कडाइ गर्ने कानुनमा के छ
  • मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
राय पनि अहिले आफूहरूले सूचीकृत गरेका केही यूआरएल मात्र बन्द गरिएको तर अन्य विभिन्न माध्यमबाट टिकटक चलिरहेको पाइएको बताउँछन्।

“नयाँ बन्ने प्रत्येक यूआरएललाई ट्र्याक गर्दै बन्द गर्नुपर्ने अवस्था रहेछ। त्यो प्राविधिक समस्या कसरी हल गर्ने भन्ने चुनौती पनि देखियो,” उनले भने।

उनका भनाइमा पहिले ‘पोर्न साइट’हरू बन्द गर्दा पनि त्यस्तै समस्या देखिएको थियो।

प्राधिकरणका अनुसार नेपालमा बन्द गरिएका सबैभन्दा धेरै वेबसाइट र अन्लाइन एप्लिकेशनहरूमा ‘पोर्नग्र्याफिक’ भनिने अश्लील वा यौन सामग्रीसँग सम्बन्धित छन्।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै देशभरि प्रदर्शनहरू भइरहेका बेला विसं २०७५ सालमा सरकारले "इन्टरनेटमा उपलब्ध हुने अश्लील सामग्रीका कारण यौनहिंसाका घटना बढेको" भन्दै त्यस्ता वेबसाइटहरू बन्द गर्ने निर्णय गरेको थियो।
  • टिकटकबाट ज्यानै जाने खालका काम किन सिक्छन् बालबालिका
  • बालबालिकामा मोबाइलको लतले निम्त्याउँदै गम्भीर समस्या, छुटाउने कसरी?
त्यसयता यस्ता वेबसाइटहरूको निरन्तर अनुगमन भइरहेको र अहिलेसम्म त्यस्ता सामग्री उपलब्ध हुने पाँच लाख वटाभन्दा बढी वेबसाइट बन्द भइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार नेपालमा क्रिप्टोकरेन्सी र अन्लाइन जुवासम्बन्धी पनि १०० वटाभन्दा बढी वेबसाइट बन्द गरिएका छन्।

तर केही प्रयोगकर्ताहरूले भीपीएन र विशेष प्रकारका ब्राउजर प्रयोग गरेर प्रतिबन्धित साइट र एप खोल्ने गरेको पाइएको छ।

टिकटक बन्द गर्ने निर्णय

मन्त्रिपरिषद्ले "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै नेपाली इन्टरनेटमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय हुँदा नेपालमा तिहारको बिदा चलिरहेको थियो।

बिदा सकिएलगत्तै सर्वोच्च अदालतमा टिकटकमाथि लागेको प्रतिबन्धविरुद्ध विभिन्न मुद्दा दर्ता भएका थिए।

नेपालमा टिकटक बन्द गर्ने निर्णय मौलिक हकविरुद्ध रहेको र त्यसले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको दाबी निवेदकहरूको छ। उनीहरूले नेपालमा टिकटक बन्द गर्न मिल्ने कानुनी आधार नरहेको बताएका छन्।

नेपालमा निकै लोकप्रिय रहेको उक्त भिडिओ शेअरिङ एपमाथिको प्रतिबन्धविरुद्ध एउटा समूहले काठमाण्डूमा प्रदर्शन पनि गरेको थियो।

टिकटकको आपत्ति
नेपालमा टिकटक बन्द गर्ने घोषणा भएपछि टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनी बाइटड्यान्सले नेपालको नियामक दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै उक्त प्ल्याटफर्मलाई बन्द गर्ने सरकारको निर्णयबाट आफू ‘चकित परेको’ जनाएको थियो।

बाइटड्यान्सले सातबुँदे पत्रमा नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे स्मरण गराउँदै प्रतिबन्धका कारण नेपाली युवाहरूलाई आर्थिक हानि हुने जनाएको थियो।

प्रयोगकर्ताको सुरक्षा टिकटकको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको पनि उल्लेख गरेको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकलाई उत्तर फर्काउँदै नेपाल सरकारको निर्णय पालना गर्न तथा उक्त प्ल्याटफर्मलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको थियो।

टिकटकका अनुसार गत अगस्ट २९ मा यो सेवा नेपालमा डिजिटल सेवा करदाताको रूपमा दर्ता भएको छ।

नेपालमा टिकटक कति लोकप्रिय
बीबीसी मिडिया एक्शनले प्रकाशित गरेको एउटा प्रतिवेदनका अनुसार नेपालमा यूट्यूब र फेसबुकपछि सर्वाधिक हेरिने सामाजिक सञ्जालमा टिकटक पर्थ्यो।

यूट्यूब र फेसबुक सबै उमेर समूहका नेपाली प्रयोगकर्ताहरूमा लोकप्रिय छन् भने टिकटक युवा पुस्ताले निकै रुचाएको थियो।

सोह्रदेखि २४ वर्षसम्मका सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये ८० प्रतिशत टिकटकमा थिए।

केही टिकटक प्रयोगकर्ताले टिकटकलाई आयआर्जनको माध्यम पनि बनाएका थिए।

0 Response to " टिकटकपछि बिगो लाइभ र स्न्यापच्याटजस्ता एप पनि 'निगरानीमा'"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.