
जी टी ए चुनाव २०१२ अनि २०२२ : नयाँ नेताहरुको जन्म : के निर्दलीय उम्मेदवारहरु निर्दलीय नै हुन त ?
Don't Miss
कालिमन्युज, कालेबुङ्ग, १७ जुन २०२२ : गत 2 वर्ष भित्र दार्जीलिङ्ग कालेबुङ्ग पहाडको राजनैतिक महलमा अझ धेर प्रजातन्त्र आयो भन्न अत्युक्ति नहोला | यो परिवर्तनले एउटै राजनैतिक दल र नेताको वर्चस्व अब नचल्ने परिस्थिति जन्मायो | सोशियल मिडिया र उन्नत प्रौद्योगिकीले त झन यसमा लिस्नुको काम नै गर्यो | धेरै नयाँ नेताहरु संगै नयाँ पार्टीहरुको पनि प्रार्दुभाव भयो | राम्रो पनि भयो नराम्रो पनि |
स्वतंत्रता, अधिकार र गणतन्त्रको नाममा सारा विश्वमा नै चलिरहेको विप्लवले यहाँ पनि ठुलो असर परयो | यो परिवर्तनले बोल्नु सक्नेलाई अझ बोल्ने बनायो भने बोल्नु नसक्नेलाई पनि बोल्ने बनायो | तर कतिले भन्ने कुरा पनि बके नभन्ने पनि | कत्तिले बोलेर सचेत बनाए, धेरै कुरो उजागर गरिदिए तर कत्तिले चुपो लागेरै कुरा पचाए | यता कतिले बेसी बोलेर आफ्नै पनि भण्डाफोर गरिपठाए भने कतिले आफ्नो मान मर्यादा नै बिर्से | हुने हुनामी पनि भयो नहुने पनि भयो | लेखाजोखा गर्दा कतिको दृष्टिकोणमा राम्रो भयो भने कतिको आँखाले नोक्सान मात्रै देखे, तर संतुलन भने नजर आएन |
परिवर्तनको अर्को असर यस्तो पनि थियो- ठुलो समूहलाई सम्बोधन गर्ने र वरिपरि थुप्रै सेवकहरु लिएर हिड्नेहरुले त्यो सुविधा गुमाए अनि सानोमा नै सन्तुष्ट हुन कर लगायो | अर्कोतिर कहिले गाली गर्न नसक्ने व्यक्ति र पछि पछि हिड्न वाध्य हुने समर्थक र निकायले पनि गाली गर्न सक्ने आँट पायो अनि गर्जियो पनि |
यसपालिको २०२२को गोर्खाल्याण्ड क्षेत्रिय् प्रशासन (जीटीए) को चुनावले त अझ धेरै प्रोत्साहन दिलायो | अरुको नेतृत्वमा रहन नचाहने तर आफ्नै नेतृत्वमा अरुलाई हिड़ाउने चाहना भएका नेताहरुले पनि खुट्टा टेक्ने मौका पाए भने अरुलाई पाइतालामा दलेर हिडनेहरुले त्यसको नतिजा के हुँदो रहेछ त्यो पनि देख्न पाए | “जी हजुरी” गर्दा पनि आफूलाई नली खुट्टाको रौंसम्म पनि नमान्ने धेरैलाई आफ्नो क्षमता देखाउन सक्ने एउटा प्ल्याटफर्म दिलायो | यतिमात्रै होइन गाँउ गाँउ र टोल टोलले पनि आ आफ्नो स्थानिय नेता जन्मायो, तिमी हाम्रो नेता हुनुपर्छ भनेर कत्तिलाई जबर्जस्ती उस्काएर पनि नेता बनायो | तर हामी सबैले सामुहिक नेता बनाउ भनेर नेता खोज्ने काम बिरलै भयो जुन काम बाँकी नै छ, सायद समयमा हुन्छ भन्ने आशा राखौं |
गोर्खाल्याण्ड क्षेत्रिय् प्रशासनको प्रथम चुनाव भएको दश वर्ष पछि दोस्रो चुनाव आगामी २६ जुन २०२२ मा हुन गइरहेको छ जो खुबै रोचक अनि केही बेग्लै प्रकारको पनि देखिन्दैछ | प्रथम चुनावमा विजयी हुने दल गोर्खा जनमुक्ति मोर्चाले भने यस दोस्रो चुनावमा भाग लिइरहेको छैन | तर भर्खरै मात्रै जन्म भएको दल हाम्रो पार्टीले भने ४५ वटै समष्टीमा आफ्नो उम्मेद्वार दिएर प्रतिद्वन्दिता गरिरहेकोछ, यो सायद प्रथम चुनावसंगको भिन्नताहरुमा मुख्य हो |
यस चोटी कुल ३१८ जनाले नामांकन भरेता पनि १ जनाको नामांकन रद्ध भएपछि ४० जनाले नामांकन फिर्ता लिएपछि वर्तमानमा २७७ उम्मेद्वारहरु चुनावको मैदानमा उत्रेका छन जसमध्ये १७१ जना निर्दलीय छन | वर्तमानमा निर्दलीयहरु मध्ये केहीले भने कुनै कुनै दलहरुलाई सघाउने घोषणा गरिसकेका छन|
यता आधिकारिक रुपमा चुनावमा भाग नलिएर एक प्रकारले चुनाव बहिष्कार नै गरेका राष्ट्रिय दलहरुमा भारतीय जनता पार्टी र् यसको समर्थक दलहरुमा गोरामुमो संगै केही क्षेत्रिय पार्टीहरु क्रामाकपा अनि अभागोलि संगै गोर्खा जनमुक्ति मोर्चा पनि सामेल छ | यता चुनावमा भाग लिइरहेका दलहरुमा आधिकारिक रुपमा राष्ट्रिय पार्टीहरु भारतीय राष्ट्रिय कांग्रेसले ५ वटा, भारतीय कम्युनिष्ट पार्टीले १२ र सर्वभारतीय तृणमूल कांग्रेस ले १० अनि गोर्खा जनमुक्ति मोर्चाबाट छुट्टिएर गठन गरेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ३४ वटा आसनको निम्ति आफ्नो उम्मेद्वार उठाएकोछ |
निर्दलीय उठेका उम्मेदवारहरुमा २ उम्मेदवारलाई भागोप्रमोले आफ्नो उम्मेद्वार हो भनि घोषणा गरिसकेकोछ | चुनावमा प्रतिद्वंदिता गर्ने उद्धेश्यले मात्रै आफ्नो पार्टीबाट राजिनामा दिएर निर्दलीय भनि उठेका प्राय जसो (एक दुई छोडेर) उम्मेद्वारहरु आफ्नो दल भाजपा, तृणमूल कांग्रेस, गोजमुमो, भागोप्रमोका उम्मेद्वारहरु वास्तवमै निर्दलीय होइनन तर त्यही दलकै समर्थक मात्रै होइन कमिटिको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग लिएर केवल झण्डा मात्रै नबोकेर भोट प्रचार गरिरहेका देखिएका छन | अर्कोतिर एकदमै स्वतंत्र उम्मेदवारलाई पनि पर्दा पछाडी कुनै पार्टीले नै उठाएर आर्थिक र अन्य सहयोग पनि दिइरहेको देखीएको छ | तर यसमा पनि कुनै कुनै उम्मेद्वार भने अपार जनसमर्थनको कारण या उम्मेदवारको चयनमा आफ्नो असन्तुष्टता जनाउन मात्रै आफ्नै बलबुतामा पूर्ण रुपमा स्वतंत्र रहेर भित्रि अनि बाहिरी रुपमा निर्दलीय उम्मेद्वार नै रहेर घुडा धसेर चुनाव प्रचार गरिरहेका छन |
यसचोटीको चुनावमा ९२२ मतदान केन्द्रहरु छन भने मतदाताहरु ७००३२६ (गत १० वर्ष अघिको भन्दा प्राय १ लाख बेसी) छन | यी मध्ये पुरुष ३४४३५६ अनि स्त्री ३५५९६६ अनि ४ जना अन्य तेस्रो लिंगी छन | दार्जीलिंगका १७ वटा समष्टीहरुमा ३२८ वटा मतदान केन्द्र छन भने मतदाताहरु २४५६१६ छन | मिरिक लगायत खर्साङ्गका १५ समष्टीहरुमा ३२४ मतदान केन्द्र छन भने मतदाताहरु २४६७०६ छन | कालेबुङ्गका १३ समष्टीहरुमा २७० मतदान केन्द्रहरु छन भने मतदाताहरु २०८००४ छन |
स्मरण गराइन्छ २९ जुलाई २०१२ मा सम्पन्न प्रथम चोटी सम्पन्न जी टी ए चुनाव मा ४५ वटा समष्टीमा कुल (६८५+ १०३) ७८७ मतदान केन्द्रमा २९६३३२ पुरुष अनि २९४५२३ स्त्री मिलाएर कुल ५९०८५५ मतदाताहरु थिए |
दार्जीलिङ्गको ६६ मतदान केन्द्र, ७१ खर्साङ्ग मतदान केन्द्र अनि कालेबुङ्गको १५५ लगाएर २९२ मतदान केन्द्रमा चुनाव राखिएको थियो |
त्यस समय ४५ वटा समष्टी मध्ये २८ वटा समष्टीमा कुनै चुनाव नै भएन किनभने ती समष्टीका उम्मेद्वारहरु निर्विरोध सभाषद चुनिएका थिए यसैले १७ वटामा मात्रै चुनाव राखिएको थियो | त्यस समय निर्विरोध चुनिएका २८ जना गोजमुमोका सभासदहरु यस प्रकार थिए: प्रकाश गुरुङ, सतीश शर्मा, काजीमान लोहागुण, बिनय तामांग, बिमल गुरुङ्ग, देव प्रकाश प्रधान, भुपेन्द्र प्रधान, आशा गुरुङ्ग, उर्मीला रुम्बा, शान्ती थापा, उदय देवान, ज्योति कुमार राई, रबिन्द्र लामा, महेन्द्र प्रधान, संजय राई, रमेश लामा, नर्बुजी लामा, रतन कुमार थापा, अनुष कुमार थापा, योगेन्द्र राई, अनित कुमार थापा, प्रणय थापा, प्रभा छेत्री, रोशन गिरी, निमा तामांग, सुनिल प्रधान, कर्णल आर आले अनि गोपाल रुचाल |
यी २८ वटा समष्टि मध्ये १२ वटा प्रत्येकमा भने केवल एकै जनाले मात्रै नामांकन भरेका कारण गोजमुमोका १२ जना शुरुमै विजयी भएका थिए, जोहरू यी हुन – ६ न लेबोंग बदमतामा समष्टिका देव प्रकाश प्रधान, ७ न फुबछिरींग बदमताम समष्टिका भुपेन्द्र (प्रदिप) प्रधान, ९ न दार्जीलिङ्ग २ समष्टिका उर्मीला रुम्बा, १० न दार्जीलिङ्ग ३ समष्टिका शान्ती थापा, १६ न नागरी धजिया समष्टिका ज्योति कुमार राई, १८ न सोनादा पच्यांग समष्टिका महेन्द्र प्रधान, १९ न तकदा ग्लेनबर्न समष्टिका संजय राई, २० न तकलिंग पेशोक समष्टिका रमेश लामा, २२ न मंग्पू लाब्दा समष्टिका रतन कुमार थापा, ३४ न होम्स भालुखोप समष्टिका निमा तामाङ्ग, ३६ न डुंग्रा पुदुंग समष्टिका क आर आले, ३९ न रम्फु मंसोंग समष्टिका गोपाल रुचाल |
रहल १६ वटा समष्टिमा भने गोजमुमोका १६ जना बाहेक अन्यहरुले पनि नामांकन गरेका थिए तर उनीहरुले
नामांकन फिर्ता लिएपछि यी १६ जना पनि अघिल्ला १२ जनासंग मिलाएर २८ जना निर्विरोध विजयी घोषित भएका थिए |
नामांकन फिर्ता लिएपछि यी १६ जना पनि अघिल्ला १२ जनासंग मिलाएर २८ जना निर्विरोध विजयी घोषित भएका थिए |
यस बाहेक १७ वटा समष्टिमा भने मतदान नै गरेर चुनाव भएको थियो जसमा मुख्य प्रतिद्वन्दी दल तृणमूल कांग्रेस थियो जसलाई हराएर गोजमुमो विजयी भएको थियो | चुनावका प्रतिद्वन्दी उम्मेद्वारहरु यी थिए : ११ न दार्जीलिंग चार समष्टिमा गोपाल सिङ्ग छेत्री (टीएमसी), तरङ्ग पण्डित (गोजमुमो), १२ न घुम जोरबंगलो समष्टिमा पेम्बा छिरींग भुटिया (गोजमुमो), मिलन डुक्पा (टीएमसी), १३ न चुंगथुंग मेरीबोंग तामसांग समष्टिमा तिलक चन्द रोका (गोजमुमो), मन्जीत सुब्बा (टीएमसी), १५ न पोख्रेबुंग चामुंग समष्टिमा दिपेन माले (गोजमुमो), धन बहादुर मुखिया (टीएमसी), २३ न सियोक ओकाइटी समष्टिमा फुबी राई (गोजमुमो). अनिल छेत्री (टीएमसी), २४ न मिरीक थर्बू डुप्टीन समष्टिमा अरुण घिसींग (गोजमुमो), ब्रिसस सुब्बा (टीएमसी), २५ न सौरेनी समष्टिमा अरुण सिंघ्ची (गोजमुमो), राजेश छेत्री (टीएमसी), २६ न सुकुना पानीघट्टा समष्टिमा चम्पा बिवर (गोजमुमो), राजेन मुखिया (टीएमसी), ३३ न छिबो टासिडीग समष्टिमा काजीम भुटिया (गोजमुमो), महेन्द्र गजमेर (टीएमसी), ३७ न अलगडा दलपचंद समष्टिमा कल्पना तामाङ्ग (गोजमुमो), सुक बहादुर सुब्बा (टीएमसी), ३८ न लाभा लिंगसे समष्टिमा चन्द्र प्रशाद शर्मा (गोजमुमो), चन्द्र प्रकाश शर्मा (टीएमसी), ४० न पेदोंग समष्टिमा दावा लेप्चा (गोजमुमो), छेवांग लेंड़प लेप्चा (टीएमसी), ४१ न गित्डाब्लिंग निम्बोंग समष्टिमा कल्याण देवान (गोजमुमो), ब्रुनो लेप्चा (टीएमसी), संचबीर सुब्बा (निर्दलीय), ४२ न रेली समथार समष्टिमा ड राम भुजेल (गोजमुमो), माइकल लिंगदामो (टीएमसी), ४३ न गोरुबथान समष्टिमा, चन्द्र कुमार तामाङ्ग (गोजमुमो), प्रेम बहादुर अधिकारी (टीएमसी), ४४ न सामसिंग कुमाई समष्टिमा सामुएल गुरुङ्ग (गोजमुमो), उर्गेन शेर्पा (टीएमसी), ४५ न रोंगो तोदे जलढाका समष्टिमा लोब्सांग योल्मो (गोजमुमो), प्रेम दोर्जे मोक्तान (टीएमसी) |
हुन त भोट बजारमा भोट किन्नु, उम्मेदवार किन्नु, भोट बाड़न निर्दलीय उम्मेद्वार जन्माउनु, धम्क्याउनु, लोभ देखाउनु, बोगस भोट हाल्नु जस्ता चालहरु चलेर विजय हासिल गर्ने प्रयास र प्रथा पुरानै हो जो अहिले पनि यथावत चलिरहेको छ | यसपालीको चुनावमा प्रचारको पद्धति अलिकती बेग्लै देखिएकोछ अनि विजय प्राप्त गर्नु पनि त्यति सहज देखिएको छैन जतिको अघि थियो | यसैले उम्मेदवार र दलहरुले साम, दाम, दण्डभेद संगै तकनिकी र अन्य माध्यमहरु प्रयोग गर्दै कतिसम्म सफल हुनेछन, आगामी २६ जुनको चुनाव पछि २९ जुनमा हुने मतगणनाले नै निर्णय दिनेछ |
0 Response to "जी टी ए चुनाव २०१२ अनि २०२२ : नयाँ नेताहरुको जन्म : के निर्दलीय उम्मेदवारहरु निर्दलीय नै हुन त ?"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.