-->
गोर्खाल्याण्ड आन्दोलन अघि बडाउन पहाडका राजनैतिक दलहरूलाई सम्झिए विमल गुरुङले; भने ‘साझा मञ्च’ गठन गर्नुपर्छ

गोर्खाल्याण्ड आन्दोलन अघि बडाउन पहाडका राजनैतिक दलहरूलाई सम्झिए विमल गुरुङले; भने ‘साझा मञ्च’ गठन गर्नुपर्छ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 5 जुलाई। विभिन्न राजनैतिक अनि अराजनैतिक दलहरूलाई मिलाएर गठन भएको दुईवटा संयुक्त मञ्चहरू क्रमैले ‘गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटि (2013)’ अनि ‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि 2017)’ ले गोर्खाल्याण्डको मुद्दा पार लगाउन नसकेपछि भुमिगत गोजमुमो नेता विमल गुरुङले पुन: एकचोटी ‘साझा मञ्च’ गठन गर्नुपर्ने आह्वान गरेका छन्। उनले आज भुमिगत स्थानबाट एउटा अडियो सन्देश जारी गरेर गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँन ‘साझा मञ्च’ गठन गर्नुपर्ने सम्पूर्ण राजनैतिक दलहरूलाई अपिल गरेका छन्।  

केन्द्र सरकारले छुट्टै बोडोल्याण्ड राज्य माग्नेहरूसँग त्रिपक्षीय वार्ता बसेपछि गुरुङलाई जीटीएको सत्तामा बस्दा मन नपर्ने सम्पूर्ण विपक्षी राजनैतिक पार्टी र नेताहरूको समेत सम्झना आएको छ। उनले ‘साझा मञ्च’ गठनको अपिल गर्दै जारी गरेको अडियो सन्देशमा क्रामाकपा अध्यक्ष आरबी राई, जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री, गोर्खालिग नेता प्रताप खातीको नाउँ लिएर नै ‘उनीहरू जाति उन्मुक्तिको लागिपरेका महान व्यक्तिहरू हुन्’ समेत भनेका छ।

क्रामाकपा अध्यक्ष आरबी राई, जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, गोर्खालिगका परिवार, गोरामुमो दिल्लीमा रहेका जीएसएस सबैको नाउँ लिएर गुरुङले भनेका छन् – ‘अब हामीले भेदभावको राजनीतिलाई पन्साएर मित्रताको राजनीति गर्नुपर्छ।’ उनले अझ भनेका छन् –‘ अब एउटा साझा मञ्च तयार पारौँ। त्यो साझा मञ्चमा एउटा नेता चुनौ। धने बिरे जोसुकै होस् जाति उन्मुक्तिको निम्ति निस्वार्थ एउटा नेता चुनौँ। किन भने बोडोल्याण्डको वैठक हुन थाल्यो। हामीले भारतसरकारसँग बोल्न सकेनौँ भने हाम्मी ट्वाल्ल पर्छौँ अनि बोडोल्याण्ड बनिन्छ’।

गुरुङले जारी गरेको अडियो सन्देशमा आफुले जाति उन्मुक्तिको आन्दोलन गर्दा बङ्गाल सरकारले झुटो मुद्दा लगाउने कार्य गरेको आरोप पनि लगाएका छन्। ‘म त मेरो जाति उन्मुक्तिको निम्ति गणतान्त्रिक आन्दोलन गर्दा झुटो मुद्दा लगाएर जेलमा सडाउने, गोलि ठोक्ने कार्य गरेर उथुलपुथुल पारे। मलाई देख्नेसाथ मार्ने षडयन्त्र रचे। यसैकारण मेरो जातिको निम्ति यो मुद्दालाई बचाउन म भुमिगत बस्न परिरहेको छु’ गुरुङले भनेका छन्।

‘सबै दलहरूलाई मेरो आह्वान छ अब एउटा साझा मञ्च तयार पार्नुहोस्। विमल गुरुङलाई माइनस गर्नुहोस्। साझा मञ्च तयार पारेर तपाईँहरूले भारत सरकारसँग बातचित गर्नुहोस्। भेटघाट गर्नुहोस्’ गुरुङले आफ्नो अडियो सन्देशमा पहाडका सम्पूर्ण गोर्खाल्याण्ड माग्ने दलहरूलाई अपिल गर्दै अझ भनेका छन् –‘एउटा साझा मञ्च बनाएर काम गरौँ, मेरो अपिल छ। बोडोल्याण्डको चर्चा हुँदैछ सँगसँगै गोर्खाल्याण्डको पनि कुरा गर्नुहोस् भन्ने मेरो अपिल हो। कुनै भेदभाव नराखौँ।’

उनले जारी सन्देशमा साझा मञ्च तयार पार्दा फना त ढिस्का अथवा यो पार्टी र त्यो पार्टीको भन्दै एकार्कमा बाझ्ने कार्य नगरेर संयुक्त पहल गर्नुपर्ने अपिल गर्दै एउटा निस्वार्थ व्यक्तिलाई नेताको रूपमा चुनेर अघि बढौँ भनेका छन्। यसक्रममा आफुलाई नेता नचुनेर निस्वार्थ व्यक्तिलाई चुनेर अघि बड्ने पनि उनले सुझाव राखेका छन्।

उनले आफ्नो सन्देसहमा आगमी 27 जुलाईका दिन छुट्टै राज्य गोर्खाल्याण्डका निम्ति सहिद बन्नेहरूलाई सम्झना गरेर श्रद्धाञ्जली दिने अपिल पनि गरेका छन्। यसक्रममा सहिदलाई श्रद्धाञ्जली दिँदा कसैले भेदभाव राख्न नहुने पनि बताएका छन्। यसभन्दा अघि गतवर्ष आन्दोलनमा मारिएका सहिदहरूलाई श्रद्धाञ्जली दिँनका निम्ति घर-घरमा दियो बाल्ने अपिल गर्दा राजनीति भएको भन्दै ‘सहिद माटोका निम्ति भएका हुन्। उनीहरूलाई सबैले साँचो मनले श्रद्धाञ्जली दिनपर्छ’ भनेका छन्। उनले यसक्रममा विनय तामाङहरूको नाउँ नलिइ ‘समय आउनेछ अनि जनताले जवाद दिनेछन्’ पनि भन्न चुकेका छैनन्।

स्मरण रहोस्, यस भन्दा अघि गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङले पश्चिम बङ्गाल सरकारसँग सम्बन्ध बिग्रेपछि पहिलोपल्ट 16 अगस्त 2013 का दिन विभिन्न पहाडका राजनैतिक दल अनि अराजनैतिक सङ्गठनहरूलाई लिएर ‘गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटि’ गठन गरेका थिए। जुन कमिटिकै नाउँमा पहाडमा गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँदै जनता कर्फ्यु अनि घरभित्र जनता र घर बाहिर जनता जस्ता कार्यक्रम घोषणा गरिएको थियो। पछिबाट गुरुङकै नेतृत्वमा रहेको गोजमुमो पार्टीले ‘गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटि’ लाई नाघेर एकल कार्यक्रमहरूको घोषणा गर्न थालेपछि उक्त ‘गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटि’ को अस्तित्व नै हटेर गएको थियो भने गुरुङ आफैले ‘अल पार्टी च्याप्टर क्लोज’ भनेर गोर्खाल्याण्डको संयुक्त आन्दोलनलाई ब्रेक लगाएका थिए।

पछिबाट 2017 मा पुन: छुट्टै राज्य गोर्खाल्याण्ड राज्य गठनको आन्दोलन चर्केपछि विमल गुरुङले नै सम्पूर्ण राजनैतिक दल अनि अराजनैतिक संस्थाहरूलाई लिएर संयुक्त मञ्च तयारको पहल गरेपछि ‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि’ गठन भएको थियो। 29 जुन 2017 का दिन कालेबुङको होटल ट्रेसमा बसेको सर्वदलिय वैठकमा उक्त ‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि’ गठन गरिएको हो भने त्यसबेला संयोजकका रुपमा गोजमुमो उपाध्यक्ष कल्याण देवान अनि सह संयोजक दार्जीलिङ नगरपालिका अध्यक्ष डी.के प्रधानलाई सर्वसहमतिले चयन गरेको थियो। जुन कमिटिले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई संयुक्त रूपले अघि बडाउने कार्य गरेपछि पछिबाट गोजमुमो पार्टीले नै एकल आन्दोलनको घोषणा गर्न सुरु गरेपछि उक्त ‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि’ को च्याप्टर पनि क्लोज हुन पुगेको हो।

Related Posts

0 Response to "गोर्खाल्याण्ड आन्दोलन अघि बडाउन पहाडका राजनैतिक दलहरूलाई सम्झिए विमल गुरुङले; भने ‘साझा मञ्च’ गठन गर्नुपर्छ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.