-->
46 वटा आसनमा नै चुनाव जित्नेछु – विनय तामाङ

46 वटा आसनमा नै चुनाव जित्नेछु – विनय तामाङ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 9 जुलाई। ‘मलाई चुनावमा जान डर छैन। चुनाव भए 45 वटा सिट नै जित्नेछु। तर, यसपल्ट चुनावमा 46 वटा सिट जित्नका निम्ति पर्खेर बसेको छु’ – उक्त कुरा गोजमुमो अध्यक्ष विनय तामाङले भनेका हुन्। कालेबुङको मेला ग्राउण्डमा आयोजित जनसभालाई सम्बोधन गर्दै तामाङले जीटीएको मोठ 45 वटा आसन भए पनि 46 वटा आसन भने कसरी हुनेछ भन्ने मानिसहरूमा जिज्ञासा जाग्नसक्ने भए पनि यसबारे अहिलेनै स्पष्ट नपार्ने बताएका छन्। ‘यसपल्टको चुनाव 46 वटा सिटको निम्ति लड्न चाहन्छु, यो तपाईँहरू आफैले के भनेको हो भन्ने अन्दाज लागाउनुहोस’ उनले अझ भने।

केवल 45 वटा आसन मात्र रहेको जीटीएमा अचानक 46 वटा आसनको कुरा गरेर तामाङले सबैलाई चकित पारेका छन्। यद्यपी उनले वृद्धि गरेको एउटा सिट भने आगामी वर्ष सम्पन्न हुने लोकसभा चुनाव हुनसक्ने सम्भावना रहेको छ। जीटीएको चुनावसँगै तामाङले दार्जीलिङ लोकसभा समसष्टिको एउटा आसन पनि जित्न चाहेको कारण नै उनले 46 आसनको कुरा गरेको हुनसक्ने सम्भावना बडेको छ। यद्यपी उनले यसबारे भने कुनै स्पष्ट पारेनन्।

आफ्नो दुई घण्टा भन्दा धेर लामो भाषणमा तामाङले सर्वप्रथम जीटीएले अहिलेसम्म गरेका सम्पूर्ण विकास कार्यहरूको रिपोर्ट कार्ड नै प्रस्तुत गरेका थिए। उनले जीटीएको सत्तामा आफुहरू बसेपछि गरेका सम्पूर्ण विकास कार्यहरू विमल गुरुङ जीटीएको सत्तामा बसेको भन्दा धेरै बेसी रहेको पनि दाबी गरे।

जनसभालाई सम्बोधन गर्नेक्रममा उनले गोजमुमोका भूमिगत नेता विमल गुरुङ, रोशन गिरी लगायत गोरामुमो अध्यक्ष मन घिसिङ, निरज जिम्बा सँगै हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका अध्यक्ष लिलाबहादुर गुरुङको नाउँ नै लिएर आलोचना समेत गरेका थिए। उनले अहिलेसम्म छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको नाउँमा विमल गुरुङले जनतालाई ठगेको आरोप लगाउँदै अडियो र भिडियो मात्र पठाएर केही नहुने पनि बताएका छन्। जातिको निम्ति बाहिर बस्न परेको भन्दै अडियो पठाउने विमल गुरुङ वास्तवमा जनताको निम्ति काम गर्ने आँटी नेता नभएर एकजना डरपोक नेता हो समेत भने। उनले विगत वर्ष चलेको गोर्खाल्याण्ड आन्दोलनमा जनता सडकमा सहिद बनिरहेको समय विमल गुरुङ भने पातलेबाँसबाट सिंहमारी समेत आउन नसकेको दाबी गर्दै उक्त कार्यले नै विमल गुरुङ कायर नेता हो भन्ने प्रमाणित भएको आरोप लगाए।

अर्कोतर्फ हालमा पर्जा पट्टालाई लिएर चलिरहेको राजनीतिलाई लिएर पनि विनय तामाङले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन अनि विमल गुरुङप्रति कटाक्ष गर्न पछि परेनन्। पर्जा पट्टालाई लिएर यहाँ मानिसहरूमा भ्रम फैलाउने कार्य गरिरहेको आरोप लगाउँदै निजो गृह निजो भुमी योजना, बनबस्ती अनि कमानबासीले पाउने पट्टा भिन्नै प्रकारको रहेको पनि तामाङले स्पष्टिकरण दिएका छन्।

‘बनबासीहरूले अहिलेसम्म पर्जा पट्टा प्राप्त नहुनुमा स्व. सुवास घिसिङको गल्तिको कारण हो। सन् 2005 मा सुवास घिसिङले पञ्चायत चुनाव नगरेको कारण बनबासीहरूले पर्जा पट्टा नपाएका हुन्। यसबारे अब गोरामुमो पार्टीले जनतालाई जवाब दिनुपर्छ’ विनय तामाङले अझ भने –‘बन अधिकार कानुन 2006 भित्र ग्राम सभाको प्रावधान छ। जुन ग्रामसभा सुवास घिसिङले पञ्चायत चुनाव नगरेको कारण बनिन नसकेको हो।’ उनले पछिबाट जीटीए गठनपछि बनबासीलाई पट्टा दिलाउनका निम्ति प्रारम्भिक कार्यको थालनी गरिए पनि तत्कालिन गोजमुमो अध्यक्ष विमल गुरुङले पट्टा दिने सरकारसँग सम्बन्ध विगारेको कारण उनीहरूले आफ्नो जमिनको मालिकाना हक पाउननसकेको दाबी गरेका छन्।

तामाङले पर्जा पट्टाको मुद्दालाई लिएर भाषण दिने क्रममा हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका अध्यक्ष लिलाबहादुर गुरुङलाई पनि कटाक्ष गर्न पछि परेनन्। यसक्रममा लिलाबहादुर गुरुङले बनबासीहरूलाई पट्टा दिलाउने बहनामा पैसा उठाएर खाने कार्य गरेको आरोप समेत लगाए। यसक्रममा गुरुङले आफुलाई नै 15 लाख रूपियाँ समेत मागेको आरोप लगाउँदै बनबस्तीका मानिसहरूबाट समेत 5 हजार गरेर पैसा उठाएर भ्रष्टचार गरेको आरोप लगाएका छन्।  

‘विमल गुरुङले सेभोक रम्फु रेल परियोजनाका निम्ति एनओसी दिनभन्दा अघि 30 करोड पैसा मागेको थियो। त्यो पैसा नपाएकै कारण उनले जीटीएबाट एनओसी नदिएका हुन्’ विनय तामाङले आफ्नो सम्बोधनको क्रममा भने। आफुले एनओसी दिनभन्दा अघि रेल्वे विभागलाई जनहितका निम्ति 4 वटा मागहरू राखेको अनि उक्त मागहरू रेल्वेले स्वीकृत गरेकै कारण एनओसी दिएको पनि स्पष्टिकरण दिएका छन्।

तामाङले आफ्नो सम्बोधनको क्रममा भारतीय जनता पार्टी प्रति पनि हमला गर्न पछि परेनन्। ‘आगामी 2019 मा भाजपाले दार्जीलिङ लोकसभामा आँखा नगाडे हुनेछ। हामी दार्जीलिङ लोकसभा क्षेत्रमा मात्र होइन अलिपुरद्वार र जलपाईगडीमा पनि भाजपालाई रोक्नेछौँ’ तामाङले भाजपालाई सोझै चुनौति दिँदै भने। गोर्खाहरूलाई भाजपाले धोका दिएकै कारण अब उनीहरूप्रति विश्वास नरहेको पनि स्पष्ट पारेका छन्।

आफ्नो सम्बोधनको क्रममा तामाङले आफुलाई गधा भन्ने गरेको भन्दै ‘हो म गधा हो, किन भने सुवास घिसिङदेखि विमल गुरुङसम्मले थुपारेका समस्याहरूको भारी बोकेर हिँड्नु परिरहेको छ। यसैकारण जनताको निम्ति समस्याको भारी बोक्ने म गधा हो’ विनय तामाङले भने।

Related Posts

0 Response to "46 वटा आसनमा नै चुनाव जित्नेछु – विनय तामाङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.