भोटर लिस्टबाट नाम काट्नु प्रजातन्त्रको हत्या हो – विमल गुरुङ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ । गोजमुमो पार्टीका भुमीगत नेता विमल गुरुङ, रोशन गिरी लगायत अन्यका नामहरू मतदाता सूचीबाट काटिएको घट्नालाई लिएर विमल गुरुङले भर्त्सना जनाउँने एक प्रेस विज्ञप्ति जारी गरेका छन्। उनले विज्ञप्तिमा मतदाता सूचीबाट नाम काटिएको घट्नालाई प्रजातन्त्रको हत्या हो भनि बताएका छन्। ‘ममता ब्यानर्जीले आफैलाई प्रजातन्त्रको महानायक भन्ने दाबी गर्दै हाम्रा संविधान निर्माताहरूलाई दफन गरेर बङ्गालमा दिउँसै लोकतन्त्रको हत्या गरिरहेका छन्’ विमल गुरुङले प्रेस विज्ञप्तिमा भनेका छन्।
‘मेरो नाम, जीजेएम पार्टी नेताहरूको नाउँ अनि गोर्खाल्याण्डको मागप्रति इमान्दार व्यक्तिहरूसँगै निर्दोष परिवारका सदस्यहरूलाई समेत तृणमूल सरकारद्वारा धोका दिने कार्य गरिएको छ’ विमल गुरुङले प्रेस विज्ञप्तिमा भनेका छन्। यसक्रममा गुरुङले विज्ञप्तिमा गोर्खाहरूलाई अनेकौँ किन्ने प्रयास गर्दा अथवा हत्याको धम्कि दिँदा समेत गोर्खाहरूले झुक्न अस्वीकार गरेको दाबी गरेका छन्। यसैकारण तृणमूल सरकारले गोर्खाल्याण्डको मागलाई दबाउनका निम्ति कुनै पनि बाटो अप्नाउने तथा गोर्खाहरूको सपनालाई कुल्चने प्रयास गर्ने बताएका छन्।
‘ममता ब्यानर्जीले जति हामीलाई दबाउन खोज्नेछन् त्यतिनै हाम्रो धरातल बलियो भएर जानेछन्’ विमल गुरुङले विज्ञप्तिमा अझ भनेका छन्- ‘हाम्रो नाउँहरू जसरी हटाइएको छ त्यसबारे सम्पूर्ण गोर्खाहरूले विरोध गर्नुपर्नेछ। यदि आज त्यो गर्दैनौँ भने त्यो दिन पनि टाडो छैन जुन दिन सम्पूर्ण गोर्खाहरूको नाउँ नै हटाइनेछ।’ यसक्रममा उनले यस्तो घट्ना भविष्यमा आजका बङ्गालभक्त नेताहरूसँग पनि घट्नसक्ने बताउँदै सतर्क गराएका छन्। ‘आज हाम्रो नाउँ हटाउँदा जो बङ्गाल सरकारको भक्तहरूले खुशीयाली मनाइरहेका छन् भोलि उनीहरूसँगै उनीहरूका नानीहरूका निम्ति पनि लागुहुनेछ’ गुरुङले विज्ञप्तिमा भनेका छन्।
सन् 1980को दशकको सुरुआतमा गोर्खाहरूलाई पूर्वोत्तर भारतबाट बाहिर निकाल्ने कार्य हुनभन्दा अघि पनि यस्तै प्रकारका घट्ना भएको उल्लेख गर्दै उत्तरपूर्वीय क्षेत्रबाट गोर्खाहरू पलायन बन्न परेको घट्नाले पनि गोर्खाल्याण्ड आन्दोलनलाई प्रेरित पारेको गुरुङले दाबी गरेका। सन् 1980 को घट्नाले गोर्खाहरू सुरक्षित छैन भन्ने कुरा प्रमाणित गरेको भन्दै पुन: यसपल्ट ममता ब्यानर्जी सरकारद्वारा लोकतन्त्रको हत्या गरिएको घट्नाले यसलाई पुष्टि गरिएको पनि उनले विज्ञप्तिमा दाबी गरेका छन्।
गुरुङले विज्ञप्तिमा एउटा अङ्ग्रेजी समाचार पत्रको नाउँ उल्लेख गर्दै उक्त पत्रिकामा प्रत्येक पाँचजना बङ्गाली मध्ये एकजना पश्चिम बङ्गालदेखि बाहिर बस्ने गरेको भन्दै के तिनीहरूको नाउँ पनि मतदाता सूचीबाट हटाइनेछ? भनि प्रश्न गरेका छन्। ‘मतदाता सूचीबाट हाम्रो नाम हटाउनु तृणमूल सरकारद्वारा गरिएको एउटा अप्रजातान्त्रिक कार्य हो अनि यसैबाट उनीहरू कहाँसम्म लोकतान्त्रिक आवाज सुन्न चाहँदैनन् भन्ने स्पष्ट हुँदछ’ गुरुङले अझ भनेका छन् –‘तृणमूल कङ्ग्रेसले गोर्खाल्याण्ड क्षेत्रमा काल्पनिक आपतकाल लगाएका छन्।’
उनले जारी प्रेस विज्ञप्तिमा मतदाता सूचीबाट नाम हटाउनु सरकारको औपनिवेशिक प्रवृत्ति हो समेत भनेका छन्। ‘अल्पसङ्ख्यकहरूलाई उनीहरूको मताधिकारबाट बञ्चित राख्नु एक औपनिवेशिक अभ्यास हो। मतदाता सूचीबाट हाम्रो नाउँ हटाउनु पश्चिम बङ्गाल सरकारद्वारा प्रदर्शित जातिवादी अनि औपनिवेशिक मानसिकताको एउटा अभिव्यक्ति हो’ गुरुङले भनेका छन्।
गोर्खा समुदायप्रति ममता ब्यानर्जी सरकारको द्वेष अभूतपूर्व रहेको अनि त्यस द्वेषलाई पराजित गर्न एकमात्र माध्यम प्रेम अनि एकता हो भनि गुरुङले बताएका छन्। ‘जति धेर उनीहरू हामीलाई विभाजित गर्ने प्रयास गर्छन् त्यति नै धेर हामी एकबद्ध हुन्छौँ। जति उनीहरूले गोर्खाल्याण्डको आवाजलाई दबाउने प्रयास गर्छन् त्यतिनै धेर हाम्रो आवाज बलियो हुनेछ’ गुरुङले लेखेका छन्।
उनले मतदाता सूचीबाट शिर्षस्थ नेताहरूको नाउँ हटाएर साधारण जनतालाई आतङ्कित पार्ने प्रयास गरेको पनि आरोप लगाएका छन्। ‘मतादाता सूचीबाट हाम्रो नाउँ हटाएर समता ब्यानर्जी सरकारले सम्पूर्ण गोर्खाहरूलाई शिर्ष नेताहरूको नाउँ हटाउन सक्छु यसकारण तिमीहरूलाई कुचल्न सक्छु भन्न खोजेका छन्। यसकारण हामी बलियो उभिएर एकबद्ध भएर अत्याचारको विरोधमा लड्नका निम्ति संकल्पित भए त्यो पूर्ण हुनेछैन’ गुरुङले विज्ञप्तिमा बताएका छन्।
उनले मतदाता सूचीबाट नाउँ हटाएको घट्नालाई लिएर न्यायालयमा जाने पनि स्पष्ट पारेका छन्। ‘हामी लोकतन्त्रलाई बचाएर राख्नका निम्ति न्यायालयको माध्यमबाट लड्नेछौँ, तर यस अवधी सम्पूर्ण मानिसहरूलाई एकबद्ध भएर यस तानाशहको विरुद्ध लड्ने अनि आवाज उठाउने आह्वन गर्दछौँ’ गुरुङले भनेका छन्।
0 Response to "भोटर लिस्टबाट नाम काट्नु प्रजातन्त्रको हत्या हो – विमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.