-->
कामी बिकास बोर्डमा व्यापक भ्रष्टचार भएको खुल्यो पोल    अध्यक्ष-उपाध्यक्ष र महकुमा अधिकारी मिलेर गरीबको पैसा खाँदैछ – सुबोध खाती

कामी बिकास बोर्डमा व्यापक भ्रष्टचार भएको खुल्यो पोल अध्यक्ष-उपाध्यक्ष र महकुमा अधिकारी मिलेर गरीबको पैसा खाँदैछ – सुबोध खाती

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 1 अप्रेल।2 अप्रेल। पश्चिम बङ्गाल कामी विकास बोर्डमा व्यापक भ्रष्टचार भएको वोर्डकै सदस्यहरूले आरोप लगाएका छन्। बोर्डका सदस्यहरू सुवोध खाती, पी.एन लोहार, महेन्द्र गजमेर, टी.आर गजमेर, नारदमणी घतानी आदिले आज एक पत्रकार सम्मेलन आयोजना गरेर पश्चिम बङ्गाल कामी विकास बोर्डमा व्यापक भ्रष्टचार भइरहेको आरोप लगाएका छन्। विशेष गरेर बोर्डद्वारा निर्माण गरिने घरहरूमा कामी विकास बोर्डले व्यापक भ्रष्टचार भइरहेको आरोप लगाउँदै 50 भन्दा अधिक घरहरू निर्माण नगरी युटीलाइजेसन् सर्टिफिकेट समेत बुझाएको बोर्डका सदस्य सुबोध खातीले आरोप लगाएका छन्। उक्त भ्रष्टचार हुनमा बोर्डका अध्यक्ष, उपाध्यक्षसँगै महकुमा अधिकारी समेत संलग्न रहेको उनले दाबी गरेका छन्।
‘मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडका गरीब मानिसहरूको घर निर्माण होस् भनेर बोर्डहरू निर्माण गरिदिएका छन्। तर, हाम्रो (कामी) बोर्डमा भने व्यापक भ्रष्टचार भइरहेको छ’ कामी बिकास बोर्डका सदस्य सुबोध खातीले भने। बोर्डमा व्यापक भ्रष्टचार भएपछि आफुहरूले यसबारे सम्पूर्ण मानिसहरूलाई जानकारी गराउनका निम्ति मिडियाको सामु आएको पनि स्पष्टिकरण दिएका छन्। ‘150 भन्दा अधिक घरहरूको निर्माण कार्य पुरा भएको छैन भने 50 भन्दा अधिक घरहरू निर्माण नगरी युटीलाइजेसन सर्टिफिकेट बुझाएका छन्’ सुबोध खातीले दाबी गर्दै भने। आफुहरूले उक्त आरोप प्रमाणको आधारमा लगाएको पनि दाबी गरेका छन्। उनले कामी बिकास बोर्डमा व्यापक भ्रष्टचार भइरहेको आरटीआई गरेपछि खुलासा भएको पनि दाबी गरेका छन्। ‘मैले बोर्डका मुखियाहरूलाई भ्रष्टचार गरेको बिनाप्रमाण आरोप लगाएको होइन। यसभन्दा अघि मैले आरटीआई रिपोर्ट मागेको थिएँ। त्यस रिपोर्टमा 5 सयवटा घर निर्माण भइसकेको अनि निर्माण भइसकेका घरहरूको सम्पूर्ण युटिलाइजेसन सर्टिफिकेट समेत बुझाएको आरटीआई रिपोर्टमा अध्यक्ष आफैले जानकारी दिएका छन्’ सुबोध खातीले भने। उक्त आरटीआई रिपोर्टको आधारमा कागजमा पूर्णरूपले निर्माण भइसकेका 5 सयवटा घरहरूको वास्तविक्ता बुझ्नलाई जमिनी स्तरमा बुझ्न जाँदा त्यहाँ भने 150 भन्दा अधिक घरहरूको निर्माण कार्य पुरा नभएको अनि 50 भन्दा अधिक घरहरूको भने निर्माण कार्य समेत सुरु नगरिएको पत्तो लागेपछि भ्रष्टचारको पोल खोलिएको खातीले दाबी गरेका छन्। यसरी कामी बिकास बोर्डमा व्यापक भ्रष्टचार भइरहेको खुलासा भएपछि बोर्डका सदस्यहरू सँगै घर निर्माण नभएका उपभोक्ताहरूको समेत हस्ताक्षर सङ्ग्रह गरेर मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरी जानकारी दिएको बताएका छन्।
‘हामीले बोर्डका अध्यक्षलाई भेटेर मिलेर काम गर्नुपर्छ भनेक हौँ तर उनले केही कुराको जानकारी नै दिँदैनन्। यो भ्रष्टचार हुनुमा बोर्डका अध्यक्ष र उपाध्यक्ष मात्रै होइन तर महकुमा अधिकारी समेत मिलेको छ’ सुबोध खातीले आरोप लगाउँदै भने। बोर्डमा भइरहेको भ्रष्टचारबारे आफुहरूले अभियोग दर्ता गरे पनि त्यस अभियोगलाई महकुमा अधिकारीले बोर्डका अध्यक्षलाई पठाउने गरेको भन्दै सोहीकारण भ्रष्टचारमा महकुमा अधिकारी संलग्न रहेको उनले आरोप लगाएका छन्। ‘जतिपनि हामीले निर्माण कार्य पुरा नभएको घरहरूको रिपोर्ट दिएका छौँ त्यस घरहरूले अहिलेघरी महकुमा अधिकारीले बोर्डका अध्यक्षलाई भनेर रात-रात निर्माण गर्न लगाउँदैछन्। 2017 मा युटिलाइजेसन सर्टिफिकेट बुझाइसकेको घरहरू आज कसरी निर्माण हुँदैछ? यहाँ नयाँ बजेट आएकै छैन। तर अध्यक्ष र उपाध्यक्ष मिलेर अहिले रात-रात घर बनाउँदैछ। यसकारण यहाँ बोर्डको मेम्बर सेक्रेटरी महकुमा अधिकारीको भ्रष्टचारमा ठूलो हात छ। अध्यक्ष, उपाध्यक्ष र महकुमा अधिकारी मिलेर गरीबको पैसा खाँदैछ’ सुबोध खातीले सोझै भने।
अर्कोतर्फ बोर्डका अर्का सदस्य पी.एन लोहारले पनि बोर्डमा ब्यापक भ्रष्टचार भइरहेको आरोप लगाउँदै पश्चिम बङ्गाल सरकारले कामी बिकास बोर्ड गठनपछि पहिलोपल्ट 10 करोड रूपियाँ  दिएर 5 सयवटा घर निर्माण गर्नुभनि निर्देश दिएको जानकारी दिएका छन्। उनले गरीब कामी समुदायका मानिसहरूको घर निर्माणका निम्ति बोर्डका अध्यक्ष अनि उपाध्यक्षले बोर्डका अन्य सदस्यहरूलाई कुनै जानकारी नदिइ मनपरी कार्य गरेको आरोप लगाउँदै आखिरमा उपभोक्ताहरूले समेत आफ्नो अधिकार सही प्रकारले नपाएको दाबी गरेका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले पछौटे कामी जातिको सर्वाङ्गीन विकासको सोंच राखेपनि बोर्डका अध्यक्ष अनि उपाध्यक्षले सर्वाङ्गीन विकासको कार्य भने अहिलेसम्म नगरेको पी.एन लोहारले आरोप लगाएका छन्।
यता कामी बिकास बोर्डका मेम्बर स्क्रेटरी रहेका महकुमा अधिकारी समेत संलग्न रहेको आरोप उठेपछि महकुमा अधिकारी निर्मलया घरामीले आफ्नो स्पष्टिकरण दिएका छन्। ‘म बैंकमा चेक जमा गर्नका निम्ति लेखेर पठाउने कार्य गर्दछु। त्यसपछि बैंकमा के भयो त्यो मलाई थाह छैन’ महकुमा अधिकारी निर्मलया घरामीले स्पष्टिकरण दिँदै भने। ‘यदि कोही व्यक्ति मकहाँ आउँछन् अनि उनले आफ्नो घर निर्माण नभएको गुनासो दर्ता गर्छन् भने त्यसबारे तत्कालै लिखित रिपोर्ट माग्ने गर्छु। यसका साथै बोर्ड मिटिङमा निर्णय भए अनुसार म पैसा आवण्टन गर्छु अनि युटिलाइजेसन सर्टिफिकेट दिन अघि अध्यक्ष अनि उपाध्यक्षबाट रिपोर्ट माग्ने गर्छु’ महकुमा अधिकारी घरामीले स्पष्टिकरण दिँदै भने। उनले आन्दोलनको समयमा दुईवटा शहरभित्रका घरहरू निर्माण हुन नसकेपछि त्यस दुईवटा घरहरू भने शहरदेखि बाहिर बनाउने कार्य भएको भन्दै अन्य घरहरूबारे भने जानकारी नभएको पनि उनले स्पष्टिकरण दिएका छन्। यसक्रममा आफुलाई उक्त घट्नाहरूबारे कुनै अभियोग दर्ता गरेको जानकारी नभएको भन्दै केवल एउटा आरटीआई आएको अनि त्यसको जवाब दिइसकेको पनि जानकारी दिएका छन्।

Related Posts

0 Response to "कामी बिकास बोर्डमा व्यापक भ्रष्टचार भएको खुल्यो पोल अध्यक्ष-उपाध्यक्ष र महकुमा अधिकारी मिलेर गरीबको पैसा खाँदैछ – सुबोध खाती"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.