-->
तामाङ बिकास बोर्डद्वारा दुई दिवसीय सोनाम लोछार पालन

तामाङ बिकास बोर्डद्वारा दुई दिवसीय सोनाम लोछार पालन

 डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 3 फरवरी। पश्चिम बङ्गाल तामाङ विकास एवम् सांस्कृतिक बोर्डको आयोजनामा दुई दिवसीय तामाङ नयाँ वर्ष सोनाम लोछार पालन गरिएको छ। 
कालेबुङको मेला ग्राउण्डमा आयोजित उक्त दुई दिवसीय सोनाम लोछार कार्यक्रमको उद्घाटन तामाङ धर्मगुरुद्वारा मन्त्रोच्चारण पछि मुख्य अतिथि जिल्लापाल डा. विश्वनाथले गरेका थिए। यस अवसरमा सर्वप्रथम विभिन्न स्थानहरूबाट आएका तामाङ समुदायका मानिसहरूले तामाङ विकास बोर्ड कार्यालयदेखि सांस्कृतिक र्‍याली समेत निकालेका थिए। 
र्‍यालीले थाना डाँडा हुँदै मेन रोड, डम्बर चौक, दश माइल फाटक भएर कालेबुङ शहरको परिक्रमा गरिसकेपछि मेला ग्राउण्डमा पुगेर समापन भएको थियो। यस अवसरमा दार्जीलिङ, कालेबुङ, खर्साङ, मिरिक, जलपाईगडी, सिक्किम लगायत अन्य स्थानहरूबाट आएका तामाङ कलाकारहरूले सांस्कृतिक अनि साङ्गेतिक प्रस्तुती दिएका थिए। 
कार्यक्रममा तामाङ विकास बोर्डका अध्यक्ष सञ्जय मोक्तानको बाहुलीबाट कालेबुङमा शैक्षिक विकासका निम्ति महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका एसयुएमआईका प्राचार्य नभरत्न प्रधान अनि रकभेल अकादमीका प्राचार्य कप्तान प्रकाशमणि प्रधानलाई सम्मान जनाइएको थियो। यसका साथै पश्चिम बङ्गाल सरकारद्वारा गठन गरिएका विभिन्न बिकास एवम् सांस्कृतिक बोर्डका अध्यक्षवर्गलाई पनि सम्मान गरिएको थियो। 
सोही क्रममा तामाङ समुदायका नाम राष्ट्रिय अनि अन्तराष्ट्रिय स्तरमा उज्जवल गर्ने उत्कृष्ट खेलडीवर्गलाई पनि अध्यक्ष सञ्जय मोक्तानको बाहुलीबाट सम्मान जनाइएको थियो। यस अवसरमा तामाङ समुदायका नारी प्रतिभाहरूलाई उत्साह प्रदान गर्न मिस तामाङ प्रतियोगिता पनि सम्पन्न भएको थियो भने उक्त प्रतियोगितामा विभिन्न स्थानका उत्कृष्ट 12 जना सुन्दरीहरूले मिस तामाङ प्रतियोगितामा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। 
यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि जिल्लापाल डा. विश्वनाथले तामाङ नयाँ वर्षको सबैलाई शुभकामना व्यक्त गर्दै पश्चिम बङ्गाल सरकारको विभिन्न योजनाहरूलाई तामाङ बिकास बोर्डले सही प्रकारले प्रयोगर गरिरहेको बताउँदै सराहना गरेका थिए। 
सोहीक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ सांस्कृतिक एवम् विकास बोर्डका अध्यक्ष सञ्जय मोक्तानले मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिँदै तामाङ नयाँ वर्षको सबैलाई शुभकामना प्रकट गरेका थिए। ‘मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाकै कारण आज हामीले तामाङ संस्कृतिको जगेरा गर्ने अवसर प्राप्त गरेका छौँ। हिजका दिनमा हराउँदै गएका आफ्ना भाषा, साहित्य र संस्कारको जगेर गर्ने कार्य तामाङ बोर्डले गरिरहेको छ त्यो ममता ब्यानर्जीकै सहयोगले हो। यसकारण पनि हामी उनलाई आभार व्यक्त गर्दछौँ’ सञ्जय मोक्तानले भने।

0 Response to "तामाङ बिकास बोर्डद्वारा दुई दिवसीय सोनाम लोछार पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.