हिरादेवी वाइबाको कालजयी गीतमा झुम्यो कालेबुङ .... आफ्नो लोक संस्कृतिलाई जोगाएर राख्नुपर्छ – नवनित आदित्य वाइबा
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 3 फरवरी। ‘फरिया ल्याइदेछन् त्यै पनि रात घनन..., त्यै पनि मन परेन भन्देउ न भनन’ जस्ता कालजयी गीत गाउने स्व. हिरादेवी वाइबाकी छोरी नवनित आदित्य वाइबाले आमालाई श्रद्धाञ्जली दिँदै त्यहीँ गीत गाउँदा मेला ग्राउण्डमा गीतसँगै नाच्नेहरूको भीड जमेको थियो। पश्चिम बङ्गाल तामाङ सांस्कृतिक एवम् विकास बोर्डको आयोजनामा सम्पन्न दुई दिवसीय सोनाम लोछार कार्यक्रममा नेपालका चर्चित कुटुम्ब ब्याण्डले साँझ सांस्कृतिक प्रस्तुति दिएका थिए। कुटुम्ब ब्याण्डका मुख्य कलाकार नवनित आदित्य वाइबाले एकपछि अर्को आफ्ना स्व. आमाले गाएका लोक गीतहरू प्रस्तुत गर्दा मेला ग्राउण्डमा उपस्थित तामाङ समुदायका मानिसहरू लोक सांस्कृतिक प्रस्तुतिमा रमाएका थिए।
सयौँ लोक गीतहरू प्रस्तुत गरेर नेपाली लोक गीतको भण्डारालाई धनी तुल्याउने स्व. हीरा देवी वाइबाको निधनपछि उनकै छोरी नवनित वाइबाले ‘आमालाई श्रद्धाञ्जली’ कार्यक्रम मार्फत् आमाले गाएका लोक गीतहरूलाई अहिलेघरी प्रस्तुत गर्दै आइरहेकी छन्। आमाकै चर्चित लोएकगीतहरूलाई उनले आज कालेबुङको मेला ग्राउण्डमा पनि प्रस्तुत गरेकी हुन्। बिहानै देखि तामाङ सेलो र अन्य तामाङ सांस्कृतिक प्रस्तुतिहरूमा झुमीरहेका तामाङ समुदायका मानिसहरू नवनित आदित्य वाइबाले स्व. हिरादेवी वाइबाको कालजयी गीतहरू प्रस्तुत गर्दा अझ रमाएका थिए। यस अवसरमा उनले कार्यक्रममा मोठ 6 वटा गीतहरू प्रस्तुत गरिन्। छुइयामा हा, धनकुटैको डाँडै डाँडा, राम्री त रामी, होइ स्याङ्बो, झिल्के नाचेको देखेर अनि फरिया ल्याइदेछन्..., जस्ता कालजयी गीतहरू नवनित आदित्य वाइवाले कार्यक्रममा प्रस्तुत गरेकी थिइन्।
आफ्ना प्रस्तुतिपछि उनले छोटो कुराकानीको क्रममा तामाङ सांस्कृतिक अनि विकास बोर्डले आफुलाई धेरै सहयोग गर्दै आएको बताउँदै आभार समेत प्रकट गरिन्। ‘तामाङ विकास बोर्डले मलाई कार्यक्रममा प्रस्तुति दिने अवसर प्रदान गरेर धेरै गुण लगाएका छन् जसको निम्ति आभार व्यक्त गर्दछु’ नवनित आदित्य वाइबाले भनिन्। ‘आफ्ना तामाङ सन्तानको सामु यसरी आमाले गाएका लोक गीतहरूलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै भाग्यशाली पनि ठानेकी छु’ उनले थप बताइन्। आमाले गाएका गीतहरूलाई नै गाउनुको पछि भने लोकगीतहरूलाई बचाएर लानुको साथ-साथमा आफ्ना आमलाई साँचो श्रद्धाञ्जली अर्पण गर्नु रहेको पनि उनले जानकारी दिइन्। ‘आमाको मृत्युपछि दुई वर्षसम्म हामीले उनका गीतहरू सुन्न पनि सकेनौँ। त्यसपछि भने मेरा भाइ सत्य वाइबाको सहयोगमा आमाकै गीतहरू गाएर उनलाई श्रद्धाञ्जली दिने निधो गरेपछि ‘आमालाई श्रद्धाञ्जली’ भनेर उनका गीतहरू गाउन थालेका हौँ’ नवनितले अझ भने।
‘ए स्याङ्बो... भन्ने आमाले गाउनुभएको गीत गाउँमा मलाई साह्रै आनन्द लाग्छ। त्यो एउट ऐतिहासिक गीत पनि हो। 14औँ दलाई लामाले तिब्बल छोडेर गएपछि त्यहाँका मानिसहरूले भोगेका पिँडाहरू त्यस गीतले बोकेको छ। त्यस गीतमा अझ धेरै गहन अर्थहरू पनि छ। त्यसमध्ये पनि त्यो गीत पूर्णरूपले तामाङ सेलो पनि हो। तामाङ सेलो मेरो हृदयसँग जोडिएको छ। यसकारण त्यस गीत प्रस्तुत गर्दा मलाई साह्रै आनन्द लाग्छ’ नवनित आदित्य वाइबाले आमलाई सम्झना गर्दै भावुक बनेर भनिन्। यसक्रममा उनले आफ्नोपनलाई सबैले जोगाड गरेर राख्नुपर्ने भन्दै आफ्नो संस्कृतिलाई जगेर गरेर आउँदो सन्ततिलाई सिकाउनु पर्ने आह्वान पनि गरेकी छन्।
0 Response to "हिरादेवी वाइबाको कालजयी गीतमा झुम्यो कालेबुङ .... आफ्नो लोक संस्कृतिलाई जोगाएर राख्नुपर्छ – नवनित आदित्य वाइबा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.