
दल परिवर्तन गर्नेहरू स्वार्थप्रेरित रहेको जापको आरोप .....कुच्चोले बडाल्न पर्नेहरू हावाले उडाएर लगे – डा. हर्कबहादुर छेत्री
डी.के.वाइबा,
कालिमन्युज,
कालेबुङ, 19 जनवरी। जन आन्दोलन पार्टीका निर्वाचित नगरपार्षद जीओसी फिपनले आज पार्टी त्यागेर गोजमुमो पार्टीको झण्डा ग्रहण गरेको सन्दर्भमा डा. हर्कबहादुर छेत्रीलाई प्रश्न गर्दा उनले पार्टीलाई कुनै फरक नपर्ने प्रतिक्रिया दिएका छन्।
‘कुच्चोले बडालेर फ्याँक्नपर्ने मैलाहरू हावाले उडाएर लगे। त्यसर्थ हाम्रो काम नै हल्का भयो’ डा. हर्कबहादुर छेत्रीले दल त्यागेर अन्यत्र जानेहरूलाई कटाक्ष गर्दै भने। उनले अहिलेघरी दल त्यागेर जानेहरूलाई जाप पार्टीले नै परिचय दिएको बताउँदै जाप नभएको भए आज उनीहरूको परिचय समेत नहुने दाबी गरे।
‘हामी जानेहरूलाई रोक्न सक्दैनौँ। पहिला उनीहरू गोर्खाल्याण्डको निम्ति भनेर आए अनि आज जे कारणको निम्ति जाँदैछन् त्यो भनिरहनु आवश्यक छैन। स्वार्थ लुकाएर आएका मानिसहरूनै आज दल त्यागेर जाँदैछन्। निस्वार्थ हुनेहरू आजपनि हामीसँगै पार्टीमा छन्’ डा. हर्कबहादुर छेत्रीले अझ भने। उनले जाप त्यागेर जानेहरू छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति व्यापक रूपले कार्य गर्दै आएका पार्टीहरूमा गएको भए राम्रो व्याख्या गर्न मिल्ने बताउँदै गोर्खाल्याण्डको मुद्दालाई बिकासको कुरा गरेर मार्न चाहने दलहरूको पछि जाँदा जनताले आफै बुझ्ने पनि बताएका छन्।
‘जो अलग राज्य र जापको उद्देश्य बुझेर आएका थिए उनीहरू जापसँगै छन्। जो जापलाई थाङ्ग्रा लगाएर आफ्नै स्वार्थको चौकिमा पुग्न आएका थिए उनीहरू गए। यस्ता स्वार्थ लुकाएर आएका व्यक्तिहरू आज दल त्यागेर जाँदा हामीलाई कुनै दुख लागेको छैन’ डा. हर्कबहादुर छेत्रीले अझ भने।
यसक्रममा उनले गोजमुमो (बिनय गुट) अनि गोरामुमो पार्टी प्रति इङ्गित गर्दै अहिलेघरी दुईवटा राजनैतिक दलका नेताहरूले बिकासको मुद्दालाई अघि सारेर गोर्खाल्याण्डको मुद्दालाई भने मार्ने प्रयास गरिरहेको पनि आरोप लगाएका छन्। ‘अहिले अलग राज्यको संवैधानिक मागलाई विकासले छोप-छाप पार्ने प्रयास भइरहेको छ। राज्य सरकारको छत्रछाँयामा बसेका दुईवटा दलहरूले बिकासकै कुरा गरिरहेका छन्। राज्य सरकारको छत्रछाँयामा बसेका दलहरूले गोर्खाल्याण्डको कुरा गर्न सक्दैनन्। त्यस्ता दलहरूमा जानेहरू किन जाँदैछन् भनेर भनिरहनुपर्दैन’ डा. हर्कबहादुर छेत्रीले भने।
अर्कोतर्फ जन आन्दोलन पार्टीको एक टोलि आगमी पहिलो मार्च दिल्ली प्रस्थान गर्ने भएको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीको उक्त जानकारी दिएका छन्। ‘जापले गोर्खाल्याण्ड सम्बन्धि केहि समयदेखि दिल्ली मुखी कार्यक्रम गर्दै आइरहेको छ। आगामी पूर्ण बजेट सेशनलाई लिएर हुने कार्यक्रमलाई लिएर हाम्रो एउटा टोलि आगमी पहिलो मार्चको दिन दिल्ली प्रस्थान गर्नेछ’ डा. हक्रबहादुर छेत्रीले भने। उनले छुट्टै राज्य गोर्खाल्याण्डलाई लिएर आफुले दिल्लीमा कार्यक्रम गर्दै विभिन्न राष्ट्रिय स्तरका मन्त्री अनि विभिन्न दलका नेताहरूलाई भेटेपछि धेरै कुरा जान्न र जनाउन पाएको भन्दै आगामी संसदको पूर्णकालिन बजेट सत्रमा धेरै राजनैतिक दलहरूले गोर्खाल्याण्ड सम्बन्धि संसदमा कुरा उठाइदिने आश्वासन दिएको पनि बताएका छन्।
‘हामीले दिल्लीमा धेरै राजनैतिक दलका नेतहरूली भेटेर गोर्खाल्याण्डबारे बुझाउने मौका पायौँ। त्यसबेला उनीहरूले हामीलाई संसदमा हाम्रो कुरा उठाइदिने बचन दिएका छन्। त्यसभन्दा अघि हामी आगमी 15 मार्चका दिन संवैधानिक भवनमा सबैलाई बोलाएर गोर्खाल्याण्डबारे बहस गर्दैछौँ’ डा. छेत्रीले अझ भने। उनले उक्त बहसमा केन्द्रिय नेताहरूलाई ल्याएर चर्चा गर्ने बताउँदै जापको टोलिले तेलेङ्गना, उडिस्सा, तामिलनाडु लगायत अन्य राज्यका नेताहरूलाई पनि भेट गर्ने जानकारी दिएका छन्।
‘गोर्खाल्याण्डको सम्बन्धमा राष्ट्रिय स्तरमा धेरैजना नेताहरूलाई नै थाह छैन। दार्जीलिङ पहाडमा गोर्खाल्याण्डबारे हल्ला गर्नुभन्दा दिल्लीमा हल्ला गर्नु आवश्यक छ। यसकारण हामीले दिल्लीमुखी कार्यक्रम गरिरहेका छौँ’ डा. छेत्रीले थप भने। आफुहरूको दिल्ली मुखी कार्यक्रमले राष्ट्रिय स्तरमा गोर्खाल्याण्डबारे बहस गराउने बताउँदै पूर्णकालिन बजेटसत्रमा गोर्खाल्याण्डबारे संसदमा चर्चा उठ्ने आशा व्यक्त पनि डा. छेत्रीले गरेका छन्।
0 Response to "दल परिवर्तन गर्नेहरू स्वार्थप्रेरित रहेको जापको आरोप .....कुच्चोले बडाल्न पर्नेहरू हावाले उडाएर लगे – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.