
जाप नगरपार्षदले त्यागे पार्टी अनि थामे गोजमुमो झण्डा
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 19 जनवरी। जन आन्दोलन पार्टीका निर्वाचित वार्ड पार्षद जीओसी फिपनले दल त्यागेर गोजमुमो (बिनय गुट) को झण्डा ग्रहण गरेका छन्। उनी कालेबुङ नगरपालिकाको 4 नम्बर वार्डबाट निर्वाचित बनेका थिए। कालेबुङ नगरपालिका पूर्णरूपले गोजमुमो बिनय गुटको कब्जामा परेको लगभग दुई महिना पछि नगरपार्षद जीओसी फिपनले आज आफ्नो दल त्यागेर औपचारिक रूपले गोजमुमो पार्टीमा सामेल भएका हुन्।
गोजमुमो महासचिव अनित थापाको उपस्थितिमा आज वार्ड पार्षद् फिपनले गोजमुमोको झण्डा ग्रहण गरेका हुन्। डेलोमा पत्रकारहरूको उपस्थितिमा जाप नगरपार्षद फिपनलाई गोजमुमो कालेबुङ जिल्ला समितिका संयोजक सञ्चबीर सुब्बाले पार्टीको झण्डा प्रदान गरेर स्वागत गरेका थिए। यसक्रममा नगरपार्षद फिपन सँगै जापका 40 भन्दा अधिक समर्थकहरूले पनि मोर्चाको झण्डा ग्रहण गरेको दाबी गरेको छ।
यता जाप त्यागेर गोजमुमोमा सामेल भएपछि नगरपार्षद जीओसी फिपनले आफ्ना वार्ड बिकासको निम्ति सत्तासिन गोजमुमो पार्टीको झण्डा ग्रहण गरेको स्पष्ट बताएका छन्।
‘जापमा हुँदा पहिले विकासको कुरा थियो तर अहिले कता के भयो त्यो त म बुझ्दिन। हामी त अब वार्डको विकासको निम्ति लागिपर्नुपर्ने हो। जापबाट वार्डको बिकास नभएपछि गोजमुमोसित मिलेर बिकास कार्य गर्ने इच्छा भएकै कारण यो कदम उठाएको हुँ’ जीओसी फिपनले भने। नगरपार्षद बनेपछि वार्डवासीको समस्या समाधान गर्नका निम्ति बिकासका कार्यहरू गर्न नसकेको भन्दै अब सत्तासिन गोजमुमो पार्टीबाट आफ्नो वार्डको बिकास गर्ने पनि दाबी गरेका छन्। आफुले उठाएको कदम प्रति उनलाई वार्डवासीले समर्थन समेत जनाएको फिपनले दाबी गरेका छन्। यसक्रममा आफुसँगै अन्य जाप कार्यकर्ताहरू पनि गोजमुमो पार्टीमा सामेल भएको उनले जानकारी गराए।
‘जीटीएको पक्षबाट वार्डमा धेरै विकासको कार्य भइरहेको छ। हामी पनि वार्डवासीको निम्ति बिकासका कार्य गर्न चाहन्छौँ। बिकास कार्यको निम्ति जीटीएसँग एउटै भिजन बनाएर कार्य गर्नु आवश्यक छ। सोही कारण नै हामीले आज यो पहल गरेका हौं’ नगरपार्षद फिपनले अझ भने।
अर्कोतिर गोजमुमो महासचिव अनित थापाले नगरपार्षद जीओसी फिपनसँगै अन्य समर्थकहरू गोजमुमोमा सामेल भएकोमा खुशी व्यक्त गरेका छन्। उनीहरूलाई दलको झण्डा प्रदान गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै आफुहरूको सोंचलाई समर्थन गरेर नै हालमा धेरै मानिसहरू पार्टीमा सामेल भइरहेको दाबी गरेका छन्। ‘उहाँहरू कालेबुङ अनि कालेबुङवासीहरूलाई राम्रो होस् भन्ने सोंच राखेर अघि आएका हुन्। उहाँहरूको सोंचलाई हामी आन्तरिक हृदयबाट स्वागत जनाउँदछौं’ अनित थापाले भने।
मोठ 23 वटा आसन रहेको कालेबुङ नगरपालिकामा अहिलेघरी केवल 22 जना नगरपार्षदहरू मात्रै रहेका छन्। नगरपार्षद बरुण भुजेलको मृत्युपछि 22 जना नगरपार्षदहरू मात्र भएको हो। जसमध्ये दुईवटा आसन जन आन्दोलन पार्टीले जितेको थियो भने वार्डनम्बर 4 का नगरपार्षद जीओसी फिपनले आज गोजमुमो पार्टीको झण्डा ग्रहण गरेपछि जापको अब केवल एकजना पात्रै नगरपार्षद रहेको छ।
यता दुईवटा आसन भने तृणमूल कङ्ग्रेसको कब्जामा रहेको छ भने उनीहरूले पनि आन्दोलन कालमा पार्टीबाट राजीनामा दिएर गोजमुमो पार्टीकै झण्डा ग्रहण गरेपनि हालमा उनीहरू तृणमूल कङ्ग्रेसकै सानिध्यमा रहेका छन्। अर्कोतर्फ पूर्व नगर अध्यक्ष सुभ प्रधानसँगै अन्य 5 जना गोजमुमो (बिमल गुट) का नगरपार्षदहरूले भने अघिनै पार्टीबाटै राजीनामा दिएका थिए। जसको कारण हालमा कालेबुङ नगरपालिकामा निर्दलीय नगरपार्षदहरू 6 जना रहेका छन्।
0 Response to "जाप नगरपार्षदले त्यागे पार्टी अनि थामे गोजमुमो झण्डा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.