-->
सिर्जना कार्यक्रममा कविताको प्रदर्शन

सिर्जना कार्यक्रममा कविताको प्रदर्शन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 6 जनवरी। ‘कविता जीवन हो अनि जीवन कविता हो।  जहाँ जहाँ हामी जान्छौँ कविता त्यहीँ-त्यहीँ हुन्छ। कविता बँचाईको एउटा तरिका हो’ - क्याफिन एन्ड कपीको आयोजनमा सम्पन्न सिर्जना कार्यक्रममा कवि निशा छेत्रीले भन्दै थिइन्। 
‘जहाँ-जहाँ जसरी हुनुहुन्छ त्यहीँ बस्नोस्। चुपचाप बस्नोस। कविता सुन्नुहोस् अनि कवितामय जीवन एकक्षण बाँच्नुहोस्। अथवा जीवनलाई कवितामय बनाएर बाँच्नुहोस्’ निशा छेत्रीले कार्यक्रमप्रति सबैको ध्यानाकर्षण गर्दै भनिन्। 
त्यसपछि सुरुभयो कविताको प्रदर्शन। ‘कविताको प्रदर्शन’ सुन्नमा अचम्भ लागेपनि वास्तवमा आज कविहरूले कविताको प्रदर्शन नै गरेका थिए। ‘सिर्जना’ नामकरण गरि आयोजना गरिएको कार्यक्रममा कवितालाई पारम्परिक कवि गोष्ठिहरूमा वाचन गर्ने तरिकालाई परिवर्तन गरेर कलात्मक ढङ्गमा प्रस्तुत गर्ने कार्य गरेको थियो।
क्याफिन एन्ड कपीको आयोजनामा डम्बर चौक नजिक इण्डस्ट्रियल पार्कमा आयोजित सिर्जना कार्यक्रम विभिन्न स्थानबाट आएका कविहरूको समागम रहेको थियो। खुल्ला आकाशमुनी कुनै सजावट मञ्च समेत निर्माण नगरी पार्कमा हिउँदको न्यानो घाम ताप्न जमेका मानिसहरूको भीडमा नै कविताको प्रदर्शनी नै भयो। हिउँदका न्यानो घाम ताप्न निस्केका युवा र वृद्ध सबै एकसाथ कविताको प्रदर्शनमा झुमेका थिए। 
कार्यक्रममा दार्जीलिङ, कालेबुङ, सिक्किम लगायत अन्य स्थानबाट आएका कविहरूले एकपछि अर्को आफ्नै जीवनसँग सम्बन्धित कविताको स्वाद पाउँदा सम्पूर्ण इन्डस्ट्रियल पार्क वाह ! वाह ! ले गुञ्जीएको थियो। यस अवसरमा कविहरूले वर्तमान राजनैतिक, सामाजिक एवम् सांस्कृतिक विषयहरूमा लेखेका कविताहरू कलात्मक ढङ्गमा वाचन गरेका थिए। 
क्याफिन एन्ड कपीको उक्त सिर्जना कार्यक्रमलाई निशा भारनिका अनि अर्पण मिश्राले सञ्चालन गरेका थिए। यसक्रममा दार्जीलिङबाट पवित्र लामा, लेखनाथ छेत्री, कालेबुङका टिका भाइ, मनोज बोगटी, पुकार पारदर्शी, प्रदिप लोहागुण लगायत  सिक्किम अनि अन्य स्थानबाट आएका कविहरूले कविता प्रदर्शन गरेका थिए।

0 Response to "सिर्जना कार्यक्रममा कविताको प्रदर्शन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.