-->
जम्मै अगणतान्त्रिक कार्यहरू राज्य सरकारले गरेका हुन् – डा. हर्कबहादुर छेत्री

जम्मै अगणतान्त्रिक कार्यहरू राज्य सरकारले गरेका हुन् – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 8 दिसम्बर। पश्चिम बङ्गाल सरकारले पहाडमा एकाधिक अगणतान्त्रिक कार्य गरिरहेको डा. हर्कबहादुर छेत्रीले आरोप लगाएका छन्। 
धेरै लामो समय पछि जन आन्दोलन पार्टीका अध्यक्ष डा. छेत्रीले आज एक पत्रकार सम्मेलन आयोजना गरेर पहाडमा सम्पूर्ण अस्थिर परिस्थिति राज्य सरकारले निर्माण गरेको आरोप लगाएका हुन्। उनले राज्य सरकारले पहाडमा एकाधिक अगणतान्त्रिक कार्य गरेको आरोप लगाउँदै राज्य सरकारद्वारा पहाडमा गरिएका अगणतान्त्रिक कार्यहरूको लामो सूची नै बताएका छन्। 
सर्वप्रथम डा. छेत्रीले पहाडमा भाषा आन्दोलनबाट सुरु भएको गोर्खाल्याण्ड आन्दोलन र आन्दोलनको क्रममा पुलिसको गोलि लागेर निर्दोष जनता सहिद बन्नुको पछि पनि राज्य सरकारनै दोषी रहेको आरोप लगाएका छन्। 
उनले सुरुमा भाषा आन्दोलनबाट गोर्खाल्याण्डको आन्दोलन चर्केपछि राज्य सरकारले त्रिपक्षीय वार्ताको पहल गर्नुपर्ने बताउँदै राज्य सरकारले त्रिपक्षीय वार्ता गर्नको साटो उल्टै जनताले अस्वीकार गरेको जीटीएमा पुन: गोजमुमो पार्टीका नेताहरूलाई स्थापित गर्नु झनै ठूलो अगणतान्त्रिक पदक्षेप रहेको आरोप लगाएका छन्।  
‘भाषाको मुद्दाबाट सुरु भएको गोर्खाल्याण्ड आन्दोलनलाई राज्य सरकारले सुरुमानै समाधानको बाटोमा ल्याउन सक्ने थियो। दुईवटा दुईपक्षीय वार्तामा जन आन्दोलन पार्टीले त्रिपक्षीय वार्ताको माग पनि गरेको हो। राज्य सरकारले त्रिपक्षीय वार्ता गर्नको साटो उल्टै गोजमुमो नेताहरूलाई लिएर जीटीए स्थापित गर्ने कार्य गर्‍यो। सम्पूर्ण जनताले अस्वीकार गरेको जीटीए पुन स्थापित गर्नु सबैभन्दा ठूलो राज्यको अगणतान्त्रिक कार्य हो’ डा. छेत्रीले भने। यदि राज्य सरकारले त्रिपक्षीय वार्ताको पहल गरेको भए पहाडमा यतिका लामो अनिश्चितकालिन बन्दको समस्याबाट जनताले निकास पाउने पनि दाबी रहेको छ।
राज्य सरकारले गोर्खाहरूलाई जात-जात र दल-दलमा विभाजन गरेर पनि नसकिने बुझेपछि अन्तमा व्यवस्था-व्यवस्थामा विभाजन गर्ने षडयन्त्र रचेको जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीको आरोप रहेको छ। त्यही व्यवस्थामा विभाजन गर्ने रणनीतिकै उपज नै गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई प्रदान गरेको ‘हिल एरिया डेभलभमेन्ट कमिटि’ रहेको उनको भनाई रहेको छ। 
यति कार्यले पनि नभएपछि राज्य सरकारले बिनय अनित गुटमा समर्थन बटुल्नका निम्ति जनताद्वारा गणतान्त्रि प्रक्रिया अनुसार चुनिएका दार्जीलिङ अनि खर्साङका नगरपार्षदहरूलाई पक्राऊ गर्ने कार्य गरेर अर्को अगणतान्त्रिक कार्य गरेको उनले आरोप लगाएका छन्। 
‘गोजमुमो पार्टीकै बिनय तामङ र अनित थापा गुटले जीटीएको सत्ता सम्हालेपछि दार्जीलिङ र खर्साङका नगराध्यक्षहरूलाई पक्राऊ गर्ने कार्य भयो। त्यसपछि रहेका अन्य नगरपार्षदहरूलाई पक्राउको डर र कानुनको डर देखाउँदै बिनय अनित गुटको बोर्ड गठनको पहल राज्य सरकारले प्रशासनको डर देखाएर गर्न थाल्यो। यो अझ ठूलो अगणतान्त्रिक कार्य हो’ डा. हर्कबहादुर छेत्रीले भने। 
उनले राज्य सरकारद्वारा गरिएका एकाधिक अगणतान्त्रिक कार्यहरूको पोल खोल्ने क्रममा अहिलेघरी बिनय तामङ गुटलाई पुलिसले कुनै पनि राजनैतिक कार्यक्रमहरू गर्न दिइरहे पनि अन्य राजनैतिक दलहरूलाई भने कुनै कार्यक्रम गर्न नदिएको बताउँदै यसले पनि राज्य सरकारको अगणतान्त्रिक कार्यको पोल खोलिएको दाबी गरेका छन्। यसक्रममा राज्य सरकारले गोर्खाजातिलाई किमा-किमा बनाउनका निम्ति एउटा आवसीय प्रमाण पत्रको निम्ति जातगत भाषामा आवेदन पत्र लेख्नु लगाउने कार्य गरिरहेको उनको आरोप रहेको छ।
‘राज्य सरकारको दुहाई दिएर बिनय र अनित गाउँ-गाउँ पसेर बिकासको नारा लाउँदैछन्। उनीहरूले लगाएको विकासको नाराभित्र हाम्रो सामाजिक ढाँचालाई नै पुरापुरी नष्ट गर्न राज्य सरकार घुँढा धसेर उत्रिएको छ। यतिमात्र होइन, यहाँ अहिले जाबो एउटा रेसिडेन्सियल सर्टिफिकेटको निम्ति लिम्बु, तामङ, गुरुङ आदिलाई जातगत भाषामा आवेदन लेख्नु समेत भन्दैछ। यो अझ ठूलो अगणतान्त्रिक कार्य राज्य सरकारले गरिरहेको छ। त्यहीँ राज्य सरकारको सम्पूर्ण अगणतान्त्रिक कार्यहरूको विरोध गर्न हामीले टाउकोको कपाल तासेका हौँ’ डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा उनले राज्य सरकारको यस्ता गणतान्त्रिक अधिकार र संवैधानिक हकको निम्ति समाजका सम्पूर्ण तप्काका सचेत व्यक्तिहरू अघि आउनुपर्ने आह्वान समेत गरेका छन्।
उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा गोरामुमो पार्टी प्रति पनि टिप्पणी गर्न पछि परेनन्। हालमा गोरामुमो पार्टीले उठान गरिरहेको छैटौँ अनुसूचीको मुद्दालाई पुन: गोरामुमोकै नेताहरूले एकचोटि अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताउँदै अघिका सम्झौतामा रहेका नकारात्मक कुराहरूको चर्चा समेत गरे। त्यस सम्झौतामा रहेका नकारात्मक कुराहरूलाई आफुले गलत बुझेको हुनसक्ने बताउँदै त्यसलाई गोरामुमोका नेताहरूले संविधान अनुसार सही व्याख्या गर्नुपर्ने पनि बताउँदै आफुहरूले कुन-कुन बुँदाको आधारमा विरोध गरेको पनि खुलाएका छन्।
अर्कोतर्फ यता कालेबुङ नगरपालिका अध्यक्ष विरुद्ध बिनय गुटका नगरपार्षदहरूले अविश्वास प्रस्तावको पत्र प्रदान गरिसकेपछि जान पार्टीका दुईजना नगरपार्षदहरूको के हुनेछ भनि डा. छेत्रीलाई प्रश्न गर्दा उनले यसबारे अहिलेनै टिप्पणी गर्न हतार हुने बताएका छन्। यद्यपी जाप पार्टीका नगरपार्षदहरूले जनतालाई धोका नदिने पनि स्पष्ट पारेका छन्। 
‘अहिले जुन प्रकारका अगणतान्त्रिक कार्यकलाप भइरहेका छन् त्यसको विरोधमा जुन कदम सही हुनेछ त्यहीँ निर्णय ब्युरो सदस्यहरूको सभा बसेर चर्चा गर्नेछौँ। हाम्रा नगरपार्षदहरूलाई पनि जनहितका निम्ति कार्य गर्ने निर्देश दिनेछौँ। हामी हाम्रा मतदाता र जनतालाई धोका दिने कार्य गर्नेछैनौँ।’ जाप अध्यक्ष डा. छेत्रीले प्रश्नको उत्तर दिँदै भने। 

Related Posts

0 Response to "जम्मै अगणतान्त्रिक कार्यहरू राज्य सरकारले गरेका हुन् – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.