
पर्यटकको अभावमा सकियो पर्यटन उत्सव
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 30 दिसम्बर। पर्यटकहरूको अभावमा कालेबुङको दुई दिवसीय पर्यटन उत्सव समापन भएको छ। गोर्खाल्याण्ड आन्दोलनले अस्त-व्यस्त बनेको पहाडमा पर्यटकहरूलाई स्वागत गर्न आयोजना गरिएको टिस्टा रङ्गीत पर्यटन उत्सवले कालेबुङमा खासै पर्यटकहरूलाई आकर्षित पार्न सकेन। कालेबुङको मेला ग्राउण्डमा आयोजित पर्यटन उत्सव कार्यक्रमको रङ्गमञ्च अघिल्ल्तिर मानिसहरू बस्नका निम्ति राखेका रित्तो बेञ्चीहरूले पर्यटन उत्सवले पर्यटकहरू मात्र नभएर स्थानीय मानिसहरूलाई समेत आकर्षित गर्न नसकेको स्पष्टै देखिन्थ्यो। जसले पर्यटकहरूको अभावमा पर्यटन उत्सव समाप्त भएको पुष्टि गरेको छ।
जीटीएको आयोजना अनि राज्य सरकारको सहयोगितामा सम्पन्न भएको उक्त पर्यटन उत्सवमा देशी विदेशी पर्यटकहरूको कमी त थियो नै साथमा स्थानीय मानिसहरूको सहभागिता समेत न्युन रहेको थियो। दुई दिवसीय कार्यक्रमको आज अन्तिम दिन मेला ग्राउण्डमा दिउँसोदेखि नै साङ्गीतिक कार्यक्रम सुरु भएको थियो। जीटीए अधिनस्थ सूचना एवम् सांस्कृतिक विभागका कर्मीहरूले विभिन्न साङ्गीतिक कार्यक्रमहरूको प्रस्तुती दिइरहँदा यता दर्शक बस्ने अधिकत्तर बेञ्चीहरू भने रित्तै रहेको थियो। दिनभरीको कार्यक्रममा रित्तै रहेका बेञ्चीहरू साँझ ‘भानु र पाला’ नाटक प्रदर्शनी हुँदा भने भरिन थालेको थियो भने साँझका कार्यक्रममा मानिसहरूको सङ्ख्या बडे पनि पर्यटकहरूको उपस्थिति भने शुन्यप्राय नै देखियो। यद्यपी केही देशी तथा विदेशी पर्यटकहरू भने अङ्ग्रेजी गीतमा झुमिरहेका थिए।
पहाडभरी सम्पन्न भइरहेको पाँच दिवसीय पर्यटन उत्सव कालेबुङमा दुई दिनव्यापी सम्पन्न भएको हो। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा चलेको 105 दिनको लामो बन्दपछि कालेबुङको मेला ग्राउण्डमा पहिलोचोटी यस्तो भव्य कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई भव्यता बनाउँनका निम्ति जीटीएले केवल दुई दिनको निम्ति 68 लाख 46 हजार रूपिया खर्च समेत गरेको छ। केवल कालेबुङकै निम्ति मात्र दुई दिवसिय पर्यटन उत्सवमा जीटीएले 39 लाख 46 हजार रूपिया खर्च गरेको छ। त्यस मध्ये पनि कालेबुङको मेला ग्राउण्डमा हुने सम्पूर्ण कार्यक्रम र सजावटहरूको निम्ति मात्र जीटीएले 30 लाख भन्दा अधिक धनराशी खर्च गरेको छ।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन पछि पहाडमा पर्यटकहरूको आगमनमा देखा परेको ह्रासलाई पुर्ति गर्न अनि विश्वभरीनै दार्जीलिङ पहाड स्वाभाविक बनिसकेको सन्देश दिँदै पर्यटकहरूलाई स्वागत गर्न उक्त पर्यटन उत्सव आयोजना गरेको हो। पर्यटकहरूलाई आकर्षित गर्नका निम्ति जीटीएले लाखौँ रुपियाँ खर्च गरेर कार्यक्रम आयोजना गरे पनि कार्यक्रमको लाभ उठाउनलाई भने पर्यटकहरू औँलीमा गन्न सकिने सङ्ख्यामा उपस्थित बनेका थिए। पर्यटन उत्सवमा पर्यटकहरूलाई आकर्षित गर्नका निम्ति आयोजक पक्षले विभिन्न सांस्कृतिक कार्यक्रम संगै माउन्टेन बाइकिङ, प्याराग्लाइडिङ, राफ्टिङ आदि साहसिक खेलहरू पनि मनोरञ्जनका लिन समावेश गरेका थिए। उक्त साहसिक खेलहरूमा पनि देशी-विदेशी पर्यटकहरूको भने जस्तो सहभागीता रहेको थिएन।
यसै पनि कालेबुङमा पर्यटकहरुको आगमण दार्जीलिङ हेरेर न्युन रहने गरेको छ भने अहिले घरि होम स्टेको व्यवस्थाले ग्रामिण क्षेत्रले बडी मान्यता पाएको कारणले यसैले पर्यटनलाई थाम्न पर्ने स्थिति आएकोछ। एकातिर दार्जीलिङमा एकै दिनमा 700 कमराहरु क्रिसमसको र नयाँ सालको निम्ति बुक भएर पर्यटकहरुको खचाखच भिडले होटल मालिकहरुमा नयाँ स्फुर्ति ल्याउन सक्षम भयो भने अर्कोतिर कालेबुङमा देशी विदेशी पर्यटकहरुको न्युन उपस्थितिले कार्यक्रमको भन्दा पनि होटल व्यवसायलाई खिन्न बनाएको छ।
कालेबुङमा सम्पन्न भएको दुई दिवसीय पर्यटन उत्सवको आज अन्तिम दिन माउन्टेन बाइकिङ सम्पन्न भएको थियो। माउन्टेन बाइकिङ पहाडमा पर्यटकहरूलाई मनोरञ्जनका राम्रो माध्यम हुने सन्देश दिनका निम्ति आयोजित उक्त साइकलिङ कालेबुङ शहरदेखि पेदोङ सम्म सम्पन्न भएको हो। कालेबुङ शहरदेखि 21 किलोमिटर टाडामा अवस्थित पेदोङसम्म आज 31 जना साइकलिस्टहरूले माउन्टेन बाइकिङ गरेका थिए। दार्जीलिङ, खर्साङ, सिलगडी अनि कालेबुङका साइकलिस्टहरूले खुबै उत्साहपूर्वक उक्त माउन्टेन बाइकिङ कार्यक्रममा सहभागीता जनाएका थिए। पर्यटकहरूलाई आकर्षित गर्नका निम्ति माउन्टेन बाइकिङको आयोजना गरेपनि कार्यक्रममा एकैजना पर्यटकले पनि सहभागीता भने जनाएको थिएन। यद्यपी एकजना कालेबुङकी चेली विवाह गरेका फ्रान्स निवासी माइकलले भने माउन्टेन बाइकिङमा सहभागीता जनाएर पर्यटकको नाक राखी दिए ।
‘कालेबुङमा माउन्टेन बाइकिङ हुने थाह पाएपछि नै मैले साइकल किनेको हुँ। आज यस कार्यक्रममा भाग लिएर खुशी लागीरहेको छ। कालेबुङ मेरो ठाउँ हो भन्ने लाग्छ। मैले कालेबुङबाट विवाह गरेको कारण पनि यो ठाउँ आफ्नो लागेको हो। आज यस कार्यक्रममा पर्यटक भएर होइन कालेबुङकै छोरो भएर सहभागी बनेको हुँ’ फ्रान्स निवासी माइकलले भने।
0 Response to "पर्यटकको अभावमा सकियो पर्यटन उत्सव"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.