-->
मत्स्य पालन प्रशिक्षण शिविर...बाल दिवस पालन

मत्स्य पालन प्रशिक्षण शिविर...बाल दिवस पालन

डी के वाइबा, कालिमन्युज,  कालेबुङ 14 नोभेम्बर। पश्चिम बङ्गाल सरकारको मत्स्य विभाग कालेबुङ खण्ड -1 को आयोजनामा चार दिवसीय मत्स्य पालन प्रशिक्षण शिविर सुरु भएको छ। 
तामङ गुम्बाको प्रेक्षागृहमा सुरु भएको उक्त चार दिवसीय प्रशिक्षण शिविरमा कालेबुङ खण्ड-1 का 40 जना मत्स्य पालकहरूले भाग लिएका छन्। यस अवसरमा माछा पालकहरूलाई प्रशिक्षण दिन आज मुख्य मत्स्य पालक विभागका अतिरिक्त निर्देशक आर.एफ लेप्चा उपस्थित रहेका थिए। यसका साथै विभागका मुख्य कार्यकारी अधिकारी सोनाम छेवाङ, खण्ड-1 की मत्स्य विभागीय अधिकारी मेघा लामा आदि उपस्थित रहेका थिए। 
विशेष गरेर ग्रामीण क्षेत्रका माछा पालकहरूलाई स्वनिर्भर बन्नका निम्ति प्रोत्साहन प्रदान गर्न आयोजित उक्त प्रशिक्षण शिविरमा कस्ता प्रजातिका माछा पालन गर्नुपर्ने अनि कस्ता खाद्यन्नको प्रयोग गर्नु आवश्यक हुन्छ भन्ने जानकारी प्रदान गरिएको थियो। 
चारदिवसीय प्रशिक्षण पछि माछा पालकहरूलाई विभागले अझ प्रोत्साहन प्रदान गर्दै माछाका भुर्राहरू वितरण गर्ने भएको छ। यसबारे अतिरिक्त निर्देशक आर.एफ लेप्चाले जानकारी दिएका छन्।

बाल दिवस पाल
कालेबुङ 14 नोभेम्बर। बाल सुरक्षा अभियानको चाइल्ड लाइन शाखाले आज कालेबुङमा छुट्टै प्रकारले बाल दिवस पालन गरेको छ। बाल दिवसको अवसर पारेर सुरु गरिएको उक्त कार्यक्रम सप्ताहव्यापी रहने भएको छ। कालेबुङको मुटु मानिने डम्बर चौकमा आज बाल सुरक्षा अभियानको शाखा चाइल्ड लाइनका नानीहरूले बाटोमा हिँड्ने मानिसहरूलाई ‘चाइल्ड लाइन से दोस्ती’ लेखेको ब्याण्ड बाँध्ने कार्य गरेका थिए। 
उनीहरूले सम्पूर्ण मानिसहरूनै वास्तवमा नानीहरूसँग मित्रता गाँस्नुपर्ने आह्वान गर्दै उक्त ब्याण्ड बाँधेका हुन। यसका साथै कुनै पनि ठाउँमा बाल बालिकाहरू सुरक्षित महसुस गर्न सक्नुपर्ने वातावरणको सिर्जना गर्नुपर्ने समाजका हरेक तप्कामा मानिसहरूको जिम्मेवारी रहेको कारण ‘चाइल्ड लाइन से दोस्ती’ गर्नुपर्ने उनीहरूले आह्वान गरेका थिए। यता कार्यक्रमबारे बाल सुरक्षा अभियानकी सिस्टर एलिसा राईले जानकारी दिएकी छन्।
अर्कोतिर, फ्युचर टेक कालेबुङको आयोजनामा आज बाल दिवस पालन गरिएको छ। थाना डाँडा स्थित फ्युचर टेक कालेबुङको कार्यालयमा सम्पन्न भएको उक्त बाल दिवसमा कम्प्युटर प्रशिक्षण लिइरहेका विद्यार्थीवर्ग उपस्थित रहेका थिए। यस अवसरमा विशिष्ट अतिथिका रूपमा कालेबुङ टेलिभिजनका निर्देशक नरेन्द्र तामङ, हु केयर्सका एरोन योञ्जन आदि उपस्थित रहेका थिए। 
यस अवसरमा फ्युचर टेकबाट कम्प्युटर प्रशिक्षण गरेर उतिर्ण बनिसकेका विद्यार्थीवर्गले केक काटेका थिए भने प्रशिक्षण लिँदै आइरहेका विद्यार्थीवर्गलाई खदा लगएर सम्मान जनाइएको थियो। यस अवसरमा विशिष्ट अथिति नरेन्द्र तामङ, एरोण योञ्जन अनि फ्युचर टेकका निर्देशक सौरभ छेत्रीले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

0 Response to "मत्स्य पालन प्रशिक्षण शिविर...बाल दिवस पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.