
केन्द्रले चाँडै एउटा कमिटि दार्जीलिङ पठाउने सांसद र बिमल गुरुङ पन्थिहरूले श्रेय नलिए हुनेछ – बिनय तामङ
![]() |
बिनय तामङ |
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 11 अक्टोबर। केन्द्र सरकारलाई तीनचोटी पत्राचार गरेको कारणले नै पहाडको समस्या समाधान गर्नका निम्ति केन्द्रिय गृह मन्त्रालयले एउटा उच्च स्तरीय कमिटि गठन गरेर पहाडमा पठाउने तय गरेको जीटीए बोर्ड अफ् एडमिस्ट्रेसनका अध्यक्ष बिनय तामङले दाबी गरेका छन्। बुधबार कालेबुङ आइपुगेका बिनय तामङले आज एक पत्रकार सम्मेलन आयोजना गरेर आफु मोर्चाको मुख्य संयोजक नियुक्त बन्न साथ केन्द्रिय गृहमन्त्रालयलाई पत्राचार गरेको अनि पछि पुन: आफुले बोर्ड अफ् एडमिस्ट्रेसनका अध्यक्ष चुनिए पछि पत्राचार गरेकै परिणाम स्वरूप केन्द्रिय गृह मन्त्रालयले ‘इन्क्वाइरी टिम’ गठन गरेर दार्जीलिङ पहाडमा पठाउने तय गरेको दाबी बिनय तामङले गरेका छन्।
‘केन्द्रिय गृहमन्त्रालयलाई गोजमुमो पार्टीको मुख्य संयोजक चुनिए पछि अनि बोर्ड अफ् एडमिस्ट्रेसनका अध्यक्ष बनेर पत्राचार गरेपछि गृहमन्त्रालयले वार्ताको बाटो खोल्दै इन्क्वाइरी टिम पठाउने भएको छ। गृहमन्त्रालयले यसबारे कुनै आधिकारीक घोषणा नगरे पनि सम्भवत आज बेलुकी अथवा भोलि सम्ममा यो घोषणा गरिनेछ’ बिनय तामङले भने। उनले केन्द्र सरकारले उक्त घोषणा गरेपछि पहाडबाट चुनाव जितेका सांसद एस.एस आहलुवालीयाले श्रेय लिन खोज्ने सम्भावना रहेको बताउँदै उनले यस विषयमा कुनै श्रेय लिने अधिकार नरहेको पनि स्पष्ट पारेका छन्।
‘मैले 3 सितम्बरको दिन केन्द्रिय गृह मन्त्री राजनाथसिंहलाई पार्टीको मुख्य संयोजक बनेपछि वार्ताको पहल गर्ने माग गर्दै पहिलो पत्र लेखे। त्यसपछि बोर्ड अफ् एडमिस्ट्रेसनको अध्यक्ष चुनिएपछि 10 अक्टोबरको दिन पुन: गृहमन्त्री राजनाथ सिंहलाई पत्राचार गरे। पत्रमा वार्ताको माग सँगै गोर्खाहरूको समस्याको समाधानको माग गरिएको छ। सोहि पत्र केन्द्रिय गृहसचिवलाई पनि पठाएको थिएँ। सोही पत्रको आधारमा केन्द्रिय गृह मन्त्रालयमा बुधबार औपचारिक वैठक भयो अनि त्यहीँ बैठकमा दार्जीलिङ पहाडको निम्ति एउटा इन्क्वाइरी टिम पठाउने निर्णय गरेको छ’ बिनय तामङले दाबी गर्दै भने। यसबारे केन्द्रिय गृहमन्त्रालयले औपचारिक घोषणा पछिबाट गर्न सक्ने बताउँदै त्यसभन्दा अघि सांसदले आफुले काम गरेको भन्दै पत्रकार सम्मेलन गरेर श्रेय लिन सक्ने सम्भावना रहेको बताए।
‘यो कुराको घोषणा केन्द्रले गरेपछि अवश्य नै सासंद आहलुवालियाले यसको श्रेय लिन खोज्नेछन्, तर उनले यहाँको सांसद भएर पनि पहाडमा 105 दिन बन्द हुँदा एकचोटी भिजिट गरेनन्। त्यत्रो हाम्रा दाजु-भाइहरू शहिद हुँदा एउटा समवेदना सन्देश पनि पठाएनन्। उनले एउटा पत्र समेत राज्य सरकारलाई पठाउने कार्य गरेनन्। हाम्रा मानिसहरू भोकभोकै बस्दा उनी चुपो लागेर बसेका हुन्। अहिले आएर उनले यस बिषयमा श्रेय लिन नखोजे हुन्छ। केन्द्रले जति पनि पहल गरेको छ यो हामीले गरेको पत्राचारको आधारमा नै भएको हो’ बिनय तामङले स्पष्ट भने। यसक्रममा उनले आफुहरूले गान्धिवादी नीतिलाई शिरोपर गर्दै प्रजातान्त्रिक पद्धतिमा आन्दोलन गरेको कारण नै केन्द्रले यस्तो पहल गरेको पनि दाबी गरेका छन्। सोहि अवसरमा उनले सांसदसँगै बिमल गुरुङ पन्थिहरूलाई समेत केन्द्र सरकारको पहलमा श्रेय नलिइदिने आग्रह गरेका छन्।
अर्कोतर्फ तामङले भोलि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग नवन्नामा भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। यसका साथै आगामी 16 अक्टोबरको दिन हुने वैठकलाई लिएर 15 तारिखको बेलुकी राज्यपालसँग पनि आफूहरूले भेट गर्ने तय भइसकेको उनले जानकारी दिएका छन्। यता आवश्यक परे 14 अक्टोबरको दिन आफूहरू दिल्ली जाने सम्भावना रहेको उनले थप बताएका छन्।
यता छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति बारम्बार आमरण अनशन बस्न तयार रहेको दाबी गर्ने बिनय तामङले आज पनि उक्त बयान दोहोर्याएका छन्। ‘राज्य अनि केन्द्रको राजनैतिक स्थिति हेरेर गोर्खाल्याण्ड अनि गोर्खा जातिको निम्ति कुनै पनि समय म आमरण अनशन बस्न तयार छु’ बिनय तामङले भने। यसक्रममा उनले आमरण अनशनमा विमल गुरूङ, रोशन गिरी साथै कुनै पनि राजनैतिक दलका नेताहरू पनि जाति अनि गोर्खाल्याण्डको निम्ति साथ दिन आउँछन् भने आफू मञ्च साझा गर्न पनि तयार रहेको पनि बताएका छन्। ‘जनताले त्यतिबेला नै थाहा पाउनेछन् म अनि अनित थापा बिक्री भएका रहेछौं कि उनीहरू। गोर्खाल्याण्डको निम्ति को कमिटेड रहेछ यो मर्करी टेष्ट पनि हो’ तामङले भने। यता जीटीएको चौकिमा बसेर सम्पूर्ण जनताको आँखामा छारो बनेका बिनय तामङले आगामी 3-4 महिनाभित्र गोर्खाल्याण्डको निम्ति केही हुने सङ्केत पनि दिएका छन्। ‘अबको 3-4 महिनामा तपाईहरूले हेर्नुहोस् जीटीएबाट के हुनेछ अनि गोर्खाल्याण्डको निम्ति के हुनेछ। यसको निम्ति बेसी पर्खिनुपर्दैन, दुई तीन वर्ष पनि भनेको छुइनँ। केवल 3-4 महिनाभित्र नै गोर्खाल्याण्डको निम्ति के हुनेछ, त्यो देख्नुहुनेछ’ तामङले भने।
0 Response to "केन्द्रले चाँडै एउटा कमिटि दार्जीलिङ पठाउने सांसद र बिमल गुरुङ पन्थिहरूले श्रेय नलिए हुनेछ – बिनय तामङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.