धर्ना प्रदर्शन अवधी तनाव सिर्जना
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ १अगस्त। गोर्खा जनमुक्ति युवा मोर्चाले सुरु गरेको आमरण अनशनको 12 औँ दिन दुईजना अनशनकारीको अवस्था एकाएक बिग्रेको थियो। अनशनकारी अजित रोका अनि राजु विश्वकर्म अनशनकै अवधी एकाएक अचेत बनेका थिए।
डम्बर चौकमा दुईजना अनशनकारीको अवस्था बिग्रेर केहिबेर अचेत बनेको खबर डडेँलो झैँ सल्केपछि दैनिक जुलुसमा आउने मानिसहरू सरकारप्रति आक्रोशित बनेका थिए। आमरण अनशनको 12औँ दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सकारात्मक पहल नभएको कारण मानिसहरू आक्रोशित बनेका थिए।
दुई अनशनकारी अचेत अवस्थामा पुग्दा समेत जिल्लापालले अनशनकारीहरूको अवस्था बुझ्न नआएको भन्दै मानिसहरू झनै रुष्ट बनेपछि आक्रोशित जनताको भिड् जुलुसको साथमा सोझै कालेबुङ जिल्लापाल कार्यालयमा पुगेको थियो। अनशनकारीको स्वास्थ्य बिग्रेको खबरले सरकारप्रति आक्रोशित बनेका मानिसहरूको जुलुस कालेबुङ जिल्लापालको कार्यालय परिसरमा पुगेपछि जिल्लापाल कार्यालय परिसरमा लगाएको पुलिस ब्यारिकेड् समेत तोड्ने प्रयास गरिएको थियो। यस अवधी वातावरण केहिबेरमा नै तनावपूर्ण बनेको थियो।
आक्रोशित जुलुसले पुलिसले लगाएको ब्यारिकेड तोड्ने प्रयास गर्दा जनता अनि पुलिस माझ सङ्घर्षको छाँट बनेको थियो। यस्तो अवस्थामा केहि नारीमोर्चाका कार्यकर्ताहरूले भने ब्यारिकेड तोडेर जिल्लापाल कार्यालय परिसर भित्र प्रवेश पनि गरेका थिए भने उनीहरूलाई तत्कालै पुलिसले पक्राऊ गरेर ब्यारिकेडदेखि बाहिर निकालेका थिए।
‘अनशनकारी मर्न लाग्दा समेत कालेबुङका डी.एम किन बोल्दैन?, बङ्गालको डीएम चाहिन्दैन?, डीएम गो ब्याक’ जस्ता नाराबाजी लगाउँदै मानिसहरूले जोडदार विरोध गर्न सुरु गरेपछि प्रदर्शनकारीहरूलाई पुलिसले रोकेर नै राखेको थियो। त्यहीँ धर्ना प्रदर्शनकै क्रममा कालेबुङका जिल्लापाललाई जनताले भेटेर ज्ञापन पत्र दिने माग गर्दा प्रदर्शनकारीहरूलाई पुलिसले जिल्लापाल कार्यालय परिसरमा नै प्रवेश गर्न दिएन। यसो हुँदा आखिरमा प्रदर्शनकारीहरूले जिल्लापाललाई नै प्रदर्शन स्थलमा आएर जनताको ज्ञापन लिने आग्रह गरेपनि जिल्लापाल भने प्रदर्शन स्थलमा आउन मानेनन्। जसको कारण उग्र बनेका जनताले ‘कालेबुङका डीएम मुर्दावाद’ जस्ता नाराबाजी लगाउन सुरु गरेका थिए।
जिल्लापाल विरुद्ध मानिसहरूले जोडदार नाराबाजी लगाउन सुरु गरेपछि कालेबुङ जिल्ला पुलिस अधिक्षकले जिल्लापाललाई जनता समक्ष ल्याएर जनताको कुरा सुनिदिने आग्रह गर्ने भीडलाई बताउँदै जनतालाई शान्त भएर बसिदिने आग्रह समेत गरेका थिए।
‘भीडलाई शान्त भएर बसिदिने आग्रह गर्छौँ। भीडमा केहि मानिसहरू खुकुरी बोकेर आएका छन्। उनीहरू यदि यसरी बसे डीएम बाहिर आउन सक्दैनन्’ जिल्ला पुलिस अधिक्षकले भीडलाई आग्रह गर्दै भने। जिल्ला पुलिस अधिक्षकको उक्त कुरा सुनेपछि भीडमा रहेका मानिसहरूले ‘खुकुरी हाम्रो जातिय हतियार हो’समेत भनेका थिए।
पछिबाट भीडलाई नेतृत्व गर्नेहरूले प्रदर्शनकारीहरूलाई शान्त बनाएपछि आखिरमा जिल्लापाल डा. विश्वनाथ प्रदर्शनकारीहरू समक्ष आएर ज्ञापन पत्र लिने कार्य गरेका थिए। जिल्लापालको साथमा जिल्ला पुलिस अधिक्षक समेत प्रदर्शनकारीहरूको अघि आएका थिए। ज्ञापन पत्र स्वीकार गर्न आएका जिल्लापाललाई मानिसहरूले‘अनशनकारी मर्न लाग्दा समेत जिल्लापाल भएर अनशनकारीको अवस्था हेर्न किन नआएको?’ भन्दै प्रश्न समेत गरेका थिए।
‘डाक्टरले अनशनकारीहरूको अवस्था खराब रहेको बताएका छन्। मेरो मेडिकल टिम तैनाथ छ। डाक्टरको सुझाव अनुसार उनीहरूले तत्कालै स्वास्थ्य उपचार लिन पर्नेछ। तपाईँहरू पनि अनशनकारीलाई स्वास्थ्य उपचार लिनका निम्ति आग्रह गरिदिने अनुरोध गर्छौँ’ जिल्लापाल डा. विश्वनाथले प्रदर्शनकारीहरूले बुझाएको ज्ञापन पत्र स्वीकार गर्दै भने। यसक्रममा कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले पनि डाक्टरको सुझाव अनुसार अनशनकारीहरूले तत्कालै स्वास्थ्य उपचार लिनपर्ने भएको कारण परिवारका सदस्यवर्ग अनि अनशनकारीहरूसँग कुराकानी गरेर् सबैले स्वास्थ्य उपचारको निम्ति आग्रह गर्ने अपिल गरेका थिए।
‘हामी कालेबुङमा कोहिपनि मृत्यु भएको देख्न चाहँदैनौ। यदि अनशनकारीहरूले स्वास्थ्य उपचार लिएनन भने उनीहरूको ज्यान जानसमेत सक्छ। यदि उनीहरूको मृत्यु भए अरुमाथि मुद्दा समेत लाग्नेछ। यसकारण स्वास्थ्य उपचार लिनका निम्ति सबैले आग्रह गर्नु आवश्यक छ’ जिल्ला पुलिस अधिक्षकले भने। यता जिल्लापालले आखिरमा प्रदर्शनस्थलमा नै आएर प्रदर्शनकारी जनताले बुझाएको ज्ञापन पत्र स्वीकार गरेपछि भने मानिसहरू शान्त बनेर धर्ना प्रदर्शनलाई समापन गरेका थिए।
0 Response to "धर्ना प्रदर्शन अवधी तनाव सिर्जना"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.