-->
बङ्गालको भाषिक अतिक्रम कदापी सहन गर्नेछैनौँ – विमल गुरुङ

बङ्गालको भाषिक अतिक्रम कदापी सहन गर्नेछैनौँ – विमल गुरुङ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 23 मई। ‘बङ्गाल सरकारले गोर्खा जातिलाई मास्नका निम्ति भाषिक अतिक्रमणको कार्य सुरु गरेको छ। सम्पूर्ण विद्यालयहरूमा बङ्गला भाषा अनिवार्य रुपले पढ्नुपर्छ भनेर बङ्गाल सरकारले बङ्गला भाषा थोप्ने कार्य कद्दापी सहन गर्नेछैनौँ। यो भाषिक अतिक्रमणको हामी जोड्दार विरोध गर्नेछौँ। गोर्खा जातिको आफ्नै भाषा, साहित्य र संस्कृति छ। हामीलाई सरकारले जब्बरजस्ती अर्काको भाषा थोप्ने कार्य गर्नु हुँदैन’ उक्त कुरा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङले भनेका हुन्।
उनी आज कालेबुङ नगरपालिका चुनावमा 19 जना प्रार्थीहरूले बिजय हासिल गरेको अवसरमा आयोजित विजय उत्सवमा सहभागी बन्न कालेबुङ आइपुगेका थिए। सोहि अवसरमा उनले जनतालाई सम्बोधन गर्दै शिक्षा मन्त्री पार्थ च्याटर्जीले बङ्गला भाषा पहिलो कक्षादेखि दसौँ कक्षासम्म अनिवार्य पढ्नुपर्छ भनि दिएको बयानको तिब्र विरोध गरेका हुन्। ‘गोर्खा जातिलाई जात-जातमा टुक्रा त पारिसक्यो अब जातिलाई नै मास्नका निम्ति भाषिक अतिक्रमण सुरु गरेको छ। यस्तो नीति हामी सहन गर्दैनौँ’ विमल गुरुङले अझ भने। यसक्रममा उनले भाषिक अतिक्रमणको विरुद्धमा सम्पूर्ण राजनैतिक दलहरूमा आ-आफ्नै झण्डा बोकेर भए पनि सडकमा एकबद्ध भएर ओर्लिने आह्वान गरेका छन्।
‘राजनीति आफ्नो ठाउँमा छ अनि जाति आफ्नो ठाउँमा छ। आज भाषिक अतिक्रमण भएर सिङ्गो गोर्खा जातिलाई अतिक्रमणको कार्य हुँदैछ। यस्तो अवस्थामा जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेसमा गएका गोर्खाहरू जातिय एकताको परिचय दिँदै भाषिक अतिक्रमणको विरोधमा सडकमा ओर्लिने आह्वान गर्छौँ। झण्डा आफ्नै बोके पनि जातिय एकताको निम्ति लड्ने समयमा एकबद्ध बन्न पर्छ’ विमल गुरुङले आह्वान गर्दै भने।
गुरुङले कालेबुङ नगरपालिका चुनावमा जनताले 19 आसनमा मोर्चा प्रार्थीहरूलाई बिजय गराएर जातिय एकताको परिचय दिएको दाबी गर्दै अब नयाँ बोर्डले कालेबुङ शहरलाई स्वच्छ, सुन्दर अनि समस्या मुक्त बनाउने घोषणा पनि गरेका छन्। यसक्रममा उनले चुनाव अघि दिएको भाषणलाई दोहोर्‍याउँदै वार्ड नम्बर 1 अनि 11 का मानिसहरूको समस्यालाई बोर्डको पहिलो सभामा प्रस्ताव पारित गरेर समाधान गर्ने बताएका छन्।
‘वार्ड नम्बर एकका बासिन्दाहरूलाई पर्जा-पट्टाको समस्या छ। यता वार्ड नम्बर 11 मा वसोवास गर्ने बसुर समुदायका मानिसहरूको दयनिय अवस्ता रहेको छ। दुवै वार्डको समस्यालाई समाधान गर्न नगरपालिकामा गठन हुने बोर्डको पहिलो सभामा प्रस्ताव पारित गर्नेछ। उनीहरूको समाधान जीटीएले गर्नेछ’ विमल गुरुङले भने। उनले मोर्चा प्रार्थीहरूलाई बिजयी बनाउँने जनतालाई आभार प्रकट गर्दै जनताको समस्यालाई नगरपालिका बोर्डले समाधान गर्ने बाचा गरेका छन्। ‘हामीलाई बङ्गाल सरकारले पैसा दिँदैन भने पनि हामी जनताको समस्यालाई समाधान गर्नेछौँ’ विमल गुरुङले भने।
नगरपालिका चुनावमा तृणमूल कङ्ग्रेसले मन्त्रीहरू र विकास बोर्डहरूलाई लगाएर चुनाव प्रचार गर्दा समेत जनताले पराजित गरेको बताउँदै यो गोर्खाल्याण्डको आवाजलाई दबाउन नसकेको उदाहरण रहेको गुरुङले दाबी समेत गरेका छन्। उनले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको सम्बन्धका केन्द्र सरकार सकारात्मक रहेको दाबी गर्दै केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले एउटा कमिटि गठनको आश्वासन दिएको दाबी पनि गरेका छन्। ‘गोर्खाल्याण्डको निम्ति तीन सदस्यीय टोलि चाँढै गठन हुनेछ। यो गोर्खाल्याण्ड प्रेमी जनताको निम्ति खुशीको कुरा हुनेछ। केन्द्र सरकारले गठन गर्ने कमिटिले गोर्खाल्याण्ड गठनका निम्ति रिपोर्ट तयार पारेर सरकारलाई बुझाउनेछ।
आगामी 2019 भित्रमा हाम्रो मुद्दाले पार पाउनुपर्छ भन्ने हाम्रो माग छ। सरकार यसमा गम्भिर बनेको छ’ गुरुङले अझ भने।
यता कालेबुङ नगरपालिका चुनावमा 19 आसनमा बिजयी बन्ने गोर्खा जनमुक्ति मोर्चाले 19 जना बिजयी प्रार्थीहरूको साथमा गोजमुमो कार्यकर्ताहरूले शहरमा एउटा र्‍याली समेत निकालेका थिए। डम्बर चौक नजिक गोजमुमो पार्टी कार्यलयबाट सुरु भएको उक्त जुलुसले 10 माइल फाटक भएर शहर परिक्रमा गरेपछि यहाँको मेला ग्राउण्डमा आइपुगेर एउटा जनसभामा परिण भएको थियो। यस अवसरमा मानिसहरू उक्त बिजय उत्सवमा जोडदार नाचगान समेत गरिरहेका थिए। उक्त बिजय उत्सवमा विसेष रुपले सहभागी बन्न आइपुगेका गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले 19 जना प्रार्थीहरूलाई बिजय बनाउने कालेबुङका जनतालाई आभार प्रकट गर्दै नयाँ गठन हुने नगरपालिका बोर्डले कालेबुङ शहरको विकास गर्ने बताएका छन्।






Related Posts

0 Response to "बङ्गालको भाषिक अतिक्रम कदापी सहन गर्नेछैनौँ – विमल गुरुङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.